PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भत्काउन थालियो रानीपोखरीको बाल गोपालेश्वर मन्दिरका  कंक्रिट संरचना

भत्काउन थालियो रानीपोखरीको बाल गोपालेश्वर मन्दिरका कंक्रिट संरचना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: काठमाडौंको रानीपोखरीको मध्य भागमा रहेको बाल गोपालेश्वर मन्दिरको निर्माणमा प्रयोग भएका कंक्रिटका संरचना भत्काउन शुरु भएको छ।

२०७२ सालको भूकम्पबाट क्षति पुगेको मन्दिर र पुल बनाउने ठेक्का पाएको  सीए/तुलसी कन्ट्रक्सन जेभी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबीच सम्झौता भएसँगै बहुप्रतिक्षित मन्दिर पुनर्निर्माणको काम कंक्रिट हटाउँदै शुरु भएको हो।  

भूकम्पबाट मन्दिरमा क्षति पुगेपछि रानी पोखरीको पुनर्निर्माण ओझेलमा परेको थियो। महिनौंसम्म रानीपोखरी अलपत्र परेपछि सरकारले  पहिला रानीपोखरी पुनर्निर्माणको काम  काठमाडौं महानगरपालिकालाई दिएको थियो।

महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माणको काम ठेकेदारमार्फत गराउने भएपछि स्थानीयले विरोध गरेका थिए।

पढ्नुस: रानीपोखरी पुनर्निर्माण: काठमाडौँ महानगरपालिका 'निकम्मा' साबित भएपछि भक्तपुरको हातमा आएको जिम्मेवारी

विरोधका बाबजुद रानीपोखरीमा ठेकेदारबाटै कंक्रिटको प्रयोग गरी पुनर्निर्माणको काम सुरु गरिएको थियो। त्रि - चन्द्र कलेजपट्टीको क्षेत्र र मध्य भागमा रहेको मन्दिरमा कंक्रिट प्रयोग गर्दै रानीपोखरीको पानी सुकाइएपछि स्थानीयले विरोध चर्काएका थिए। रानी पोखरीमा कंक्रिटको प्रयोग भएकोमा विरोध खेपिरहेका काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले रानीपोखरीमा कफी सप बनाउने घोषणासमेत गरेका थिए। मेयरको उक्त घोषणापछि उपमेयर हरिप्रभा खड्गीले निर्माणास्थलमा तालासमेत लगाएर विरोध जनाएकी थिइन्।  

विवादकाबीच रानीपोखरीको काम ठप्प भयो। राष्ट्रपति विद्यादेवी भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकोले पनि पोखरी निर्माण नहुँदा सरकार निकै आलोचित बन्दै गएको थियो।
 
फलस्वरुप गत वर्षमात्रै सरकारले रानीपोखरी पुनर्निर्माणको काम काठमाडौं महानगरपालिकाबाट छिनेर पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो।

पढ्नुस: रानीपोखरीमा कालो माटो: तिहारसम्म पानी जम्मा गर्ने लक्ष्य, यसरी बन्दैछ पोखरी

प्राधिकरणले स्वामित्व पाएपछि उपभोक्ता समिति अन्तर्गत रानीपोखरीको पोखरी र पर्खालका काम भइरहेको छ। भक्तपुरका दक्ष कालिगढहरुबाट हाल रानीपोखरीमा पानी अड्याउन पोखरीमा कालो माटोको सलामी दिने काम भइरहेको छ। आउने तिहारसम्म रानीपोखरीको पुनर्निर्माण हुने गरी काम भइरहेको छ।

मल्लकालिन मन्दिर बन्दै

अब बन्ने बालगोपालेश्वर मन्दिर अहिलेको पुस्ताले देखेको भन्दा फरक आकारको हुनेछ। गत फागुनमा रानीपोखरीमा रहेको मन्दिरलाई अहिलेको भन्दा पृथक अर्थात ग्रन्थकुट शैलीमा नै बनाउने सहमति भएको थियो। 

अब बन्ने मन्दिरको पुनर्निर्माणका लागि कंक्रिटको प्रयोग गरिने छैन। पुरातात्विक शैलीमा पुरानै विधिले मन्दिर पुनर्निर्माण हुने बताइएको छ।

२०७२ सालमा भूकम्प जाँदा मन्दिर गुम्बज शैलीको थियो। तर त्यो राणाकालमा रानीपोखरीको परिवर्तित स्वरुप थियो।

पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि अभियन्ताहरुले रानीपोखरी राणाकालिन शैलीमा नभएर चित्रमा देखिएको झै ग्रन्थकुट (शिखर) शैलीमा नै बनाउनु पर्ने माग गरेका थिए। काठमाडौं महानगरपालिकाले रानीपोखरी गुम्बज शैलीमा पुनर्निर्माण गर्ने भएपछि स्थानीयहरुको विरोधका कारण रानीपोखरी निर्माण धेरै समय रोकिएको थियो। अब भने मन्दिर पुरानै शैलीमा बन्नेमा स्थानीय ढुक्क छन्।
 
ठेकेदार कम्पनीले मन्दिरका साथै मन्दिर जाने पुल र पोखरी वरिपरिको बगैंचासमेत पुनर्निर्माण गर्ने ठेक्का पाएको छ। मन्दिर, पुल र बगैंचा पुनर्निर्माणका लागि १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँ लागत छुट्याइएको प्राधिकरणले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell