PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा समाजवाद हैन, होली वाइनको लुटपाट चलिरहेको छ: लोहनी



नेपालमा समाजवाद हैन, होली वाइनको लुटपाट चलिरहेको छ: लोहनी

काठमाडौं: राप्रपा (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा समाजवादको नाममा लुटतन्त्र चलिरहेको बताएका छन्। राप्रपा (संयुक्त) सम्वद्ध स्वतन्त्र बुद्धिजीवि मञ्चले मंगलबार आयोजना गरेको‘नेपालको विकास र संमृद्धिका लागि समाजवादी अर्थनीति कि लोककल्याणकारी उदार अर्थव्यवस्था?’विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै लोहनीले उक्त भनाई राखेका हुन्।

उनले देश खतम पार्ने प्रपंच जारी रहेको कारण संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको नारामा संघर्ष गर्नु बाहेको विकल्प नरहेको बताए।

‘नेपालमा समाजवाद छैन। होली वाइनको लुटपाट छ। समाजवादको विकृत प्रयोग गर्नेले माक्र्सको मानमर्दन गरेका छन्। होली वाइन समाजवादमा भ्रष्टाचार आकाशिएको छ, नेपाल बुढाबुढीको देश बन्दैछ। उदारवाद नीति कतै छैन अनि कसरी विदेशीले नेपालमा लगानी गर्छन्। त्यसैले अब संघर्ष बाहेकको विकल्प छैन,’ लोहनीले भने।

अर्क अध्यक्ष पशुपति शम्शेर राणाले नेपालको आर्थिक अवस्था डरलाग्दो रहेको दाबी गरे। भने, 'नेपालको वर्तमान आर्थिक परिवेश एकदमै प्रतिकूल र डर लाग्दो छ। यसमा मूल कारण संविधानको प्रस्तावनामा समाजवाद उन्मुख भन्ने वाक्य राख्नु हो। यसैकारण वैदेशिक लगानीमा कमी आएको हो। वैदेशिक लगानीकर्ताले लगानी गर्नु पूर्व लगानी गरिने संभावित देशको संविधान, वैदेशिक लगानी नीति, शान्ति सुरक्षा र सरकारको स्थिरताको राम्रो अध्ययन गर्छन्। नेपालको त संविधानको प्रस्तावनामै समाजवाद उन्मुख लेखिएको छ।'

संविधानमा समाजवाद उन्मुख भन्ने शब्द राखेसम्म नेपालमा कुनै पनि हालतमा वैदेशिक लगानी नआउने उनको तर्क थियो।

परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले सरकार व्यावहारिक व्यवस्थापनभन्दा प्रचारमा केन्द्रीत रहेको आरोप लगाए। भने, 'चावहिल–वौद्ध तीन किलोमीटर सडक दुई वर्षमा बन्न सकेको छैन, हामी भने ठूला रेलमार्गका कुरा गर्दैछौं। रेलमार्गसँग आवश्यक सुरक्षा, व्यवस्थापन, अध्यागमन जस्ता महत्वपूर्ण पक्षबारे कतै चर्चा र तयारी छैन। नयाँ लगानीकर्ता आकर्षित गर्ने त परै जाओस् भएका लगानीकर्ता भ्रष्टाचार र प्रशासनिक जटीलताका कारण देश छोडेर गएका छन्। हामी व्यावहारिक हुन नसक्दा नेपालको समृद्धि र र विकास दिवास्वप्ना साबित भएको छ।’

त्रिभुवन विश्वविद्याल, अर्थशास्त्र विभागका पूर्वप्रमुख प्रा. सुबोध नारायण झाले देशमा सरकार नै नभएको अवस्थामा असाधारण परिवर्तन आवश्यक रहेको बताए।

व्यवस्थापन विज्ञ शिव अधिकारीले अर्थतन्त्र, व्यापार घाटा भयावह रहेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell