PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

जम्मू कश्मीरमा प्राथमिक विद्यालय खुल्न थाले, विद्यार्थीको उपस्थिति भने न्यून



जम्मू कश्मीरमा प्राथमिक विद्यालय खुल्न थाले, विद्यार्थीको उपस्थिति भने न्यून
फोटो :EPA

श्रीनगर :भारत प्रशासित जम्मू कश्मीरलाई दिइएको विशेषाधिकार खारेज गर्दै दुई प्रदेशमा विभाजन गर्ने भारत सरकारको निर्णयसँगै दुई हप्ता देखि ठप्प रहेको जम्मू कश्मीर आंशिक रुपमा खुल्न थालेको छ।

जम्मू कश्मीरमा आजबाट प्राथमिक विद्यालयहरु खुल्न सुरु भएको बीबीसी इन्डियाले उल्लेख गरेको छ। श्रीनगरमा १९० प्राथमिक विद्यालयहरु खुलेको बताइएको छ।

सोमवारबाट कक्षा ८ सम्मको कक्षा सुरु हुने बताइएपनि आइतवार केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि कक्षा ५ सम्मको मात्रै कक्षा संचालन गर्न आदेश दिइएको थियो। यद्यपि, विद्यालयमा विद्यार्थी संख्या भने न्यून रहेको बताइएको छ। सुरक्षा अवस्था अझै प्रतिकुल रहेको हुँदा अभिभावकहरुले बालबालिकालाई विद्यालय नपठाएको हुन सक्ने अनुमान गरिएको छ। यता, कश्मीरको घाटीमा सबै विद्यालय र कलेजहरु अझै बन्द रहेको छ।

आइतवारमात्रै जम्मू कश्मीरमा दुई हप्तादेखि बन्द रहेको टेलिफोन, इन्टरनेट सेवा आंशिक रुपमा खुल्ला गरेको थियो।

आइतवार कश्मीरका धेरै स्थानमा ढुंगा हानाहानको घटना भएको र अश्रु ग्यास समेत प्रहार गरिएको थियो। घटनामा प्रहरी समेत घाइते भएको बताइएको छ। प्रहरीले दैनिक रुपमा जम्मू कश्मीरमा संदिग्ध क्षेत्रमा छापा मारिरहेको र संदिग्धहरुलाई पक्राउ गरिरहेको बताइएको छ।

दुई हप्तादेखि हालसम्म जम्मू कश्मीरमामात्रै करिब ४ हजारभन्दा प्यक्ति पक्राउ गरिएको समाचार बाहिरिएको थियो।

सरकारले भने त्यहाँ शान्ति व्यवस्था कायम राख्न प्रयास गरिरहेको बताएको छ।

भारत सरकारले जम्मू कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा समाप्त गर्ने निर्णय गरेसँगै कश्मीरमा कर्फ्यु लगाइएको थियो। इदका लागि भने केही समय कर्फ्युलाई सीमित गरिएको थियो। नरेन्द्र मोदीको सरकारले कश्मीरलाई विशेष राज्यको दर्जा व्यवस्था भएको संविधानको धारा ३७० लाई खारेज गर्नै जम्मू कश्मीरलाई दुई प्रदेश (जम्मू कश्मीर र लद्दाख) मा विभाजन गरिदियो। मोदीले एउटा प्रान्तलाई विभाजनमात्रै गरेनन् केन्द्र प्रशासित प्रदेश पनि बनाएका थिए।

नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले जम्मू कश्मीरको विशेष दर्जा समाप्त पार्दै राज्य विभाजन गर्दै केन्द्र शासित प्रदेश बनाएपछि पाकिस्तानसँगको सम्बन्ध चिसिएको थियो। भारतको सो कदमको विरोध गर्दै पाकिस्तानले भारतसँगको कूटनीतिक र व्यापारिक सम्बन्ध सीमित गर्ने घोषणा गरेको थियो। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मोदी गलत बाटोमा हिँड्दै हिलटर बन्ने खोजेको आरोपसमेत लगाएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell