PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मानव अंग आयात गर्ने अल्ट्रा मोर्डन खेल अस्पतालः दोहाको 'एसपेटार', जहाँ पुग्छन् विश्वकै चर्चित खेलाडी



पहिलोपोस्ट

मानव अंग आयात गर्ने अल्ट्रा मोर्डन खेल अस्पतालः दोहाको 'एसपेटार', जहाँ पुग्छन् विश्वकै चर्चित खेलाडी

कतारको राजधानी दोहा प्रवेश गर्नेको आँखा त्यहाँका गगनचुम्बी भवनहरूले आकर्षित गर्छ। तर, त्यहीँ रहेको 'एसपेटार' भवनमाथि कमैको मात्रै ध्यान जान्छ।

'एसपेटार' भवन अरू भवन झैँ न त इटालियन मार्बलले बनेको हो न त त्यो ५० तल्ला नै छ। यो स्थान अरू स्थानभन्दा फरक छ। यो स्थान खेलकुदमा घाइते भएकाको उपचार र पुनर्स्थापना केन्द्र हो।

यहाँ मानव शरीरका अंगहरु आयात गरेर 'कटिङ एड्ज मेडिकल साइन्स रिसर्च'का लागि ल्याइन्छ। खेलकुद क्षेत्रमा प्रसिद्ध एन्जल डि मारिया, नेमार, मो फाराह, याया टुरे, र साम वारबर्टनले यहाँ उपचार गराइसकेका छन्।

नासाको मिसन कन्ट्रोल सेन्टर टेक्ससमा छ भने खेलकुदका लागि एसपेटार हो।

सन् २००७ देखि सञ्चालनमा आएको यो केन्द्र खेल क्षेत्रमा निकै चर्चित छ। यहाँ कार्यरत कर्मचारीहरू 'स्पोर्टस् साइन्स' मा दख्खल राख्छन्। उनीहरूले 'स्टेट अफ आर्ट' सुविधा प्रदान गर्नुका साथै आवश्यकता अनुसार नयाँ उपकरण निर्माण गर्न स्रोत व्यवस्थापन गर्छन्।

उनीहरूले नयाँ प्रविधि भित्र्याएका छन् जस्तै 'ग्राभिटी ट्रेडमिल'। सो उपकरणले एक व्यक्तिको ९० प्रतिशतसम्मको तौल बहन गर्ने क्षमता राख्छ। यसमा घुँडा वा खुट्टामा चोट लागेका खेलाडीले आरामले व्यायाम गर्न सक्छन्। त्यसबाट उनीहरूको फिटनेस लेभल चाँडै विकास हुन्छ।

सो अस्पतालमा हलिउड फिल्ममा 'मोसन' कैद गर्न प्रयोग हुने 'सिजीआइ स्टुडियो' जस्तै एउटा कोठा छ। बिरामीहरूले त्यहाँ आफ्नो शरीरमा जोडिएका साना 'मार्कस'सँगै शारीरिक व्यायाम गर्नुपर्छ। त्यसपछि चिकित्सकहरूले उनीहरूको मांसपेशीको 'थ्री डी म्याप' बनाउँछन्। त्यसमा बिरामीको शारीरिक शक्ति लगायतका विषय समावेश रहन्छ।

कुनै पनि चोटलाई निको बनाउन उपचारमा आउन सक्ने समस्याबारे पहिले नै निधो गर्नु आवश्यक हुन्छ। तर भविष्यमा थप उपचारका लागि शरीरको अवस्थाका बारेमा डाटा ब्याकअपको पनि उत्तिकै महत्त्व हुन्छ।

शरीरको सो सूचनाका आधारमा चोट लागेको स्थानलाई पहिलाकै अवस्थामा फर्काउन सहयोगी साबित हुनेगर्छ। जुन मानिस मानिसबीच फरक हुन्छ। चोट लाग्नु अघि घुँडाको ज्योइन्टले कसरी काम गरिरहेको छ भन्ने विषय पछि उपचारका लागि महत्त्वपूर्ण हुन्छ।

विशेष गरी यो सुविधा फुटबल क्लबहरुले प्रयोग गर्छन्। खेलाडीसँग सम्झौता अगाडि नै यहाँ पठाएर उनीहरूको स्वास्थ्य अवस्थाको रिपोर्ट बनाउने गरिन्छ। पेरिस सेन्ट जर्मनका खेलाडीहरू यहाँ निकै आउँछन्।

पिएसजी र अर्जेन्टाइन खेलाडी डि मारिया भन्छन्,'  एसपेटारमा नआएसम्म म त्यस्तो कोठामा पुगेकै थिइन जहाँ म उचाइ परिवर्तन गर्न सकूँ।'

अस्पतालमा २५ यस्ता कोठा छन्। जसको उचाइ परिवर्तन गर्न सकिन्छ। स्विचबाट समुन्द्री सतहभन्दा ५०० मिटरदेखि ४, ५०० मिटरसम्म उचाइ परिवर्तन गर्ने व्यवस्था मिलाइएको छ। हावामा अक्सिजनको मात्रा मिलाउन उनीहरू फिल्ट्रेसन सिस्टमको प्रयोग गर्छन्।

एसपेटारको 'अल्टिट्युड प्याभिलियन' मा शरीरको चाल मापन गर्ने यन्त्र रहेको छ भने आराम गर्न का लागि छुट्टै कोठा छन्। सो क्रममा व्यक्तिको मुटुको चाल र रक्तचापका बारेमा थाहा पाउन सकिन्छ।

एसपेटारका एक गाइड भन्छन्,' खेलाडी दुईदेखि तीन दिनसम्म यहाँ बस्न सक्छन्। यहाँ उनीहरूले आफ्नो मोबाइल लगायतका ग्याजेट प्रयोग गर्न पाउँछन्, टिभी हेर्न पाउँछन्। तर उनीहरू २४ घण्टा नै 'इलेक्ट्रोड्स' सँग जोडिएका हुन्छन्।'

यससँगै पोस्ट ग्याडुएसेनका लागि तयारीमा रहेका चिकित्सकका लागि एसपेटारमा 'भिजिटिङ सर्जन प्रोग्राम' आयोजना गर्ने गरिन्छ।

तर, घुँडा, कार्टिलेज र काँधको सर्जनहरूलाई एसपेटार पुग्न ठूलै दक्षता र निकै लामो समय सो क्षेत्रमा काम गरेको हुनुपर्छ। सन् २०१६ मा त्यहाँ विश्वमै पहिलोपटक 'स्पोर्टस सर्जरी ट्रेनिङ सेन्टर' खोलिएको थियो।

सर्जरीमा दक्ष हुनुलाई सर्जनहरू यहाँ नक्कली मानव अंगको प्रयोग गर्दैनन्। उनीहरू आयात गरी ल्याएका सक्कली मानव अङ्ग प्रयोग गर्छन्। जुन आवश्यक्ता अनुसार फ्रिजरमा राखिएको हुन्छ।

एसपेटारमा विदेशबाट मानव अङ्ग (धेरै जसो काँध,घुँडा खुट्टा) आयात गरिन्छ। धेरै जसो अंग अमेरिकाबाट आयात गरिन्छ। यसका लागि दुई देशको सरकारबीच गहन छलफल र सम्झौता हुनेगर्छ।

यस अस्पतालको पुनर्स्थापना केन्द्रमा फुटबलर अन्डर वाटर मुभमेन्ट गरिरहेको देख्न सकिन्छ भने सँगै स्की खेलाडी स्लोप मेसिनमा आफूलाई दक्ष बनाउने प्रयास गरिरहेको देखिन्छ। यस्तै बास्केटबल खेलाडी उफ्रिने प्रशिक्षण लिइरहेको हुन्छ।

पूर्व एनबीए बास्केटबल खेलाडी र हाल अस्पतालमा फिजिकल कोचका रूपमा कार्यरत ब्यारी ह्वाइट भन्छन्,' विभिन्न खेलमा दक्ष रहेकाहरुले एक अर्काले गरेको प्रयास, दु:ख, साहस हेरेपछि उनीहरुमा विशेष ऊर्जा आउँछ।'

'नयाँ चोटबाट उत्पन्न हुने डरबाट मुक्ति पाउन मानसिक अवस्था निकै महत्त्वपूर्ण हुन्छ। यससँगै चोट लागेको बेला आफ्नो मस्तिष्क र शरीरलाई पनि तयार राख्नु उत्तिकै आवश्यक हुन्छ' हवाइट भन्छन्,' त्यसैले हामी अन्डरवाटर व्यायाम, मसाज र प्रविधि प्रयोग गर्छौँ। त्यसबाट चोट लागेको स्थानलाई सुरक्षित बनाइ शरीरको बाँकी भागलाई आराम मिल्छ।'

पुनर्स्थापना केन्द्रमा विभिन्न कार्यका लागि छुट्टाछुट्टै क्षेत्रहरू बनाइएका छन्। तर तिनीहरू पर्खालले छुटिएका छैनन्। सिसाको सट्टा त्यहाँ ग्लासहरूको प्रयोग गरिएको छ। ती ग्लासहरूलाई आंशिक रूपमा ब्लर गरिएको छ। आर्टिटेक्टसँग बसेर भवनको डिजाइन गर्न ह्वाइट आफैं संलग्न हुने गर्छन्। फ्लोर, सिलिङ, बत्ती, झ्यालदेखि बोटबिरुवा राख्न समेत धेरै अध्ययन गरिन्छ।

हवाइटका अनुसार उनीहरू यस ठाउँलाई जिम जस्तै देखाउन चाहँदैनन्। उनी यसलाई अरू भन्दा पृथक स्थान रहेको बताउँछन्।

उपचार र चोटबाट बच्ने उपाय सुझाउन मात्रै एसपेटार प्रसिद्ध भएको होइन। त्यहाँ गरिने अनुसन्धानले एसपेटारलाई अरू भन्दा विशिष्ट बनाएको छ।

सन् २००७ मा पहिलो मेडिकल पेपर प्रकाशित गरेको एसपेटारले त्यसपछि वर्षमा १५० भन्दा बढी प्रिर रिभ्यु रिसर्च स्टडीहरू प्रकाशित गर्दै आएको छ। यस्तै कन्फरेन्स, वर्कसपहरू विभिन्न समयमा हुने गर्छन्।

अनुसन्धानबाट निकालिएका डाटाहरूलाई संयुक्त रूपमा अध्ययन गरिन्छ। साइक्लिङ, रग्बी, फुटबल लगायत सबै खेलहरूमा संलग्न हुने सबै उमेर समूहका महिला र पुरुषहरूबारे अध्ययन गरिन्छ।

खेल क्षेत्रमा सबैभन्दा बढी नजरअन्दाज गरिने दाँतको चोटका लागि पनि यहाँ विशेष डिपार्टपेन्ट नै खडा गरिएको छ।

म्यानचेस्टर सिटीका पूर्व मिडफिल्डर टुरे भन्छन्,' युरोपमा समेत यहाँको जस्तो सुविधा कतै छैन। यहाँ खेलाडीलाई आवश्यक सबै सुविधा छन्।'

खुट्टाको सर्जरीपछि एनबीए खेलाडी जोएल एमबिड १२ घण्टाको हवाई यात्रा गरेर अमेरिकाबाट उपचारका लागि दुबई पुगेका थिए। यहाँको उपचारबाट उनका म्यानेजर ब्रेट ब्राउन खुसी भए।

'यहाँको उपचारबाट उसको स्वास्थ्यमा निकै परिवर्तन आयो। डाइटदेखि हड्डीको हेरचाह, मसाज थेरापी, खुट्टा सुनिने, निन्द्राको समस्या सबैमा सुधार आएको छ' ब्रेटले भने।

सन् २०१४ मा यसलाई 'अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी रिसर्च सेन्टर फर प्रिभेन्सन अफ इन्जुरी एन्ड प्रोटेक्शन अफ एथलिट हेल्थ'को मान्यता मिलेको थियो।

वर्षमा विभिन्न खेलमा सक्रिय करिब ३५ हजार खेलाडी उपचारका लागि एसपेटार पुग्ने गर्छन्। धेरैजसो फुटबल खेलाडी यहाँ आउँछन्। खेलाडीहरूको लागि यहाँ स्थापना भएको 'स्पोर्ट कनकस्सन प्रोग्राम' एसपेटारको अर्को उपलब्धि हो। फिफाले १० वर्षअघि नै यसलाई मेडिकल सेन्टर अफ एक्सिलेन्सको मान्यता दिएको थियो।

यहाँ खेलाडीहरूले धेरै कुरा सिक्छन्, एकआपसमा घुलमिल हुँदै निको हुन्छन्। र उनीहरू बेलाबेलामा फर्केर यहाँ आइरहन्छन्। एसपेटारलाई कुनै विज्ञापनको आवश्यक्ता छैन। खेलाडीहरूले यस संस्थाको बारेमा मुखले खुलेर प्रशंसा गर्छन् यसैकारणले एसपेटारले सफलता हासिल गरिरहेको छ।

ह्वाइट भन्छन्,' एसपेटारको सबैभन्दा ठूलो कुरा भनेको हामी विभिन्न राष्ट्रबाट फरक पृष्ठभूमिबाट धेरै संघर्ष गरेर यहाँ आएका छौँ। त्यसैले हामीले यहाँ नयाँ कुराहरू निर्माण गर्न सकेका छौँ। जुन पहिला खेल क्षेत्र मा कतै थिएन।'

बीबीसीमा प्रकाशित मार्टिन माजुरको आलेखको सहयोग रञ्जितले गरेको भावानुवाद 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell