PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

विराटनगरमा 'प्रेस पिट' गर्दै गजुरेल, 'पत्रकारसँग प्रभड्काले डिल गर्ने'



अनन्तराज न्यौपाने

विराटनगरमा 'प्रेस पिट' गर्दै गजुरेल, 'पत्रकारसँग प्रभड्काले डिल गर्ने'

विराटनगर: गाईजात्राका अवसरमा चर्चित व्यङ्ग्य कलाकार मनोज गजुरेलले शनिबार विराटनगरमा सरकारका तर्फबाट प्रेस मिट नभई ‘प्रेस पिट’ कार्यक्रम गर्ने भएका छन्।

‘प्रेस पिटमा सरकारका प्रवक्ता होइन प्रभड्काले डिल गर्नेछन्’, कलाकार गजुरेलले भने, ‘अर्थात् उनको कुरा सुनेपछि प्रतिपक्षी र अन्य पनि भड्किने छन्। त्यसैले प्रवक्ता होइन, प्रभड्का भनेको।’

नेपाल लिकर्सको उत्पादन सिग्नेचर प्रिमियमको प्रायोजन र ब्रान्ड वर्थ प्रा.लि.को आयोजनामा हुन लागेको कार्यक्रम देशभरिका सातै प्रदेशका राजधानीमा सञ्चालन गरिनेछ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा गजुरेलले भने, ‘यसको आरम्भ विराटनगरबाट गरेका हौँ। अब गाईजात्रा सङ्घीय राजधानी काठमाडौंमा मात्र सीमित हुनुहँदैन र यसको विस्तार मुलुकभरि हुनुपर्छ भन्ने अभियानमा हामी छौँ।’

काठमाडौंमा पनि भुइँचालो आएका वर्षदेखि गाईजात्राका कार्यक्रमहरू सेलाएजस्तो अनुभव भएको उल्लेख गर्दै उनले प्रज्ञा भवनको पुनर्निर्माणले पनि कार्यक्रमलाई असर पुर्‍याएको बताए।

‘तर हामी परम्परादेखि चलिआएको गाईजात्रालाई बन्द हुन दिँदैनौँ, बरु देशैभरि लैजान्छौँ’, उनले भने, ‘हाम्रा साथमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिङ्खडा, प्यारोडी गायक यमन श्रेष्ठ, क्यारिकेचरकर्ता सुबोध गौतम, सुरेन्द्र केसी, जोगिन्दर पानवाला, काउली बुढी लगायतका कलाकारको ठूलो समूह छ।’

ब्रान्ड वर्थका निर्देशक मोहन गजुरेलले विराटनगरमा जेसिसले स्थानीय आयोजकको भूमिका निर्वाह गरेको तथा मुलुकका अन्य भागमा कतै जेसिस र कतै लायन्स क्लबले सहयोग गरिरहेको जानकारी दिए।

विराटनगर जेसिसका अध्यक्ष सेबक बजगाईंले विराटनगरमा गरिने कार्यक्रममा ४ लाख रुपैयाँ खर्च हुने र यसको व्यवस्थापन टिकट विक्री र विज्ञापनबाट गरिने जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell