PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सामाजिक सञ्जालमा एक अर्कालाई पाठ पढाउँदै ने क पा का नेता



पहिलोपोस्ट

सामाजिक सञ्जालमा एक अर्कालाई पाठ पढाउँदै ने क पा का नेता

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का केन्द्रीय सदस्यहरुले एक अर्कालाई आरोप लगाउँदै पाठ सिकाउन थालेका छन्।

सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक रुपमा एकअर्काको आलोचनामा उनीहरु भिडिरहेका छन्।

शुक्रवार ने क पाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो जीवनकाल भर एक लपेटा नखाएको र कसैलाई लपेटा नलगाएको अभिव्यक्ति दिएसँगै कार्यकर्ताहरुले एकअर्कालाई आक्षेप लगाएका हुन्।

पार्टी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिसँगै ने क पाका केन्द्रीय सदस्य सूर्य थापाले सार्वजनिक रुपमै जनयुद्धका क्रममा प्रचण्डकै आदेशमा हजारौँ मारिएको यथार्थ अवगत गराए।

'आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन। महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो! जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो,' उनले फेसबुकबाट प्रचण्डलाई प्रश्न गरेका छन्, 'म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै! मने, बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ। हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ?'
केन्द्रीय सदस्य थापाले विगतलाई बिर्सन नहुने सुझाव दिँदै भनेका छन्, 'विगतसँग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि! आजको क्रान्तिकारी तरंग र मनोदशा!'

पूर्व एमाले समूहका थापाको यस्तो अभिव्यक्ति आएसँगै पूर्व माओवादी समूहका नेता, केन्द्रीय सदस्य तथा युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा 'दीपशिखा'ले थापाको अभिव्यक्ति सैह्य नहुने टिप्पणी गरे। उनले थापालाई पार्टीको जिम्मेवारी त्याग गर्नसमेत सुझाव दिएका छन्।

उनले फेसबुकमा भनेका छन्, 'सूर्य जी, पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन। पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ।'

दीपशिखाले आफूहरुले पार्टीको अनुशासन मानेर नबोलेको भन्दै अगाडि भनेका छन्, 'हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो।

उनले सूर्य थापालाई सुझाव समेत दिएका छन्, 'यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ!'

दीपशिखाले पद छाड्न सुझाव दिएसँगै फेरी सूर्य थापाले पनि फेसबुकबाट उत्तर लेखेका छन्। उनले दादागिरी स्विकार्य नभएको संकेत गरेका छन्।

'दीपशिखाले अनुशासन र मर्यादा सिकाउने? कति हाँस्नु? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको?? विचरा!' थापाले फेसवुकमा लेखेका छन्।

थापाको अभिव्यक्तिलाई लिएर पूर्व माओवादी समूहका नेता कार्यकर्ताहरुले थापाको विरोध गर्दै पार्टीबाट कारबाही गर्न फेसबुकमा माग गरेका छन्।

पूर्व एमाले समूहका नेता तथा कार्यकर्ताहरुले थापाको भनाइलाई समर्थन गर्दै प्रचण्डको विरोधमा उत्रिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell