PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आफ्नै कामको मूल्याङ्कन कसरी गर्लान् ने क पाका मन्त्रीहरुले?



कुञ्जरमणि भट्टराई

आफ्नै कामको मूल्याङ्कन कसरी गर्लान् ने क पाका मन्त्रीहरुले?

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)ले लामो कसरतपछि ३२ केन्द्रीय विभागको टुंगो लगायो। शुक्रबार बसेको ने क पा सचिवालय बैठकले विभागको टुंगो लगाउँदै नेता वामदेव गौतमतलाई संगठन विभागको जिम्मा मात्र दिएन, नयाँ उपाध्यक्ष पदको सिर्जना गरी थप कार्यभार दिने निर्णय पनि गर्‍यो। कतिपय राजनीतिक विश्लेषकहरुले यसलाई रणनीतिक रुपमा चालिएको कदमका रुपमा व्याख्या गरेका छन्। अध्यक्षद्वय केपी शर्मा ‌ओली र पुष्प कमल दाहाल 'प्रचण्ड'ले वामदेव गौतमलाई रिझाउनका लागि उपाध्यक्ष पद दिएको उनीहरुको टिप्पणी छ।

ने क पामा लामो समय विवादित बनेको स्कुल विभागको जिम्मेवारी रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। केही नेताहरुले स्कुल विभागको दावी गरेका थिए। अन्तत: जिम्मेवारी मिल्यो पोखरेललाई।

अधिकांश मन्त्रीहरुले विभागीय प्रमुखको जिम्मेवारी पनि पाएका छन्। अधिकांश मन्त्रीहरुलाई मन्त्रालय अनुसारकै विभागको जिम्मेवारी समेत दिइएको छ।

ने क पाको नियमावलीमा ३२ वटै विभागले गर्ने काम उल्लेख छ। विभागको काम सम्बन्धित क्षेत्रमा भएका समस्याको पहिचान गरी प्रतिवेदन तयार गर्नुपर्ने, सुझाव पेश गर्नुपर्ने लगायत छ।

यसरी हेर्दा हाल मन्त्रालय सम्हालिरहेका मन्त्रीहरुले विभाग प्रमुखको जिम्मेवारी बहन गर्दा आफ्नै कामको समीक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको छ। अधिकांश मन्त्रीहरुले आफ्नो कामको समीक्षा चाहिँ कसरी गर्लान त?

अधिकांश वाहलवाला मन्त्रीहरुलाई विभागीय प्रमुखको जिम्मेवारी दिँदा उहाँहरुले आफ्नै कामको समीक्षा गर्नु पर्ने भयो नि होइन त भन्ने जिज्ञासामा ने क पाका प्रवक्ता एवं प्रचारप्रसार विभाग प्रमुख नारणकाजी श्रेष्ठले यस भने, 'यो पार्टीले गरेको निर्णय हो। यस विषयमा पार्टीमा छलफल नभएको होइन। तर, एकीकरणका काम छिटो टुंग्याउनका लागि पार्टीले जिम्मेवारी दिइएको छ। यस्ता विषयहरुमा पछि समीक्षा गर्दै जाने भन्ने कुरा हो।'

ने क पाले गृहमन्त्री रामबहादुर थापालाई राजकीय मामला तथा सुशासन विभाग, रक्षामन्त्री ईश्वर पोखरेललाई स्कुल विभाग, पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई निर्वाचन विभाग, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सामान्य प्रशासन विभागको जिम्मेवारी दिएको छ।

त्यस्तै, शिक्षा तथा मानव श्रोत विभाग शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्री रघुवीर महासेठ तथा खानेपानी मन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाई विभाग, वर्षमान पुनले जलश्रोत, सिंचाई तथा उर्जा विभाको जिम्मेवारी पाएका छन्।

त्यस्तै, पर्यटन प्रवर्द्धन विभाग पर्यटन मन्त्री योगेश भट्टराईलाई, मन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभाग, कृषि मन्त्री चक्रपाणी खनालालाई कृषि तथा भूमिसुधार विभाग, वन मन्त्री शक्तिबहादुर बस्नेतलाई वन तथा वातावरण विभागको जिम्मेवारी दिइएको छ।

लामो समयपछि विभागहरुले नेतृत्व पाएका छन्। तर मन्त्रीहरुलाई नै विभागको जिम्मा नदिएको भए ठीक हुनेथियो भन्नेहरु पनि उत्तिकै छन् ने क पामा। पक्षमा बोल्नेहरु पनि उत्तिकै छैन। ने क पाका एक नेताले भने, 'सम्बन्धित मन्त्रालयको जिम्मेवारी दिँदा काममा सहज हुन्छ भन्ने हिसाबले पनि बुझ्नुपर्दछ। सम्बन्धित क्षेत्रका विषयमा अरु भन्दा धेरै ज्ञान पनि हुन्छ।'

ने क पाका वाहलवाल मन्त्रीहरु जसले विभागीय प्रमुखको जिम्मेवारी पाएनन्

केही मन्त्रीहरुले भने यस्तोखाले सुविधा पाएनन्। मन्त्रालयको नेतृत्व गरे पनि उनीहरु भने विभागको नेतृत्वमा रहेनन्। मन्त्री थममाया थापा, भानुभक्त ढकाल, गोकुल बाँस्कोटा, युवराज खतिवडा र पद्माकुमारी अर्यालले भने दोहोरो जिम्मेवारी पाएनन्।

दुईवटा विभागमा मात्र महिला नेतृत्व

ने क पाले ३२ विभागमध्ये मात्र २ वटा विभागीय प्रमुखको जिम्मेवारी महिलालाई दिएको छ। जसमा उद्योग तथा वाणिज्य विभाग राधा ज्ञवाली र खानेपानी तथा सरसफाई विभागको जिम्मेवारी मन्त्री विना मगरलाई दिएको हो।

उपप्रमुखमा महिलाको संख्या बढी छ। सामान्य प्रशासनमा उपप्रमुख रेखा शर्मा, स्वास्थ्य तथा जनसंख्या विभाग उपप्रमुख अन्जना विसंखे, स्थानीय विभाग उपप्रमुख उर्मीला अर्याल, खानेपानी तथा सरसफाई विभाग उपप्रमुखको जिम्मेवारी ममता गिरीलाई दिइएको छ।

जिल्लाको सह-इन्चार्ज, विभागका उपप्रमुख

प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसमेत रहेका अरुण नेपाललाई ने क पाले सिन्धुपाल्चोक जिल्लाको सह-इन्चार्ज तोकेको छ। उनले आफू घटुवामा परेको भन्दै अन्तुष्टि जनाएका थिए। अन्तत: ने क पाले उनलाई विज्ञान तथा प्रविधि विभागको उपप्रमुखको जिम्मेवारी दिएको छ।

पछिल्लो जिम्मेवारीपछि उनले पहिलोपोस्टसँग भने, 'पार्टीले वरियताक्रमको आधारमा निर्णय गर्नुपर्छ भन्ने माग थियो। त्यसैका आधारमा गरिएको निर्णय त मान्य हुन्छ।'

यद्यपि, जिल्ला सह इञ्चार्ज के हुने भन्ने विषयमा भने उनै न बेखबर रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell