PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नक्कली फेसबुक आइडीकै भरमा ८ सयभन्दा धेरैलाई ठग्ने नटवरलाल अन्तत: प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

नक्कली फेसबुक आइडीकै भरमा ८ सयभन्दा धेरैलाई ठग्ने नटवरलाल अन्तत: प्रहरी नियन्त्रणमा

काठमाडौं : वैदेशिक रोजगारीमा लैजाने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोसाकमा खटिएको टोलीले मोरङ उर्लावारी नगरपालिका वडा नम्बर ७ बरगाछी बस्ने ३५ वर्षीय रामबहादुर खड्कालाई नियन्त्रणमा लिएको हो।

खड्काले महेशजंग थापा, विश्वजीत थापा, आरभ थापा, उज्ज्वल थापा, प्रवीण थापा नाम गरेको फेसबुक आइडी बनाएर क्यानडा लग्ने भन्दै ठगी गरेको अनुसन्धानमा देखिएको डिएसपी मोहन थापाले जानकारी दिए। उनले सन् २०१२ देखि नै ५ वटा फेक फेसबुक एकाउण्ट खोली गैर आवासीय नेपाली संघका विभिन्न गतिविधिहरू पोस्ट गर्ने गरेको समेत देखिएको छ। आफ्नो मिल्दोजुल्दो हुलिया भएको क्यानडामा बस्ने युवकको फोटोहरू आफ्नो फेक वालमा अपलोड गरी अधिकांश स्टाटस तथा फोटोहरू टोरन्टो,क्यानडा बाट र विभिन्न युरोपियन तथा अमेरिकन मुलुकहरूमा भ्रमण गरेको भान पार्ने गरेको अनुसन्धानमा खुलेको छ।

सन् २०१२ देखि हालसम्म करिब ८ सयभन्दा बढी व्यक्तिहरूलाई ठगी गरेको हुनसक्ने प्रहरीको अनुमान गरेको छ। उनी विरुद्ध इलाका प्रहरी कार्यालय अनारमनी, दमक, धुलाबारी र काँकडभिट्टामा उजुरी दिनेहरूको सङ्ख्या १०० भन्दा माथि रहेको डिएसपी थापाले जानकारी दिए।

प्रत्येक व्यक्तिबाट उनले क्यानडाको लागि दुई लाख रुपैयाँ लिने गरेको देखिएको हो। पीडित व्यक्तिहरूलाई दिल्लीस्थित क्यानडा दूतावासमा अन्तर्वार्ता दिन को लागि भारत सिलीगुडीको बागडोरा एयरपोर्टबाट दिल्ली जानुपर्छ भन्दै लैजाने र अलपत्र पार्ने गरेको देखिएको छ। सीमापारा पानीटंकी पुगेपछि अन्तर्वाताका लागि फ्रेस हुनको लागि सैलुनमा कपाल काट्न, फेसवास गर्न पठाउने र त्यहीँ पीडितहरूले ल्याएको पैसा मागी भारतीय मुद्रा (भारु)साटेर आउँछु भनेर फरार हुने गरेको देखिएको छ।

१४ वर्षदेखि क्यानडा बस्दै आएको बताउने उनले उनका बाबु बिरामी परेकाले उपचारको लागि क्यानडा नै लैजानका लागि नेपाल आएको दावी गर्थे। भारतको सिलिगुडीमा बाबुको उपचार गराइरहेकाले क्यानडा लैजाँदा पीडित व्यक्तिहरूलाई स्पोन्सर भिसाको व्यवस्था गराई साथै लैजाने प्रलोभनमा पार्ने गरेको खुलेको हो।

खड्का सिलगुडीमा फ्ल्याट लिएर बस्दै आएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell