PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काबुलमा बिहेमा भएको आत्मघाती विस्फोटमा ६३ जनाको मृत्यु, १ सय ८२ जना घाइते



काबुलमा बिहेमा भएको आत्मघाती विस्फोटमा ६३ जनाको मृत्यु, १ सय ८२ जना घाइते

काबुलः युद्धग्रस्त अफगानिस्तानको राजधानी काबुलमा भइरहेको एउटा वैवाहिक समारोहमा शनिबार राति भएको आत्मघाती विस्फोटमा ६३ जनाको मृत्यु भएको छ। विस्फोटमा १८२ जनाभन्दा बढी घाइते भएका छन्। उक्त आत्मघाती विस्फोटको अघिल्लाे दिन पाकिस्तानको एउटा मस्जिदमा प्रार्थनाका बेला भएको आक्रमणमा अफगानिस्तानको लडाकु समूह तालिबानका नेता हैबातुल्कालाह अखुन्जादाका भाइ समेत मारिएको अलजजिराले जनाएको थियो।

केही महिनायता अफगानिस्तानमा भएका शृंखलाबद्ध विस्फोटमध्ये यो निकै भयावह रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा विस्फोटबाट बिहेमा सहभागी ६३ जना मारिएका र १८२ जना घाइते भएको उल्लेख छ।

उक्त विस्फोट राजधानी काबुलको पश्चिममा रहेको शियाबहुल भूभागमा भएको थियो। अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानले भने आफूले उक्त आक्रमण नगराएको जनाएको छ।

अमेरिका-तालिबान समूहबीच अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता गर्ने सम्बन्धी सम्झौताबारे सहमति नजिक पुगेकै बेलामा राजधानी काबुलमै यस्तो भयावह आत्मघाती आक्रमण भएको हो।

अफगान गृह मन्त्रालयका प्रवक्ता नसरत राहिमीले आक्रमणबाट कम्तीमा ६३ जना मारिएको र १८२ जना घाइते भएको पुष्टी गरे। राहिमीले अधिकांश घाइतेहरु महिला र बालबालिका रहेको पनि जानकारी दिए।

अफगानिस्तानमा भव्य रुपमा बिहे गर्ने गरिन्छ। बेहुला बेहुलीको आर्थिक स्तर अनुसार सयौं, हजारौं मानिस विवाह समारोहमा सहभागी हुने प्रचलन छ। विवाहमा सामान्यतया पुरुष र महिलाहरु अलगअलग ठाउँमा बसेर घण्टौं नाचगान र खानपिन गर्छन्।

शनिबार रातिको आत्मघाती आक्रमणमा भएको क्षति निकै कहालीलाग्दो थियो। समारोहस्थल रगतमा लतपतिएको, मानिसका क्षतविक्षत भएका अंगहरु, यत्रतत्र छरिएका पोसाक, टोपी, चप्पल र खानेपानीका बोतल देखिन्थे।

यो वैवाहिक समारोह अफगानिस्तानका अल्पसंख्यक शिया समुदायको थियो। शिया समुदायमाथि सुन्नीबहुल अफगानिस्तानमा आक्रमण भइरहन्छ। खासगरी इस्लामिक स्टेट समूहले शिया समुदायमाथि निर्मम आक्रमण गर्ने गरेको छ। काबुलमा पनि निकै सक्रिय इस्लामिक स्टेटले विस्फोटबारे कुनै प्रतिक्रिया दिएको छैन।

विवाह समारोहमा सहभागी एक प्रत्यक्षदर्शी मोहम्मद फरहागले विस्फोट हुँदा आफू महिलाहरु रहेको हलतर्फ भएकाले बाँचेको बताए। फरहागले एएफपीसँग पुरुषहरु रहेको हलतर्फ विस्फोट भएको र मानिसहरु चिच्याउँदै, रुँदै र कराउँदै हल बाहिर निस्केको बताए।

'विस्फोटको करिब २० मिनेटसम्म बिहे हल पूरै धुँवाको मुस्लोले भरिएको थियो, पुरुषहरु बसेका हलभित्रका सबैजसो मारिएका वा घाइते भएका थिए', फरहागले भने। विस्फोटको २ घण्टापछि घटनास्थलबाट सुरक्षाकर्मीले शव निकाल्न थालेका थिए।

वैवाहिक समारोहमा सुरक्षाको खासै प्रबन्ध नगरिने भएकाले पनि यस्ता आक्रमण गर्न सहज छ। गत जुलाई १२ मा पूर्वी नान्गरहार प्रान्तमा भएको यस्तै एउटा वैवाहिक समारोहमा आक्रमण हुँदा कम्तीमा ६ जना मारिएका थिए। उक्त आक्रमणको जिम्मेवारी भने इस्लामिक स्टेटले लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell