PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रहरी हिरासतबाटै कसरी भाग्छन् थुनुवा? भौतिक संरचनामा कमजोरी या प्रहरीको लापरबाही?



पहिलोपोस्ट

प्रहरी हिरासतबाटै कसरी भाग्छन् थुनुवा? भौतिक संरचनामा कमजोरी या प्रहरीको लापरबाही?

काठमाडौँ: गत शनिवार चोरीको अभियोगमा महानगरीय प्रहरी वृत्त सिंहदरबारको थुनामा रहेका चार जना थुनुवा हिरासतको रड काटेर भाग्न सफल भए। चार जनामध्ये दुई जना सुब्बा लामा र अनिल थापालाई प्रहरीले तत्काल अनामनगरबाट समात्यो।

प्रहरीले थुनाबाट भागेका अर्का फरार अभियुक्त सुकलाल वाइवालाई सोमवार बिहान दक्षिणढोकाबाट प्रहरीले नियन्त्रणमा लियो। फरार रहेका मदन तामाङलाई भने अझै प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। प्रहरीले उनीहरुको खोजी जारी राखेको छ।

यी चार जनाले हिरासतको रड ह्याक्सो ब्लडले काटेर भागेका थिए। हिरासत कक्षसम्म ह्याक्सो ब्लड कसरी आइपुग्यो? प्रहरीले यसको जवाफ पनि पत्ता लगाइसकेको छ। 'थुनामा रहेका उनीहरूलाई भेट्न गएका व्यक्तिले खानामा ह्याक्सो ब्लड राखेर थुनुवा कक्षसम्म पुर्‍याए।‘

के त्यसो भए थुनुवालाई ल्याउने खानाको कुनै जाँच हुँदैन?

जवाफमा महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी बोगटीले भने, ' प्रहरीले खाना मात्र टेस्ट गरायो। तर खाना बोकेको भाँडा चेक भएनछ। खानाको तल पट्टी ब्लेड राखेको देखिन्छ। थप अनुसन्धान हुँदैछ।'

थुनुवासम्म ह्याक्सो ब्लड पुर्‍याउन सहयोग गर्ने करण मोक्तान र रमेश सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

ह्याक्सो ब्लेड त हिरासतसम्म खानाभित्र राखेर पुर्‍याइयो। अनि ड्युटीमा खटिएका प्रहरीले रड काट्दासम्म कुनै चाल नै पाएनन् त? ह्याक्सोले फलाम काट्दा आवाज त आउँछ? ' घटनाको अनुसन्धान भइरहेको छ। प्रहरीको तर्फबाट पनि अनुसन्धान हुँदै छ,' डिएसपी बोगटीले भने

घटनाको अनुसन्धान गर्ने परिसरले एसपी अशोक सिंहको नेतृत्वमा छानबिन समिति समेत गठन गरेको छ। समितिले ड्युटीमा रहेका तीन जना प्रहरीलाई निलम्बन गरी अनुसन्धान गरिरहेको छ।

यस्तो घटना केही साता अघि ललितपुरको महानगरीय प्रहरी प्रभाग भैँसेपाटीमा पनि भएको थियो। थुनुवाकक्षबाट रुद्रलाल श्रेष्ठ र शम्शेर साह यसै गरी फरार भएका थिए। महाशाखाको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएपछि उनीहरूको भाग्दाको घटना बाहिर आएको थियो। उनीहरूले अदालतमा म्याद थप्न गएको समयमा ट्वाइलेटबाट योजनाबद्ध रूपमा साथीले राखेको ह्याक्सो ब्लेडले रड काटेर भागेका थिए।

त्यहाँ पनि प्रहरीले रड काट्दासम्म पत्तै पाएन। प्रहरी निलम्बनमा परे। प्रहरीले गरेको अनुसन्धानमा प्रहरीको ड्युटीमा लापरबाही गरेको देखियो।

हिरासतको क्षमताभन्दा बढी थुनुवा ?

नेपाल प्रहरीले एक वर्षमा ‍औषत ४० हजार मानिसलाई पक्राउ गर्छ। दैनिक देशभर ४ हजार थुनिने गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन्। २०७२ सालको भुकम्पछि काठमाडौँ परिसर र अपराध महाशाखा पालमुनी नै छन्। थुनुवालाई कोचाकोच गरेर राखेको छ। के भौतिक संरचना नै थुनुवाको लागि भाग्न उपयुक्त भएको हो? ' राजधानीमा थुनुवा क्षमतभन्दा बढी राख्नुपर्ने अवस्था छ। बाहिरका केही जिल्लामा भने यस्तो अवस्था छैन। एउटा पाटो भौतिक संरचना हो,’ डिआइजी पोखरेलले भने।

प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङक अनुसार गएको एकवर्षमा ३८ जना थुनुवा फरार भएको देखिन्छ। गत आइतबार मात्र झापामा अभद्र व्यवहारमा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी थुनामा रहेका दुई भारतीय नागरिक थुनाबाट भागेका थिए। भाग्नेमा २६ वर्षीय गणेश कामती र २८ वर्षीय कृष्ण मण्डल थिए। उनीहरूले हिरासतको ताल्चा फोडेर भागेका थिए।

देशभर प्रहरीका मुद्दा चल्ने २ सय १० वटा युनिटहरू छन्। प्रत्येक युनिटमा पाँच जनादेखि सय जनासम्म थुनुवा राख्न सक्ने क्षमताको हिरासत कक्ष छन्। सबैभन्दा धेरै महानगरीय प्रहरी परिसर काठमाडौँमा नै थुनुवा राख्ने गरिएको छ। परिसरमा कहिलेकाहीँ त थुनुवा राख्ने ठाउँ नभएर नजिकैका वृत्तमा समेत लैजाने गरिन्छ। ' कुनै चेक प्वाइन्ट थापेर अप्रेसन गरेको दिन त थुनुवा राख्ने ठाउँ समेत हुँदैन,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने।

त्यसो त अपराध महाशाखाका आफ्नो हिरासत कक्ष छैन। महाशाखाले पनि परिसरमा नै थुनुवा बुझाउनुपर्छ। प्रहरीको जनशक्ति र थुनुवाको वृद्धि र मानवीय लापरबाहीको कारण थुनुवा हिरासतबाट नै भाग्छन्। ‘ हिरासतबाट मात्र होइन अदालत लग्दा पनि भागेका छन्। त्यसमा प्रहरीलाई कामको लोडको कारण र चनाखो नहुनु पनि हो। भौतिक संरचनाले पनि सहयोग गर्छ,' डिएसपी बोगटीले भने।

प्रहरी हिरासतबाट भाग्ने थुनुवामा धेरै चोरीमा संलग्न रहेका छन्। ' भागेर कुनै अर्को चोरी गर्न पाइए धरौटीको बुझाउने रकम संकलन गर्ने दाउ भएको पाइएको छ,' एक अनुसन्धान अधिकृतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell