PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आइसिसीका प्रावधानप्रति बीसीसीआईको आपत्ति, 'घरेलु क्रिकेट प्रतियोगितामा आइसीसीले हस्तक्षेप गर्न पाउँदैन'



आइसिसीका प्रावधानप्रति बीसीसीआईको आपत्ति,  'घरेलु क्रिकेट प्रतियोगितामा आइसीसीले हस्तक्षेप गर्न पाउँदैन'

भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का प्रावधानहरुप्रति आपत्ति जनाउँदै घरेलु क्रिकेट प्रतियोगितामा आइसीसीले हस्तक्षेप गर्न नपाउने तर्क गरेको छ। विशेषगरी घरेलु क्रिकेट प्रतियोगिता संचालन गर्न आइसीसीको स्वीकृति लिनुपर्ने प्रावधानप्रति बीसीसीआइले विरोध गरेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

बिसीसीआइले यस्तो निर्णय गर्नुको कारण भारतमा संचालन हुने आइपिएल मुख्य कारण रहेको बताइएको छ।

आइसीसीले विदेशी खेलाडीले आफ्नो क्रिकेट बोर्डले संचालन गर्ने  टी २० प्रतियोगिता बाहेक अन्यले आयोजना गरेको एउटा प्रतियोगितामा मात्रै खेल्न पाउने नियम बनाउने तयारी गरिरहेको बुझिएको छ।

आइसीसीले सो निर्णयले आइपिएल, बिग ब्यास, ग्लोबल टी २० लगायतका क्रिकेट प्रतियोगितामा प्रभाव पर्ने देखिन्छ।

घरेलु क्रिकेट संचालनमा आइसीसीले थोरैमात्रै भूमिका पाउनुपर्ने पक्षमा बीसीसीआइ रहेको बताइएको छ। आइसीसीको पछिल्लो निर्णयले एक देशबाट प्रतिनिधित्व गर्ने खेलाडीले चाँडै नै  सन्यास लिनुपर्ने अवस्था आउनेतर्फ बीसीसीआइले चिन्ता व्यक्त गरेको छ।

यता आइसीसीले भने बीसीसीआइ वर्किङ ग्रुपको सदस्य रहेको भन्दै आइसीसीले घरेलु र अन्तर्राष्ट्रिय खेलहरु संचालनमा सन्तुलन ल्याउने प्रयास गरिरहेको बताएको छ। टी २० खेलाडीहरुमाथि न्यूनतम कार्यविधि लागू गर्दै त्यहाँ भ्रष्टाचार विरोधी युनिट, 'एन्टि डोपिङ' जस्ता सुविधाका साथै खेलाडीहरुसँग हुने सम्झौता र पारिश्रमिकको ग्यारेन्टी गर्न आइसीसी प्रयासरत रहेको बताएको छ।

आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डसनले कमजोर आर्थिक आय र भौतिक पूर्वाधारबाट संचालित क्रिक्रेट लीगहरु दिगो नहुने र त्यसले क्रिकेट खेलको विकास नहुने तर्क गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell