PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

धरहराको ठाउँमा 'झिल्के टावर' बन्न लागेको भन्दै स्थानीयको विरोध, 'नवनिर्माण होइन, पुनर्निर्माण गर'

धरहराको ठाउँमा 'झिल्के टावर' बन्न लागेको भन्दै स्थानीयको विरोध, 'नवनिर्माण होइन, पुनर्निर्माण गर'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं: धरहरा 'निर्माण' को विरोध गर्दै राजधानीमा अभियन्ताहरुले प्रदर्शन गरेका छन्। प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी केहीबेर झडपसमेत भएको थियो।

हाल बनिरहेको धरहरा भीमसेन थापाले बनाएको धरहरा जस्तै ऐतिहासिक नहुने भन्दै उनीहरुले पहिलादेखि नै विरोध गर्दै आएका थिए।

प्रधानमन्त्री केपी ओलीको विशेष रुचि रहेको धरहरा पुनर्निर्माणको हालसम्म करिब २० प्रतिशत काम सकिएको छ। पुनर्निर्माणमा परम्परागत तरिकाले नभइ कंक्रिटको प्रयोग गरी बनाइँदैछ।  हाल धरहराको फाउन्डेनस निर्माणको काम भइरहेको छ। 

तर, अभियन्ताहरुले भने अहिले बनिरहेको धरहरा 'पुनर्निर्माण' नभइ 'नवनिर्माण' मात्रै भएको तर्क गर्दै आएका छन्।  भीमसेन थापाले बनाएको धरहरा भत्किएपछि सरकारले सोही स्थानमा नभइ क्षति पुगेको  धरहराको अगाडि नयाँ धरहरा निर्माण गरिरहेको छ। भीमसेन थापाले निर्माण गरेको धरहरा ११ तले थियो। सन् १९९० मा गएको भूकम्पले त्यो धरहरामा क्षति पुग्यो। क्षति भएको धरहरा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले पुरानै शैलीमा बनाए। तर, ११ तलेको सट्टा ९ तले। यसपटक ओली सरकारले नयाँ स्वरुपमा धरहरा निर्माण गरिरहेको छ। 

यसपटक बन्ने नयाँ धरहरा न ११ तले हुनेछ न त ९ तले। भूकम्प प्रतिरोधात्मक धरहरा लिफ्टसहित २२ तले हुनेछ। पुरानो भत्किएको धरहराको बाँकी संरचना भने त्यहीँ रहनेछ।

पढ्नुस: २२ तले बन्दैछ 'नयाँ नेपालको नयाँ धरहरा': साढे तीन अर्बको प्रोजेक्ट

अभियन्ताहरुले भने नयाँ बनिरहेको धरहरालाई 'झिल्के टावर'को संज्ञा दिएका छन्। धरहरा निर्माणको विरुद्ध आन्दोलनको नेतृत्व गरिरहेका याद्धवलाल कायस्थ सरकारले धरहराको पुनर्निमाण भनेर विश्वलाइ झुक्याएर बेकारको झिल्के टावर नवनर्माण भइरहेको बताए। त्यसैले विश्वसामु धरहरा कसरी निर्माण हुँदैछ भनेर देखाउन विरोध प्रदर्शन गरेको उनले बताए।

उनले भने,'यहाँ भीमसेन थापाले बनाएको धरहराको पुनर्निर्माण होइन झिल्के टावरको नवनिर्माण भइरहेको छ। धरहरा निर्माणबाटै सरकारले यहाँका सम्पदाहरुलाई प्राथमिक्तामा नराखेको प्रस्ट हुन्छ।'

कायस्थले हाल धरहरा निर्माणका लागि भने लुँहिटी (सुनधारा) प्रवेशमा पनि ठूलै संघर्ष गर्ने परेको बताए। 

सरकारले अर्बौ खर्च गरेर काठमाडौंमा टावर नै टावर बनाउने लागेको भन्दै उनले भने, 'भीमसेन थापाले बनाएकै जस्तै धरहरा बनाए राम्रो हुन्छ। तर बाहिरबाट हेर्दा २२ भित्रबाट भने ११ तल्ले देखिने धरहरा त झिल्के टावर हो। पुरानो बसपार्क क्षेत्रमा पनि १९ तल्ले भ्यू टावर बनाउन लागिएको छ। टावरमात्रै बनाएर माथि बाट के घर नै घर देखाउने?'

सरकारले अनावश्यक लगानी गरेर व्यापारिक हिसावमा धरहरा निर्माण गरिरहेको भन्दै उनले बरु त्यही रकम यहाँको सम्पदा बनाउन खर्च गरेको भए राम्रो हुने तर्क गरे। 

स्थानीयले सुन्धारा क्षेत्रमा भूकम्प स्मारक बनाउनुपर्ने माग गर्दै आएका छन्। तर सरकारले भने त्यहाँ बहुउद्देश्यीय पार्क बनाउने तयारी गरिरहेको छ।

धरहरा निर्माणका क्रममा उपाकु जाने ऐतिहासिक बाटो बन्द गरिएकोमा पनि केही समय अगाडि स्थानीयले विरोध गरेका थिए। सो क्रममा उनीहरुले काठमाडौं मलबाट सुन्धारा प्रवेश गर्ने स्थानमा बनाएको टहरा भत्काइ खुल्ला गरेका थिए। हाल भने काठमाडौं मलको केही भाग हटाएर ऐतिहासिक बाटो खोल्ने तयारी भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell