PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने पक्राउ



सविन ढकाल

पत्रकार पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछाने पक्राउ
फोटो:facebook.com/profile.php?id=100006065443699

काठमाडौँ: पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर आवश्यक अनुसन्धानको लागि प्रहरीले सञ्चारकर्मी रवि लामिछानेलाई नियन्त्रणमा लिएको छ।
 
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीको अनुरोधमा सञ्चारकर्मी लामिछानेलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी डिआइजी शैलेश थापाले जानकारी दिए। उनलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ। 'चितवन प्रहरीको अनुरोधमा उनलाई पक्राउ गरिएको हो,' डिआइजी थापाले भने। लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।

साउन २० गते राति नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारु होटेलको २०२ नम्बर कोठमा सञ्चारकर्मी शालिग्राम पुडासैनी मृत अवस्थामा फेला परेका थिए। होटलको कोठामा रहेको पङ्खामा डोरी लगाइ मृत अवस्थामा प्रहरीले फेला पारको थियो। मृतक पुडाशैनीको एउटा खुट्टाले होटलमा रहेको बेडमा हल्का टेकिएको थियो भने अर्को खुट्टाले भुई छोएको।

घटनास्थलमा भेटिएको मृतकको मोबाइलमा रहेको भिडियो बाहिरिएपछि प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो। मृत पुडासैनीले भिडियो आफ्नो आत्महत्याको कारण रवि लामिछाने र अन्य दुई जना भएको जानकारी दिएका थिए।

पत्रकार पुडासैनी करिव दुई महिना अगाडि न्यज २४ बाट प्रशारण हुने 'जनतासँग सीधा कुरा'मा कार्यारत थिए। दुई महिनायता भने पुडासैनी माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

बुधवार सार्वजनिक भएको भिडियोमा मृत पुडासैनीले रुँदै भनेका छन्, 'रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईंहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरुको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलोचाँडो दुनियाँले तपाईंको असली रुप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईंको पापको घडा भरिन्छ।' 

नुवाकोटको बेलकोटगढी नगरपालिका ३ घर भएका २७ वर्षीय पुडासैनीको मृत्युलाई अहिले रहस्यमय रुपमा हेरिएको छ। आत्महत्या की हत्या? हो भन्ने विषय खुल्न सकेको छैन। आत्महत्या भएको भए कसले र किन बाध्य पार्‍यो?  यस्ता प्रश्नको जवाफ प्रहरीले मात्र होइन आम मानिसले खोजी रहेका छन्।

तर भिडियोमा पत्रकार पुडासैनीले भने रवि लामिछाने लगायत टिमले एक युवती लगाएर आफू आत्महत्या गर्न बाध्य भएको जानकारी दिएका छन्।

गत वर्ष भदौ १ गतेदेखि लागू भएको कानुनमा आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्थासहितको मुलुकी अपराध संहिता ऐन, २०७४  ले गरेको छ।

तर संचारकर्मी लामिछानेले भने घटनामा आफ्नो कुनै पनि संलग्नता नभएको र भएको प्रमाणित भएमा हदैसम्मको कारबाहीको माग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell