PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुन चाल्नेलाई स्वरोजगार बनाउन रोल्पाको गाउँपालिकाले दियो बजेट



सुन चाल्नेलाई स्वरोजगार बनाउन रोल्पाको गाउँपालिकाले दियो बजेट

रोल्पा: रोल्पाको एउटा गाउँपालिकाले सुन चाल्नेहरुलाई स्वरोजगार बनाउने अनौठो प्रस्ताव तयार पारेको छ। गाउँपालिकाको सो प्रस्ताव  गाउँपरिषद्बाट समेत पारित भइसकेको छ भने यसै वर्षदेखि कार्यान्वयनमा आउने भएको छ।

रोल्पाको सुनिल स्मृति गाउँपालिकाले सुन चालेर युवायुवतीलाई स्वरोजगार बनाउन यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको उक्त योजना कार्यान्वयन गर्नका लागि यसै आर्थिक वर्षमा २ लाख रुपैयाँ बजेटसमेत छुट्याइसकेको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगरले जानकारी दिए।

गाउँपालिका हुँदै बग्ने लुङ्ग्री नदीमा उहिलेदेखि नै सुन खोज्ने परम्परा रहँदै आएको छ। सुनछहरी झरना रहेको स्थानमा सुनखानी भएको र सो सुनछहरी झरना लुङ्ग्री नदीमा मिसिने भएकाले स्थानीयवासीले लामो समयदेखि नदीको बालुवा चालेर सुन खोज्दै आएका थिए। बालुवामा सुनका कणहरुसमेत भेटिने गरेकाले त्यहाँ आश्रित युवायुवतीलाई गाउँपालिकाको तर्फबाट स्वरोजगार बनाउन यस्तो योजना अघि सारेको गाउँपालिकाले बताएको छ।

सुन भेटिने सो नदीआसपासको क्षेत्र मगरबहुल भएकाले उक्त नदीलाई पछि लुङरी भन्न थालिएको बताइन्छ। मगर भाषामा लुङ भनेको ढुंगा र री भनेको पानी अर्थात् ढुंगाबाट पानी बग्ने भएकाले लुङरी भनिएको मगर भाषाका जानकारहरु बताउँछन्।

सरकारको अनुमति लिएर चीनको एउटा कम्पनीले गरेको अध्ययन क्रममा समेत सो झरनामा सुनखानी रहेको प्रतिवेदन बुझाएको स्थानीयवासीले जानकारी दिए।

सुनछहरी गाउँपालिका र सुनिल स्मृति गाउँपालिका भएर उक्त नदी बग्ने गर्छ। ती दुई गाउँपालिकाको हार्जङ, स्युरी, जैमाकसला, फगाम र मिझिङका स्थानीयवासीले परापूर्वदेखि नै सुन चाल्दै आएका छन्। त्यसरी सुन चाल्ने पेशा अँगालेकालाई सहयोग गर्ने उद्देश्यले गाउँपालिकाले यस वर्ष सुन चालेर स्वरोजगार बन्ने योजना अघि सारेको सुनिल स्मृति गाउँपालिका–४ का वडाध्यक्ष गङ्ज क्षेत्रीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell