PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दिउँसै लुटिएकी सांसद सुवेदी भन्छिन्, 'म त लुटिएँ, तीज आउँदैछ दिदिबहिनी सावधान हुनुहोस्'



पहिलोपोस्ट

दिउँसै लुटिएकी सांसद सुवेदी भन्छिन्, 'म त लुटिएँ, तीज आउँदैछ दिदिबहिनी सावधान हुनुहोस्'

काठमाडौं: इन्द्रचोकमा रहेको लस्सी पसलमा एक गिलास लस्सी खाइन्।

समय त्यस्तै दिउँसोको करिब साढे ३ बजेको हुँदो हो। ब्यागबाट सानो पर्स निकालिन् र लस्सीको पैसा दिइन्। फेरि पर्स त्यही ब्यागभित्र हालिन्। प्रायः सधैंजसो भीडभाड हुने इन्द्रचोक नजिकिँदै गरेको तिजको कारण झनै व्यस्त थियो।

त्यसपछि उनी हिँड्दै न्युरोडतिर लागिन्। तर दुई चार पाइलामात्र के सारेकी थिइन्, कसैले आफ्नो ब्याग ताने जस्तो लाग्यो उनलाई। पछाडि फर्केर हेरिन्। कोही थिएन। र थिएन उनको ब्यागभित्र रहेको पर्स पनि। उनलाई त्यहाँ एक्लै बीच सडकमा न कराउनु न चिच्याउनु भयो। उनी दिउँसै लुटिइन्।

लुटिने अरु कोही नभएर प्रदेश नम्बर ३ की प्रदेश सभा सदस्य (सांसद) भावना सुवेदी थिइन्। 'कसैले ब्याग तानेको महसुस त गरेकी थिएँ। तर पछाडि फर्केर हेर्दा कोही देखिनँ। ट्याक्सीले ब्लक गरेको थियो र मानिसको भीड एकदमै थियो', सांसद सुवेदीले सुनाइन्।

लस्सी खाएर पैसा तिरेर पर्स हालेपछि ब्यागको चेन नलगाएर सांसद सुवेदीले गल्ती गरेकी थिइन्। उनको त्यही गल्ती पकेटमारको लागि मौका मिल्यो। 'यो एउटा सामाजिक विकृति नै हो। उसले मलाई वाच गरिरहेको रहेछ। अहिले राजधानीमा धेरै यस्ता घटना भएको जानकारी पाएको छु। सम्बन्धित निकायले यसमा ध्यान दिनुपर्छ', आफ्नो पर्स लुटिएपछि प्रहरीकहाँ पुगेकी सांसद सुवेदीले भनिन्।

पर्समा केही रकम र महत्त्वपूर्ण कागजपत्र भएको उनको दाबी छ। त्यसपछि उनी बैकको एटिएम र पासकोडसमेत त्यही पर्समा भएकाले बानेश्वरस्थित एक बैंकमा एटिएम ब्लक गराउन पुगिन्। त्यतिबेरसम्म उनले प्रहरीलाई जानकारी गराएकी थिइनन्। 'पैसाभन्दा पनि महत्त्वपूर्ण काजगपत्र थियो। त्यसैले सावधान भएकी हुँ', सांसद सुवेदीले भनिन्।

आफू लुटिए पनि अरूलाई सजग र सूचनाको हक प्रयोग गर्दै आफू लुटिएको जानकारी दिएको सांसद सुवेदी बताउँछिन्। आउँदै गरेको तीजमा महिलाहरू पैसा गहना बोकेर किनमेल गर्न जाने प्रचलन रहेकाले होसियार हुन उनको अनुरोध छ। सांसद सुवेदी भन्छिन्, 'म त लुटिएँ। तीज नजिकिँदै छ। पैसा बोकेर दिदीबहिनीहरु सामान किन्न जानुहुन्छ। यसरी जाँदा सचेत हुनुहोला।'

महानगरीय प्रहरी वृत्त जनसेवामा सांसद सुवेदीले आफ्नो पर्स लुटिएको उजुरी दर्ता गराएकी छिन्। प्रहरीले लुटिएको स्थान वरपर रहेका सिसी क्यामराको रेकर्डसमेत हेरेको थियो। तर ठ्याक्कै लुटिएको स्थानमा क्यामरा नभएको पाइएको छ। सांसद सुवेदीलाई अझै पनि हराएको सामान पाइने आशा भने मरेको छैन। 'आशा मार्नु त भएन नि भेटिएला', उनले भनिन्।

प्रहरीले पाकेटमारको खोजी गरिरहेको छ। 'उहाँले बेलुका आएर उजुरी दिएपछि हामी खोजी गरिरहेका छौँ। सिसी क्यामरा हेर्दै छौँ', महानगरीय प्रहरी वृत्त जनसेवाका डिएसपी वासुदेव खतिवडाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell