PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कंगनाले जस्तो पारिश्रमिक पाउँदिन् त्यसैले मलाई 'सस्ती कपी' भनिएको होला : तापसी पन्नु 



 कंगनाले जस्तो पारिश्रमिक पाउँदिन् त्यसैले मलाई 'सस्ती कपी' भनिएको होला : तापसी पन्नु 
फोटो : Taapsee Pannu/ Instargam

बलिउड अभिनेत्री तापसी पन्नू अभिनित फिल्म मिसन मंगलले भारतीय बक्स अफिसमा धमाल मच्चाइ रहेको छ। मल्टिस्टारर फिल्ममा तापसीसँगै विध्या वालन, सोनाक्षी सिन्हा, अक्षय कुमारको मुख्य भूमिका रहेको छ। यसैबीच केही समयअघि फिल्म प्रमोसनको दौरान अभिनेत्री कंगना रनावतकी बहिनी रंगोलीले तापसीले कंगनाको 'सस्ती कपी' गरेको भन्दै आलोचना गरेकी थिइन्। जवाफमा तापसीले आफू नकारात्मक कुराहरुमा ध्यान नदिने बताएकी थिइन्। 

मिसन मंगलको प्रोमोशनमा व्यस्त तापसीलाई फेरि बलिउड क्वीनको संज्ञा पाएकी कंगनासँग तुलना गरिएको बारेमा प्रश्न गरिएको थियो। तापसीले नवभारत टाइम्सका पत्रकारको प्रश्नमा भनिन्,' त्यो मेरो जन्मदिनको कुरा हो। एकजना पत्रकारले एउटा लेखमा मलाई बलिउड क्वीनको संज्ञा दिनु भयो। तर किन दिनु भयो त्यो मलाई थाहा छैन्। अब उहाँलाई मसँग प्रेम छ या कंगनासँग दुष्मनी त्यो त उहाँलाई नै थाहा होला। तर मलाई लाग्यो उहाँले त मलाई कपी नै बनाउनु भयो। अनि मैले ट्वीट गर्दै मलाई अरुसँग तुलना नगर्न र क्वीन नबनाउन आग्रह गरे।'
 
कंगनाकी बहिनी रंगोलीले तापसीलाई 'सस्ती कपी' भनेपछि सामाजिक संजालमा त्यसको धेरै आलोचना भयो। यता, तापसीलाई भने सो कुरा सुनेर साह्रै हाँस उठेछ। मध्यम वर्गिय परिवारबाट संघर्ष गर्दै बलिउड सम्मको यात्रा तय गरेकी तापसी भने रंगोलीले प्रयोग गरेको भाषा ठिक नभएको बताउँछिन्। 

भन्छिन्, ' मेरो कर्ली कपाललाई लिएर कपीको संज्ञा दिइएको हो कि मेरो इमान्दारीता ? मैले कंगनाको कपी कहाँ गरें भन्ने बारेमा धेरै सोचें। म आफ्नो इमान्दारीताको लागि कहिल्यै पनि माफी माग्दिन्। मलाई 'सस्ती' यस कारणले भनिएको होला किनकि म कंगनाको जस्तो धेरै पारिश्रमिक पाँउदिन्। कंगनाले बारम्बार आफूले धेरै पारिश्रमिक पाएको खुलासा गर्दै आएकी छिन्। धेरै पटक मलाई मानिसहरुले कंगना र मेरो बीचमा के भिन्नता छ भन्दै प्रश्न गर्नुहुन्छ।'
 
बलिउडमा नयाँ कलाकारलाई संघर्ष गर्न गाह्रो रहेछ। तापसीले पनि बलिउडमा धेरै संघर्ष गर्नुपर्‍यो। उनी एउटा घटना सुनाउँछिन्,' केही समय अघि मलाई एकजना फिल्म मेकरले एउटा फिल्मको स्क्रिप्ट सुनाउनु भयो र मलाई स्किप्ट निकै मनपर्यो। म त्यो फिल्ममा अभिनय गर्न चाहन्थे। तर म महिला भएकै कारणले मलाई त्यो फिल्ममा लिड रोलमा लिइएन्। महिला लिड रोलमा भयो भने फिल्मको लगानी नउठ्ने कारण देखाउदा मलाई ठुलो झट्का लागेको थियो। यसरी बजेटको कारण देखाउँदै मेरो हातबाट फिल्म खोसियो।'
 
कंगनाले बलिउडमा परिवारवाद हावी भएको भन्दै आवाज उठाइरहँदा भने यता बलिउडबाट निकै टाढा रहेको पन्नु परिवारबाट तापसी बलिउडमा स्थापित भइसकिन्। तर पनि कंगनाकै बहिनाबाट 'सस्तो कपी' भनेपनि तापसी संघर्ष गर्दैछिन्। अभिताभ बच्चनसँगै तापसीले अभिनय गरेको फिल्म 'पिंक' र 'बदला' त्यसका उदाहरण हुन्। दर्शकहरु यी चलचित्रमा तापसीलाई निकै मनपराए।  उनी अभिनित फिल्म 'सांड की आँख' को ट्रेलर हेरेपछि धेरैले त्यसलाई बहुप्रतिक्षित फिल्मको संज्ञा दिएका छन्। 

यसैबीच सत्य घटनामा आधारित भारतको पहिलो स्पेस फिल्म 'मिसन मंगल' मा 'लिड रोल' मा देखिएकी तापसीको भूमिकाको प्रशंसा गरेका छन्। यता, तापसी भने सकारात्मक सोच राख्दै राम्रो अभिनय गर्ने तर्फ केन्द्रित रहेको बताउँछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell