PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक देखिएको भन्दै कांग्रेसको स्थानीय तह अन्तरिम व्यवस्था निर्देशिका पारित



अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक देखिएको भन्दै कांग्रेसको स्थानीय तह अन्तरिम व्यवस्था निर्देशिका पारित

काठमाडौँ: नेपाली काँग्रेसले स्थानीय तहको सङ्गठनको अन्तरिम संरचना तुरुन्त गठन गर्न आवश्यक भएकाले विधानबमोजिम ‘स्थानीय तह सङ्गठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गरेको छ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको विधानको धारा ५० (५) र धारा ७१ समेतको अधिकार प्रयोग गरी सो निर्देशिका सर्वसम्मतिले पारित गरी लागू गर्ने निर्णय गरेको हो। उक्त निर्णयलाई पार्टीको आगामी महासमिति÷महाधिवेशनमा पेश गरी अनुमोदन गराइने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

बैठकले पार्टीका तर्फबाट खोटाङ्गको दिक्तेल रुपाकोटा मझुवागढी नगरपालिका–१ को खुला वडा सदस्य पदमा निर्वाचित बैजनाथ रिजाल अन्यमा प्रवेश गरी काँग्रेस पार्टी परित्याग गरेकोले प्रचलित कानूनबमोजिम निजको वडा सदस्य पद स्वतः रिक्त हुने जानकारी निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ। 

यसैगरी बैठकले इस्लाम धर्मावलम्बीहरुको पवित्र पर्व ‘इद उल जोहा’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा सुख, शान्ति एवं समृद्धिको शुभकामना प्रकट गरेको छ। 

त्यस्तै केही दिनदेखि अस्वस्थ भई उपचारार्थ अस्पताल भर्ना हुनुभएका काँग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। 

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरु महेश आचार्य, दिलेन्द्रप्रसाद बडू, एनपी साउँद, उमाकान्त चौधरी, दीपक गिरी, महेन्द्र यादव, बद्री पाण्डे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, हृदयराम थानी र शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरेका थिए। केन्द्रीय कार्यसमितिको अर्को बैठक अर्को आइतबार बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell