PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रवि लामिछाने पक्राउ प्रकरणः प्रहरीमाथि पब्लिक प्रेसर कि यथेष्ट प्रमाण?



सविन ढकाल

रवि लामिछाने पक्राउ प्रकरणः प्रहरीमाथि पब्लिक प्रेसर कि यथेष्ट प्रमाण?

काठमाडौं: बिहीवार साँझ न्युज २४ टेलिभिजनको कार्यालयबाटै सञ्चारकर्मी रवि लामिछाने पक्राउ परे। उनीसँगै अर्का पत्रकार युवराज कँडेललाई पनि प्रहरीले समात्यो। सञ्चारकर्मी लामिछाने पक्राउ पर्नुको एउटै कारण थियो पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण।

साउन २० गते नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको २०२ नम्बर कोठामा सञ्चारकर्मी शालिकराम पुडासैनी मृत अवस्थामा फेला परेका थिए। प्रहरीले उनलाई होटेलको कोठा रहेको पंखामा डोरी लगाइ मृत अवस्थामा फेला पारेको थियो।

पत्रकार पुडासैनी करिब दुई महिना अगाडि लामिछानेले सञ्चालन गर्ने  न्युज २४ बाट प्रसारण हुने 'जनतासँग सिधा कुरा'मा कार्यरत थिए। दुई महिनायता भने पुडासैनी माउन्टेन टेलिभिजनमा ‘मिसन न्युज’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणमा रविको संलग्नता के थियो?

प्रहरीले लामिछानेलाई घटना भएको १० दिनपछि पक्राउ गर्नुको एउटै कारण थियो मृत्युअघि पुडासैनीले मोबाइलमा गरेको भिडियो रेकर्ड। प्रहरीले घटनास्थलबाट फेला पारेको भिडियोमा पुडासैनीले रुँदै भनेका छन् 'रवि दाई, मलाई मर्न बाध्य बनाएकोमा तपाईँहरूलाई पाप लाग्छ। केही केही दीनदुःखीको उद्धार पनि गर्नुभयो, तर अरूको प्रगति देख्न सक्नुभएन। दुनियाँलाई थर्काउनुभयो, ढिलो चाँडो दुनियाँले तपाईँको असली रूप देख्नेछ। मसँग प्रमाण छ, आज नभए पनि भोलि तपाईँको पापको घडा भरिन्छ।'

भिडियोमा उनले आफू आत्महत्या गर्नुको कारण रवि लामिछाने भएको दाबी गरेका थिए। मर्नुअघि छोडेर गएको भिडियो संवाद नै रविलाई हत्कडीसम्म पुर्‍याउने प्रमाण बन्यो। मृत्यु भएको समयमा नै प्रहरीले भिडियो हात पारिसकेको थियो। प्रहरीलाई मात्र होइन भिडियो भएको कुराकानीका केही अंशलाई लिएर समाचार समेत आएका थिए। आत्महत्याको कारण रवि भएको ट्याग लागिसकेको थियो।

तर चितवन प्रहरीले साउन २१ गते विज्ञप्ति निकाल्दै अनलाइनमा आएका समाचार अफवाहपूर्ण र अनुसन्धानलाई प्रभावित पार्ने भन्दै ध्यानाकर्षण गरायो। रविलाई बचाउन खोज्यो वा आफ्नो अनुसन्धानलाई भीडले प्रभावित पार्ने बुझ्यो?

आत्महत्या नभई हत्या भएको भन्दै परिवारले आशंका व्यक्त गरेपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो। प्रहरीका लागि पहिलो अनुसन्धान त भिडियोबाट नै हुनुपर्ने थियो। किन कि भिडियोमा स्पष्ट रविलाई किटानी गरेको थियो। तर घटनाको १० दिनसम्म प्रहरीले रविका बारेमा चुइँक्क बोलेन। बरु प्रहरी घटना सामसुम पार्नेतिर नै लागेको थियो। प्रहरी उच्च स्रोतले घटना सामसुम भएको संकेत पहिलोपोस्टसँगको कुराकानीमा गरेको थियो।

के पब्लिक प्रेसरसँग डरायो प्रहरी?   

बुधबार एक्कासी प्रहरीले घटनास्थलबाट पुडासैनीको मोबाइलमा प्राप्त गरेको भिडियो बाहिरियो। रुँदै पुडासैनीले दिएको भिडियो भाइरल भएपछि प्रहरी फेरि सोच्न बाध्य भयो। सामाजिक सञ्जालमा रविलाई पक्राउ गर्न माग गरेपछि प्रहरी युटर्न हुन पुग्यो। यतिसम्म कि भिडियो सार्वजनिक भएको २४ घण्टा पनि प्रहरीले प्रेसर थेग्न सकेन। २४ घण्टा नबित्दै भिडियोमा नाम लिइएकी अस्मिता कार्की पक्राउ परिन्।

प्रहरीको दाबी भने थप प्रमाण संरक्षणका लागि पक्राउ गरिएकोमा छ।

युवती कार्की पक्राउ परेको केही घण्टामा नै रवि पक्राउ परे। आखिर प्रहरीले पब्लिक प्रेसर खेप्नै सकेन। प्रहरीले भिडियो हेरेपछि दश दिनअघि नै सामान्य अनुसन्धान गरेको थियो। तर यथेष्ट प्रमाण केही थिएन। दश दिनसम्म त्यही भिडियो हेरेर बसेको प्रहरीले भिडियो सार्वजनिक भएपछि के त्यस्तो प्रमाण फेला पार्‍यो? जसले रविलाई समाउन बाध्य भयो?

बिहीवार रविलाई पक्राउ गर्ने प्रहरी जरुरी पक्राउ पुर्जी लिएर पुगेको थियो। कुनै पनि व्यक्तिलाई आकस्मिक पक्राउ गर्नुपरे त्यस्तो पुर्जी लिएर प्रहरी पुग्ने गर्छ। रविको संलग्नता के कति खुल्छ खुल्दैन अर्को पाटो तर प्रहरीले पब्लिक प्रेसरमा नै काम गरे अनुसन्धान के होला?

'प्रहरीले जोखिमपूर्ण तरिकाले काम गर्दै गएको छ। प्रमाणमुखी नभई अनुसन्धान गर्दै जाने हो भने यो सबैभन्दा डरलाग्दो कुरा हो। प्रहरीले आफ्नो अनुसन्धानमा पब्लिकबाट प्रेरित भएर गर्नु हुँदैन', पूर्वडिआइजी हेमन्त मल्ल ठकुरी भने।

२०७५ साउन ११ गते कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले पब्लिक प्रेसरमा नै काम गर्‍यो। भीडबाट आएको आवाजलाई लिएर बाध्य भएर प्रहरीले जिल्लामा खटिएका एसपी डिल्लीराज विष्ट र उनका छोरा किरण विष्टको डिएनए परीक्षण गर्नसम्म प्रहरी पछि परेन। जबकि निर्मला प्रकरणमा एसपी विष्टले घटनामा लापरवाही गरेको मात्र देखिएको थियो।

'हामीलाई थाहा थियो तर के गर्नु पब्लिकबाट आवाज उठेपछि शान्त पार्न डिएनए परीक्षण गरेको हो। हामीलाई पनि दुःख त लागेको थियो', प्रहरीका एक उच्च अधिकारीले नाम नबताउने सर्तमा भनेका थिए।

अन्ततः एसपी विष्ट र उनका छोराको डिएनए मिलेन। पछिल्लो समय प्रहरी प्रमाणमुखी अनुसन्धानमा भन्दा प्रचारमुखीतिर लक्षित हुँदै गएको देखिन्छ। 'अनुसन्धानमा प्रहरीले पब्लिकको प्रेसरमा मात्र गयो भने अनुसन्धानले सही निष्कर्ष दिँदैन,' पूर्वडिआइजी ठकुरीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell