PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ढाकाकाे सुकुम्बासी बस्तीमा भीषण आगलागी, १० हजार घरबारविहीन



ढाकाकाे सुकुम्बासी बस्तीमा भीषण आगलागी, १० हजार घरबारविहीन

ढाका: बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रवार रातिको भीषण आगलागीबाट १० हजारभन्दा बढी मानिस घरबारविहीन भएको बंगलादेशी अधिकारीहरुले बताएका छन्।

ढाका नजिकै रहेको मिरपुरमा शुक्रबार राति भएको उक्त आगलागीमा जस्तापाताले छाएका करिब २ हजार घर खरानी भएको अग्नि नियन्त्रण विभागका एर्शाद हुसेनले बताए।

बस्तीभित्र चिया पसल चलाएर गुजारा गर्दै आएका ५८ वर्षीय अब्दुल हमिदले आफूले एउटा पनि सामान बाहिर निकाल्न नपाएको गुनासो गरे। अश्रुपुरित स्वरमा उनले भने, 'मेरो केही रहेन। अब के गर्ने होला?'

अग्निनियन्त्रकहरुले लामो प्रयासपछि आगो निभाएका ल्याएका थिए र घटनामा मानवीय क्षति भने भएको थिएन। तर धेरै मानिस घाइते भने भएका थिए।

उक्त बस्तीमा सामान्यतया न्यून आय भएका तयारी पोसाक उद्योगमा काम गर्ने मजदूरहरु बसेका थिए। मुस्लिम समुदायको महत्वपूर्ण चाड ईद अल–अदामा सहभागी हुन आफ्ना गाउँघर गएकाले आगलागीका दिन बस्तीमा थोरै मात्र मानिस बसेका थिए।

स्थानीय प्रहरी प्रमुख गुलाम रब्बानीले बस्ती खाली नभएको भए ठूलै मानवीय क्षति हुने सम्भावना रहेको बताए।

निकै भीडभाड भएको उक्त बस्तीमा १० हजारभन्दा बढी मजदूरको बसोबास थियो। बस्तीसँगै रहेको स्कुल पनि ईदका कारण ५ दिनका लागि छुट्टी थियो।

'हामीले बस्तीमा रहेका मानिसलाई खाना, पानी, घुम्ती शौचालय र बिजुलीको आपूर्ति व्यवस्था गरेका छौं,' मिरपुर नगरका कर्मचारी शफिउल आजमले बताए। उनले बस्तीका मानिसलाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन नगरले प्रयास गरिरहेको जानकारी दिए।

केही परिवारले भने वर्षाबाट जोगिन पाल टाँगेर बसेका छन् तर भुइँमा चिस्यान बढी भएकाले जमिन पूरै हिलाम्मे छ। सुरक्षाविदहरु सुरक्षा व्यवस्थामा कडाई नगर्दा बंगलादेशमा आगलागीका घटना बारम्बार भइरहने गरेको बताउँछन्।

यसै वर्षमात्र त्यहाँ भएका आगलागीमा कम्तीमा पनि सय जनाले ज्यान गुमाइसकेका छन्। सन् २०१२ मा ढाका नजिकै नौतले गार्मेन्ट कारखानामा भएको भीषण आगलागीमा परेर १११ जना कामदारको मृत्यु भएको थियो। उक्त घटना पश्चात् गठित छानबिन समितिले कारखाना व्यवस्थापनको चरम लापरवाहीले मजदूरहरुको ज्यान गएको निष्कर्ष निकालेको थियो।

सन् २०१० मा निम्तोलीस्थित बस्तीमा भएको अर्को त्यस्तै भीषण आगलागीमा १२३ जनाको ज्यान गएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell