PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

माननीय भएपछि कोमल वलीको तीज, ‘कार्यकाल सकिएपछि मात्र पोइला’!



मन्दिरा खत्री

माननीय भएपछि कोमल वलीको तीज, ‘कार्यकाल सकिएपछि मात्र पोइला’!

गायिका कोमल वली अहिले राष्ट्रियसभा सदस्य छिन्। ०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि वलीको नियमितता परिवर्तित छ।

दुई वर्षअघिसम्म यो बेला वली रेकर्डिङ स्टुडियोमा भेटिन्थिन् तीजका गीतहरुको रेकर्डिङमा। अहिले रेकर्डिङमा भन्दा पनि राष्ट्रियसभामा हुने बहसमा भेटिन्छिन्। यसपटक उनी कानुन बनाउन व्यस्त छिन्।

तर, यही व्यस्तताबीच पनि उनले एउटा तीज गीत भने रेकर्डिङ गराउन भ्याइन, ‘छड्के तिलहरी’।

आफ्नै बहिनीको साथमा उनले गाएको गीतले दिदी–बहिनीबीचको प्रेमलाई झल्काउँछ। एकनारायण भण्डारीको शब्द तथा संगीतमा तयार भएको छड्के तिलहरीमा कोमल वलीसँगै उनको बहिनी प्रज्ञा वलीको स्वर तथा नृत्य देख्न सकिन्छ।

‘राजनीतिमा लागेसँगै व्यस्तता अझै बढेको छ। अहिले त झन् व्यस्त भएकी छु,’ वलीले भनिन्।

राष्ट्रियसभामा पेस भएका विधेयकमाथिको छलफल एकातिर छ। अहिले सङ्घीय संसद्को बजेट अधिवेशन पनि चलिरहेको छ। अधिवेशनबाट बजेट भने पारित भइसकेको छ। अन्य विधेयक छलफलमा सभा व्यस्त छ।

वलीले आठ सयको हाराहारीमा गीत गाइसकेकी छिन्।

गायिकाको रूपमा देश विदेशमा पुगिरहने उनी यसपटक भने साङ्गीतिक कार्यक्रमका स्टेजमा उभिन पाएकी छैनन्। तर, उनी राष्ट्रियसभामै कहिले तीज गीत गाउँछिन् त कहिले कविता भन्छिन्। विधेयकको समर्थन पनि तीज गीतमार्फत गर्छिन्।

गत वर्ष तीजको छेकोमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले राष्ट्रियसभामा दर्ता गराएको बालबालिकासम्बन्धी विधेयकको छलफलका क्रममा विधेयकको समर्थन गीतमार्फत नै गरेकी थिइन्-

‘समृद्ध र समुन्नत देश नेपाल बनाउन

जोखिममा परेका बालबालिका बचाउन

बालबालिका पृथ्वीकै अनुपम उपहार

यिनलाई रक्षा गर्न सकेमात्र हुन्छ सार’

सांगीतिक स्टेजकी अनुभवी वलीका लागि राष्ट्रियसभाको रोस्ट्रम नौलो हो। ‘राष्ट्रियसभामा त स्टेजमा जान पाइँदैन्। आफ्नै स्थानमा उभिएर बोल्नुपर्छ। त्यहाँ बोल्दा पनि विषय केन्द्रित भएर बोल्छु,’ उनले भनिन्, ‘म यो स्टेजबाट बोल्दा देश र जनतालाई आत्मसाथ गरी शीरमा राखेर बोलिरहेकी हुन्छु।’

स्टेजमा दर्शक श्रोतालाई कसरी खुसी बनाउने भन्नेमा केन्द्रित हुने उनी संसद्को रोस्ट्रममा बोल्नु अगाडि पनि तयारी गर्छिन्।

‘गीत गाउँदा एउटा तयारी हुन्छ। संसद्मा बोल्दा अर्को’, उनले भनिन्, ‘संसद् सधैँ नचले पनि समितिका बैठकमा सहभागी हुनुपर्छ। संसद् बैठक नचले पनि सधैँ व्यस्त नै हुन्छु। जनताका समस्या, दर्ता भएका विधेयक तथा प्रस्तावहरूको अध्ययन हुन्छ। जिल्लाका समस्याको विषयमा बोल्दा तयारी गर्नुपर्‍यो।’

स्टेजमा गीत गाउँदा भन्दा जनताको आवाज बोल्न गाह्रो हुने उनको अनुभव छ।

राजनीतिमा व्यस्त भए पनि उनी गीत संगीतका लागि समय निकाल्ने बताउँछिन्। ‘गीतको लागि पनि समय छुट्ट्याएकी छु,’ भर्खरै तीज गीत छड्के तिलहरी सार्वजनिक गरेकी उनले भनिन्, ‘अर्को गीत पनि तयार गरेकी छु। अहिले समय छैन। तीजपछि रेकर्ड गर्छु।’

बालबालिकाहरूले के बन्छस् भन्दा डाक्टर इन्जिनियर भन्लान्। तर, वली भने प्रधानमन्त्री भन्थिन् रे। पारिवारिक पृष्ठभूमि राजनीतिक नभएकी उनी गायिका हुँदै राजनीतिमा प्रवेश गरिन्। गायिका भएकै कारण पनि राजनीति प्रवेश गर्न उनलाई सहज भएको स्वीकार गर्छिन्।

‘सानो हुँदा बुवाले सोध्नुहुन्थयो रे। छोरी के बन्ने भनेर म प्रधानमन्त्री बन्ने भन्थेँ रे। सानैदेखि लुकेर बसेको राजनीतिप्रतिको मोह थियो होला नत्र राजनीतिमा आएर काम गर्न निकै गाह्रो छ,’ वलीले भनिन्, ‘गायिका भएकै कारण मलाई माननीय हुने अवसर मिल्यो। गायिका भनेर त मलाई चिन्नु नै हुन्छ। माननीय भन्या सायदै मानिसहरूलाई प्राप्त हुन्छ। माननीय भन्दा अझ बढी खुसी लाग्छ तर मेरो नशा-नशामा संगीतको धारा बगिरहेको हुन्छ।’

 

बाँकी समय राजनीतिमा नै बिताउने उनले बताइन्। ‘अबको बाँकी समय राजनीति गर्छु भनेर यता लागेकी हुँ। नेकपाले मलाई अवसर दियो।’ उनले भनिन्, ‘म जस्तो मान्छे नेकपाले पायो जसलाई जनता सामु चिनाइराख्नु पर्दैन कोमल वली को हो भनेर भन्नु पर्दैन। मैले पनि नीति र सिद्धान्त राम्रो भएको पार्टी पाएँ।’

‘गीत विवादमा फस्यो। यो गीतले कति ताली नि खायो गाली नि खायो,’ उनी सम्झिँदै भन्छिन्, ‘यो गीत हिजो जति लोकप्रिय थियो आज पनि उतिकै लोकप्रिय छ। मलाई खुसी नै लाग्छ मैले चोरी गरेर नराम्रो गीत गाएको होइन। यो गीतले छोरी अब बलियो हुनुपर्छ भन्ने भाव प्रस्तुत गरेको छ।’

संयोग भने वलीसँगै मिलेको छ। ‘म अविवाहित छोरी हुनाले पोइला जान पाम पाम पाम भन्ने गीत मन परेको होइन। गीतको ताल राम्रो छ लय राम्रो छ त्यसका शब्दहरू राम्रा छन्। त्यसैले हरेक कुराले पोइला जान पाम गीत फस्टक्लास छ। त्यसैले मलाई यो गीत एकदम मनपर्छ,’ उनले भनिन्। 

यो गीत सार्वजनिक भएपछिका हरेक तीज कार्यक्रमका स्टेजमा उनले यही गीत गाइन्। त्यसपछिका वर्ष कहिले ‘हल्ला भो शिवजी तिम्रो मेरो माया प्रेमको’, कहिले फेरि पनि पुकार गर्छु महादेवसित भन्दै ‘मनमा आँट भाको गोजीमा गाँठ भएको यतिको मर्द भेटिएन कोही’ भन्दै गीत गाइन्।

सानैदेखि व्रत पनि बसिन्। सानोमा दूध, केरा फलफूल खान पाइने भएपछि व्रत बस्न थालेको उनी सुनाउँछिन्। ‘म हरेक तीजमा व्रत बस्थेँ। हाम्रो घरमा व्रत बस्ने चलन नै हुन्थ्यो, आमाले व्रत बस्नुपर्छ भन्नु हुन्थ्यो हामीलाई। अरूभन्दा पनि खाली पेट व्रत बसेपछि सानोमा हुँदा त केरा र दूध खान पाइने रमाइलो लाग्थ्यो। अहिले पनि हरेक तीजमा निरन्तर व्रत बस्ने गरेको छु।’

राम्रो महादेव जस्तै पति पाउँ भन्दै अविवाहित महिलाले बस्छन् व्रत। उमेर पनि ढल्कियो। ‘यतिका व्रत बस्दा पनि मनमा आँट भएको नभेटिएकै हो त? जवाफमा वलीले भनिन्, ‘एउटा जिम्मेवारीसहित राष्ट्रियसभामा आएकी छु। अब कार्यकाल सकिएपछि!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell