PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सोसल मिडियाबाट टाढा जाँदैछु, यसले मलाई बिरामी बनाएको छः जोन अब्राहम



पहिलोपोस्ट

सोसल मिडियाबाट टाढा जाँदैछु, यसले मलाई बिरामी बनाएको छः जोन अब्राहम

बलिउड अभिनेता जोन अब्राहम अभिनीत फिल्म 'बाटला हाउस' यतिबेला विवादमा फसेको छ। सन् २००८ मा मुम्बइमा भएको बाटल हाउस इन्काउन्टरको विषयमा फिल्म बनेको हो। इन्डियन मुजाहिद्दिन विरुद्ध भएको सो इन्काउन्टर दुई आतंकवादीको मृत्यु भएको थियो भने दुई जनालाई पक्राउ गरिएको थियो। एक जना भाग्न सफल भएका थिए। १५ अगस्टमा अब्राहमको फिल्मको प्रदर्शन हुँदैछ। भारतमा कश्मीर समस्या चलिरहेको बेला आतंकवादका बारेमा निर्माण भएको आफ्नो फिल्मबारे जोन अब्राहम के भन्छन्?

फिल्म बाटला हाउसलाई प्रदर्शन हुन नदिनको लागी विपक्षीले निवेदन पेस गरेको भन्ने चर्चा छ नि?

हो। अहिले यो विवाद अदालतसम्म पुगेको छ। त्यसैले हामी यो विषयमा केही भन्न सक्दैनौँ। तर हामीले सुरुदेखि नै बारम्बार भन्दै आएका छौँ कि यो फिल्म फिक्सनमा आधारित छ। हामीले यो पनि भनेका थियौँ कि फिल्म सत्य घटनामा आधारित चाहिँ छैन तर केही हदसम्म प्रेरित चाहिँ छ। यो फिल्मलाई सीबीएफसीले युए सर्टिफिकेटको साथमा पास पनि गरेको छ।

तपाईँले हालै उपराष्ट्रपतिको लागि बाटला हाउसको स्पेसल स्क्रिनिङ पनि राख्नु भयो, कस्तो रह्यो अनुभव?

वेंकैया नायडू साहब निकै विद्धान व्यक्ति हुन्। उहाँले भने अनुसार म हेरक फिल्ममा अलग–अलग भूमिकामा सजिलैसँग प्रस्तुत हुन्छु। साथै उहाँ बाटला हाउसको कथाले आफू निकै प्रभावित समेत हुनुभयो।

फिल्ममा तपाईँले प्रहरीको इमेजलाई राम्रोसँग प्रस्तुत गर्नु भएको छ, तर हाम्रो समाजमा हेर्ने हो भने प्रहरीहरू दिन प्रतिदिन बदनाम हुँदै गइरहेका छन् र प्रहरी माथि मानिसको विश्वास घट्दै गएको हो?

फिल्ममा प्रहरीलाई नकारात्मक रोलमा प्रस्तुत गरे तापनि हाम्रा प्रहरी अफिसर इमानदार छन्। उनीहरू देशको लागि काम गर्छन्। मलाई यस फिल्ममा यही देखाउनु थियो। त्यसैले मैले आफ्नो फिल्मको लागि बाटला हाउस जस्तो विषय रोजेको हो। यस्तो होइन कि प्रहरी विभागमा भ्रष्टाचार हुँदैन तर हाम्रो समाजमा इमानदार प्रहरी पनि छन्। आफ्नो फिल्ममार्फत मेरो यही प्रयत्न रहन्छ कि म देशको लागि राम्रो काम गर्ने सिपाहीलाई पर्दामा राम्रोसँग प्रस्तुत गरुँ।

सामाजिक सञ्जालमा स्टारहरुलाई टार्गेट बनाउनुलाई कुन रूपमा लिनुहुन्छ ?

सामाजिक सञ्जालमा हर कोही सक्रिय रहन्छन् र उनीहरू हरेक विषयमा बोलिरहेका हुन्छन्। कोही मानिस त केही नसोची पनि बोलिरहेका हुन्छन्। उनीहरूमा जागरूकताको अभाव छ। यदि तपाईँ सामाजिक सञ्जाल आधा घण्टा चलाउनु हुन्छ भने तपाईँ वाक्क नै हुनुहुन्छ। सामाजिक सञ्जालमा धर्म, जाति, समुदायलाई लिएर नराम्रा टीकाटिप्पणी नै बढी हुने गर्दछन्। त्यसै गरी सञ्चारमाध्यमहरूले पनि नराम्रा सन्देश फैलाउने काम नै बढी गरिरहेका हुन्छन्। हालै मैले ५ मिनेटमा २५ वटा समाचार हेरे। जसमा २४ वटै समाचारहरू मृत्यु, बलात्कार र बाढीसँग सम्बन्धित नै थिए। कुनै पनि राम्रो समाचार छैन। सामाजिक सञ्जालले मलाई बिरामी बनाएको छ।

तर कलाकार हुनुको नाताले तपाईँले सामाजिक सञ्जाल प्रयोग गरिरहनु पर्‍यो भने नि? 

हो। कलाकार हुनुको नाताले सामाजिक सञ्जाल त चलाउनु जरुरी छ तर म बिस्तारै बिस्तारै आफैं सामाजिक सञ्जाल चलाउन छोड्दिन्छु। एक-डेढ वर्ष पहिला मैले अनुमान पनि लगाएको थिए कि यस्तो समय पनि आउने छ जब सेलिब्रेटीहरुले सामाजिक सञ्जाललाई प्रयोग गर्न बन्द गर्नेछन्। म सामाजिक सञ्जालमा त्यति धेरै सक्रिय छैन। हो, मलाई सामाजिक सञ्जालमार्फत मेरो फिल्महरूको अपडेट चाहिन्छ। त्यसैले मात्र म सामाजिक सञ्जाल प्रयोग गरिरहेको छु। तर अब म छिट्टै सामाजिक सञ्जालको दुनियाँबाट गायब हुनेवाला छु।

तपाईँको फिल्म बाटला हाउसको कुरा गर्ने हो भने यस्तो विवादास्पद विषयमा फिल्म बनाउने विचार किन गर्नुभयो ?

नढाँटी भन्ने हो भने मलाई अभिनेताको रूपमा यो फिल्मको स्क्रिप्ट निकै मन परेको हो। मलाई लाग्छ कि उत्तर भारतमा यदि बारम्बार मस्जिदपछि सबैभन्दा बढी चर्चा भएको विषय नै फिल्म बाटला हाउस हो। बाटला हाउसले धर्म, राजनीति, समुदाय सबैलाई विभाजित गरेको थियो। मलाई यो कुराको उत्सुकता थियो हामी जुन कहानीमा काम गरिरहेका छौँ त्यो न कसैको पक्षमा न कसैको विपक्षमा हुनेछ। मैले निर्देशक निखिल अडवानीलाई भनेको थिएँ कि हामी जे बोल्छौँ त्यसमा सबै विचार प्रस्तुत गर्छौँ। जब दर्शक फिल्म हेरेर निस्किन्छन् तब उनीहरूले तय गर्छन् कि कसको विचार सही छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell