PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आत्महत्याको ग्राफमा झुन्डिनेको सङ्ख्या किन बढी?



पहिलोपोस्ट

आत्महत्याको ग्राफमा झुन्डिनेको सङ्ख्या किन बढी?

काठमाडौं‌: आज बिहान स्वयम्भुमा एक युवक मृत अवस्थामा फेला परे। मृत अवस्थामा फेला परेका उनी प्रहरी भएको खुल्यो। २६ वर्षका शंकर ठगुन्ना महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत प्रहरी जवान हुन्।

उनको घाँटीमा पासो थियो तर पासो चुँडिएर उनी भुँईमा लडेका थिए। त्यसपछि प्रहरीलाई नै शंसय भयो- आखिर त्यो हत्या कि आत्महत्या? 

प्रहरीले कोठामा सँगै बसेकी महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। दार्चुला घर भएका जवान ठगुन्ना केही वर्षदेखि सोही महिलासँग 'लिभिङ रिलेसन'मा थिए। प्रेमिकासँग विवाद चर्किएपछि घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

‘खबर आए लगत्तै घटनास्थल पुग्यौं। पासो लगाएको डोरी काटेर शब खाटमा लडाएको अवस्था थियो,‘ महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीले बताए। 

झुन्डिएर आत्महत्या गर्नेको यो त एउटा उदाहरण मात्र हो। केही दिनअघि मात्र पत्रकार शालिग्राम पुडासैनी झुन्डिएको अवस्थामा फेला परे।साउन २० गते राति नारायणढस्थित एक होटलमा शालिग्रामको शब भेटिएको हो। होटलको कोठामा रहेको पङ्खामा पासो लगाएका उनको एउटा खुट्टा खाटमा टेकिएको थियो भने अर्को खुट्टाले भुई छोएको थियो।

उनको मृत्यु पनि हत्या कि आत्महत्या भन्नेमा शंकास्पद् छ। उनी मृत अवस्थामा फेला पर्नु अघि रेकर्ड गरेको भिडियोको गत बिहीवार सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। 

त्यस्तै गत शनिवार ३८ वर्षीया दिलकुमारी गुरुङले सुन्धारास्थित नागराज होटलबाट हाम फालिन्। उनको मृत्युपनि शंकास्पद् रहेकाले प्रहरीको अनुसन्धान जारी छ। 

नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्लो प्रत्येक वर्ष ५ हजार मानिसले आत्महत्या गरेको देखिन्छ।

आर्थिक वर्ष २०७३/७४ मा ५ हजार १ सय २४ जनाले आत्महत्या गरेका थिए। आर्थिकवर्ष २०७४/७५ मा आत्महत्याको सङख्या झनै उकालो लाग्यो, ५ हजार ३ सय १७ पुग्यो। आर्थिक वर्ष २०७५\७६ मा ५ हजार ७ सय ५४ हुन पुग्यो।

प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा धेरै मानिस झुन्डिएर आत्महत्या गर्ने गरेको देखिएको छ। करिब ७५ प्रतिशत भन्दा बढी मानिसले झुन्डिएर आत्महत्या गर्ने गरेका छन्। गएको आर्थिक वर्षमा ४ हजार ३ सय १२ जना मानिसले झुन्डिएर आत्महत्या गरेका थिए।

मनोविद् गोपाल ढकालका अनुसार पासो लगाउनु आत्महत्या गर्नेहरुको सजिलो विकल्प बनेको देखिएको छ। पहुँच र गोपनीयताको हिसाबले सहज भएका कारण झुन्डिनुलाई माध्यम बनाएको उनको तर्क छ।

१ हजार ३ सय २० जना मानिसले विष खाएर आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ। एकवर्षमा एक जनाले विष्फोटक पदार्थ प्रयोग गरि आत्महत्या गरेका थिए। विस्फोटक पदार्थको कारण आत्महत्या गर्नेको सङ्ख्या अपवादमानै पर्ने गरेको प्रहरीले जनाएको छ। 

तीन वर्ष यताका प्रहरी तथ्याङ्क हेर्दा हाम फालेर आत्महत्या गर्नको ट्रेन्ड भने घट्दो छ। आर्थिक वर्ष २०७३/७४ मा ७० जनाले हाम फालेर देह त्याग गरेका थिए। दुई वर्षपछि यो सङ्ख्या घटेर ४८ मा पुगेको छ।

शरिरमा करेन्ट लगाएरपनि मानिसले आत्महत्या गर्ने गरेका छन्। तीन वर्षमा ९ जनाले करेन्ट लगाएर आत्महत्या गरेको प्रहरीको तथ्याङकले देखाएको छ।  

आत्महत्या गर्ने ८० प्रतिशत डिप्रेसनमा हुने मनोविद् ढकालले बताए। मनोरोग, चरम् निराशा, आवेग, क्षणिक अवस्था सम्हाल्न वा स्वीकार्न नसक्नु आत्महत्याको कारण बनेको बताउँछन् उनी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell