PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

२४ वर्ष सिक्किममा राज गरेका पवन चाम्लिङको ओरालो ग्राफ: १० विधायक भाजपा प्रवेशपछि विधानसभामा एक्लै  



विधुर ढकाल

२४ वर्ष सिक्किममा राज गरेका पवन चाम्लिङको ओरालो ग्राफ: १० विधायक भाजपा प्रवेशपछि विधानसभामा एक्लै  
फोटो: sentinelassam.com

काठमाडौं: भारतको सिक्किममा निरन्तर २४ वर्ष शासन गरेका पवन चाम्लिङको राजनीतिक करियर एकाएक पतनको बाटोमा लागेको छ।

पछिल्लो विधानसभा निर्वाचनबाट सत्ता बाहिर रहेका उनलाई राजनीतिक सहकर्मीहरुले पनि छाडेका छन्। मंगलवार पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।

उनीहरु मंगलवार भाजपाको मुख्यालयमै पुगेर पार्टी प्रवेश गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनीहरुलाई भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले भाजपामा स्वागत गरेका हुन्।

एसडीएफ छाडेर भाजपा प्रवेश गर्ने विधायकहरुमा पाँच पटक विधायक रहिसकेका दोर्जी छिरिङ, पूर्व मन्त्री उर्गेन टी ग्याम्छो, तीन पटक विधायक रहेका नरेन्द्रकुमार सुगा, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, दुई पटक विधायक भएका डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चा छन्।

१० विधायकहरु भाजपामा प्रवेश गरेसँगै चाम्लिङ सिक्किमको विधानसभामा एक्लिएका छन्। यसअघि चाम्लिङको पार्टीबाट दुई विधायकहरु जीटी ढुंगेल र यमप्रसाद शर्मा सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा तिर पुगेका थिए।

यसै वर्ष भएको सिक्किम विधानसभा निर्वाचनमा चाम्लिङको पार्टीले ३२ विधानसभा निर्वाचनमध्ये १५ विधानसभा क्षेत्रमा निर्वाचन जितेको थियो। त्यस्तै सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जित हात पारेको थियो। मोर्चाका अध्यक्ष प्रेमसिंह तामाङ मुख्यमन्त्री बनेका थिए। चाम्लिङ नेतृत्वको सिक्किम प्रजातान्त्रिक मोर्चाबाट राजनीतिको सुरुवात गरेका तामाङ पहिलो पटक पश्चिम सिक्किमबाट १९९४ मा विधानसभामा सदस्यमा निर्वाचित भएका थिए।

उनी चाम्लिङको पार्टीको उपाध्यक्षसमेत भएका थिए।

उनले तीन पटक चाम्लिङ नेतृत्वको सरकारमा मन्त्री भएका थिए। २००९ मामा सिक्किको रोलु पिक्कनिक काण्डपछि सिक्किममा आन्दोलन चर्कियो। यही आन्दोलनसँगै तामाङले आफ्नै पार्टी सिक्किम प्रजातान्त्रिक मोर्चाविरुद्ध सन् २०१३ फेब्रुअरीमा सिक्किम क्रान्तिकारी मोर्चा गठन गरे।

भारतीय राजनीतिमा पीएस गोलेको नामले चिनिने तामाङको पार्टी क्रान्तिकारी मोर्चाले २०१४ मा भएको विधानसभा निर्वाचनमा ४२ प्रतिशत मत प्राप्त गरेको थियो।

आफू मन्त्री हुँदा सरकारी ढुकुटी हिनामिना गरेको आरोपमा उनी सन् २०१७ जनवरी १३ मा विधानसभा सदस्यबाट निलम्वनमा परे। पक्राउ परेका उनी रिहा हुँदा सन् २०१८ अगस्ट १० मा सिक्किममा अहिलेसम्मकै ठूलो जनप्रदर्शन भएको थियो।

यही मे २४ मा भएको विधानसभा निर्वाचनमा गोलेको पार्टीले ३२ मध्ये १७ सिट जित हात पार्‍यो। विधानसभा निर्वाचन नलडेका गोलेले मे २०१९ मे २७ मा सिक्किमको मुख्यमन्त्रीको रुपमा सपथ लिँदै २४ वर्ष शासन गरेका आफ्नै पूर्व नेता पवन चाम्लिङलाई सिक्किमको शासन बागडोरबाट अलग गरिदिए

पछिल्लो विधानसभा निर्वाचनबाट सत्ता बाहिर रहेका चाम्मलिङलाई यतिवेला पुन: समस्या परेको हो। उनका विधायकहरु भाजपामा प्रवेश गरेका छन्।

पछिल्लो विधानसभा निर्वाचनमा चाम्लिङले ८ पटक विधायक हुने रेकर्ड कायम गर्दै दुई स्थानमा जित हात पारेका थिए। त्यस्तै आजै भाजपा प्रवेश गरेका डीटी लेप्चाले पनि दुई स्थानमा जित हात पारेका थिए। त्यस्तै क्रान्तिकारी मोर्चाका कुञ्ज निमा लेप्चाले पनि दुई स्थानमा जित हात पारेका थिए।

यी तीन विधायकले जित हात पारेका ६ मध्ये ३ क्षेत्रमा उपनिर्वाचन हुँदै छ।

चाम्लिङको राजनीतिक करियरको उल्टो ग्राफ

भारतको राजनीतिक इतिहासमा सबैभन्दा बढी समय मुख्यमन्त्री बन्ने रेकर्ड राखेका चाम्मलिङको राजनीतिक करियर ग्राम पञ्चायतबाट सुरु भएको हो। पश्चिम बंगालका ज्योति बासुले पनि पाँच कार्यकाल मुख्यमन्त्री बनेका थिए। तर उनी कुल २३ वर्ष मुख्य मन्त्री भएका थिए। पहिलो पटक सन् १९८२ मा याङयाङ ग्राम पञ्चायतको अध्यक्ष भएका उनी १९८५ मा ३५ वर्षको उमेरमा विधानसभा प्रवेश गरेका थिए।

सन् १९८९ मा दोस्रो पटक विधानसभा सदस्यमा निर्वाचित भएसँगै उनी नरबहादुर भण्डारी नेतृत्वको सरकारमा उद्योग, सूचना तथा जनसम्पर्क मन्त्री बने।

सन् १९९३ मा उनले आफ्नै नेतृत्वमा सिक्किम प्राजातान्त्रिक मोर्चा गठन गरे। त्यसको अर्को वर्ष भएको विधानसभा निर्वाचनमा उनको पार्टीले वहुमत हात पार्योम। उनी मुख्यमन्त्री बने। 

त्योसँगै सन् १९९९, २००४, २००९, २०१४ मा भएका विधानसभा निर्वचनमा उनकै पार्टीले निरन्तर बहुमत हात पार्योन। उनको विकास प्रेमी नेताको छविका कारण उनको पार्टीले सन् २००९ को निर्वाचनमा सबै विधानसभा क्षेत्रमा जित हात पारेको थियो।

सन् २०१४ भएको निर्वाचनमा उनको लोकप्रियता खस्कियो। उनले कुल ३२ मध्य २२ जिटमा जित हात पारे। जुन २०१९ मा पुग्दा १५ मा सिमित भयो। २०१९ मेमा १५ सिट साथमा लिएर सिक्किमको विपक्षी दलको नेतामा सिमित भएका चाम्लिङ अब विधानसभामा प्रजातान्त्रिक मोर्चाका एक्ला विधायकको रुपमा रहनेछन्।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell