PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

ने क पामा 'एक व्यक्ति, एक पद' नीति कुरामै सीमित : एकै व्यक्तिलाई तेहेरो जिम्मेवारीसम्म, बहुपद पाएपछि आवाज उठाउने नेताकै बोली बन्द



कुञ्जरमणि भट्टराई

ने क पामा 'एक व्यक्ति, एक पद' नीति कुरामै सीमित : एकै व्यक्तिलाई तेहेरो जिम्मेवारीसम्म, बहुपद पाएपछि आवाज उठाउने नेताकै बोली बन्द

काठमाडौं: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी - ने क पा यतिबेला नेताहरुलाई जिम्मेवारी बाँडफाँड गर्नमा व्यस्त छ। लामो समयको रस्साकस्सीपछि विभागको जिम्मेवारी टुंगो लाग्दा कतिपयले भने आफ्नो भागमा दोहोरोदेखि तेहेरो पदसमेत पारेका छन्।

अझै केही कमिटीको भागभण्डा बाँकी रहेकोले बहुपद हत्याउने दाउमा छन् नेताहरु।

ने क पामा बेलाबेला एक व्यक्ति एक पदको अवधारणाबारे चर्कै आवाज उठ्ने गर्दछ। तर, जिम्मेवारी बाँडफाँडको समयमा भने तै चुप मै चुपको अवस्थामा पुग्छन्।

ने क पाको सचिवालय बैठकमा 'एक व्यक्ति, एक पद' बारेको नीतिमा वृहद छलफलसमेत भएको थियो। छलफलपछि कार्याकर्तामा एक किसिमको खुसी छाएको थियो। एक व्यक्तिले बहुआयामिक जिम्मेवारी लिँदा दुवैतर्फ असर पर्ने भन्दै एक व्यक्ति एक पदको अवधारणा आएको थियो।

तर, उक्त नीति कागजमै सीमित रह्यो। र एक व्यक्तिले धमाधम बहुपद पाउन थाले।

एक व्यक्तिलाई दोहोरोमात्र होइन तेहेरो जिम्मेवारीसमेत पाए।

ने क पाका दुई अध्यक्षमध्ये एक अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारीमा छन्। ओली अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। तर अर्का प्रचण्डलाई भने अध्यक्षको जिम्मेवारीमात्रै। ने क पाका महासचिव विष्णु पौडेल पनि एउटामात्रै भूमिकामा छन्।

एकै व्यक्ति दुई पदमा रहँदा काम कारबाही प्रभावित भएकाले एक जना पार्टी अध्यक्ष तथा अर्का अध्यक्ष प्रधानमन्त्रीमात्र बन्नुपर्ने आवाज ने क पाभित्रै उठ्न थालेको छ।

एकथरी नेताहरु पूर्व एमालेमा नै कार्यान्वयन भएको एक व्यक्ति एक जिम्मेवारी पार्टी एकीकरण भएपछि प्रयोगमा आउन नसकेकोमा चर्को आक्रोश व्यक्त गर्दै आएका छन्।

ने क पाका वरिष्ठ नेता माधव नेपाल बेलाबखत एक व्यक्ति एक पदको आवाज उठाउने गर्दछन्। तर उनको आवाज पार्टीमा दबाइएको छ।

ने क पाका केन्द्रीय सदस्य राजेन्द्र राई एक व्यक्ति एक पदको अवधारणामा अघि बढ्दा काममा सहजता हुने भएकाले माथिल्लो तहबाटै लागू हुनुपर्ने तर्क गर्छन। उनी भन्छन्, 'त्यो अवधारणा माथिल्लो तहबाटै लागू हुनुपर्दछ। एक जनाले एउटामात्र पदमा रहँदा सहजताका साथ जिम्मेवारी निर्वाह गर्न सक्दछ।'

एक व्यक्तिलाई दोहोरो भूमिका दिएको विषयमा ने क पाकी महिला नेतृ रामकुमारी झाँक्री पनि सन्तुष्ट छैनन्। राज्य सञ्चालनको पदमा रहेका व्यक्तिहरुलाई पार्टीको जिम्मेवारी दिँदा कामले गति लिन नसक्ने भएकाले एक व्यक्ति एक पदको अवधारणालाई कार्यान्वयन गर्दै अघि बढाउनुपर्ने झाँक्रीको भनाइ छ।

एक व्यक्ति एक पदको अवधारणा मिच्ने क्रमको सुरुवात प्रदेश इन्चार्जको चयनदेखि नै भयो।

प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई दोहोरो जिम्मेवारी

ने क पाका दुई अध्यक्षमध्ये एक अध्यक्ष केपी शर्मा ओली दोहोरो जिम्मेवारीमा छन्। ओली अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

दुई मुख्यमन्त्रीले प्रदेशको इन्चार्जको जिम्मेवारी पाए। ने क पाले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ नं प्रदेशका मुख्यमन्त्री शंकर पोखेरललाई पार्टीको प्रदेश कमिटीको इन्चार्जको जिम्मेवारी दियो।

त्यसपछि जिल्ला इन्चार्जको टुंगो लगाउँदा प्रदेश मुख्यमन्त्री, संघीय सरकार मन्त्रीहरु, राज्यमन्त्रीहरु तथा प्रदेशका मन्त्रीहरु पनि जिल्ला इन्चार्ज र सह इन्चार्ज बनाइए।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालिकोट जिल्लाका इन्चार्जको जिम्मेवारी पाएका छन।

त्यस्तै संघीय सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा काभ्रेका इन्चार्ज बनेका छन्।

त्यस्तै प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल सिन्धुपाल्चोकको सहइन्चार्ज बनाएको थियो।

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल धादिङको इन्चार्ज बन्दा अर्थमन्त्री कैलाश ढुंगेल रामेछापको सह इन्चार्ज बनेका छन्।

प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वो पाँचथर जिल्ला इन्चार्ज बनेका छन्। त्यस्तै मन्त्री जगदिश कुसियत सुनसरीको सह इन्चार्ज बनेका छन्।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान तनहुँ जिल्ला इन्चार्ज बनाइएका छन् भने भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत मनाङको इन्चार्ज बनेका छन्।

५ नं प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरी रुपन्देहीको जिल्ला इन्चार्ज, भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी पनि पश्चिम नवलपरासीको जिल्ला इन्चार्ज तोकिएका छन्।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कालिकोटको इन्चार्ज बन्दा त्यहाँका आन्तरिक मामिलामन्त्री नरेश भण्डारी जुम्लाको सह इन्चार्ज चयन भए। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाह बाजुराको सह इन्चार्ज बनेका छन्।

त्यस्तै जिल्ला कमिटी सरहको मान्यता पाएका महानगर कमिटीमध्ये केन्द्रीय सदस्य रहेका मेयरलाई महानगर इन्चार्जकै जिम्मा दिइएको छ । भरतपुर महानगर र पोखरा महानगरमा मेयरले नै इन्चार्जको जिम्मेवारी पाएका छन्। जिमेवारी पाउनेमा भरतपुरकी रेणु दाहाल र पोखराका मानवहादुर जिसी छन्।

मकवानपुरमा प्रदेशसभा सदस्य कुमारी मोक्तानले सहइञ्चार्जको जिम्मेवारी पाएकी छन्।

त्यस्तै संसदीय समितिका सभापतिहरुले पनि जिल्ला सह इन्चार्ज बनेका छन्। यसरी जिम्मेवारी पाउनेमा निरुदेवी पालले कञ्चनपुरको सह इन्चार्ज पाएकी छन्। उनी संसदको महिला तथा सामाजिक समितिकी सभापति हुन्। त्यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णाकुमारी सुवेदी बाँके र विकास समितिको सभापति कल्याणीकुमारी खड्का रौतहटको सह इन्चार्ज बनेका छन्।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीको सहइन्चार्जको जिम्मेवारी पाइन।

त्यस्तै ने क पा ले केन्द्रीय विभाग प्रमुख जिम्मेवारी बाँडफाँड गर्दा पनि एक व्यक्ति एक पदको अवधारणामा अडिग रहन सकेन। विभागहरुको प्रमुखको जिम्मेवारी अधिकांश बाहलवाला मन्त्रीहरुलाई दिएको छ।

ने क पामा लामो समय विवादित बनेको स्कुल विभागको जिम्मेवारी रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्।

ने क पाले गृहमन्त्री रामबहादुर थापालाई राजकीय मामला तथा सुशासन विभाग, रक्षामन्त्री ईश्वर पोखरेललाई स्कुल विभाग, पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई निर्वाचन विभाग, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामान्य प्रशासन विभागको जिम्मेवारी दिएको छ।

त्यस्तै, शिक्षा तथा मानव श्रोत विभाग शिक्षामन्त्री गिरिराजमणि पोखरेल, भौतिक पूर्वाधार विकासमन्त्री रघुवीर महासेठ तथा खानेपानी मन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाई विभाग, वर्षमान पुनले जलश्रोत, सिंचाई तथा उर्जा विभागको जिम्मेवारी पाएका छन्।

त्यस्तै, पर्यटन प्रवर्द्धन विभाग पर्यटन मन्त्री योगेश भट्टराईलाई, मन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभाग, कृषि मन्त्री चक्रपाणी खनालालाई कृषि तथा भूमिसुधार विभाग, वन मन्त्री शक्तिबहादुर बस्नेतलाई वन तथा वातावरण विभागको जिम्मेवारी दिइएको छ।

ने क पा ले कुनै न कुनै रुपमा मन्त्रीहरुलाई दोहोरो भूमिका दिएको छ। प्रदेश एकका मुख्यमन्त्री शेरधन राईलाई प्रदेश एकको सहइञ्चार्जको जिम्मेवारी दियो।

त्यस्तै  प्रतिनिधिसभाका सदस्यहरुलाई पनि प्रदेशको सहइञ्चार्ज तोकेको छ।

उता उपत्यका विशेष कमिटीको सहइञ्चार्जमा कानुनमन्त्री भानुभक्त ढकालले जिम्मेवारी पाएका छन्। उता महिलामन्त्री थाममाया थापालाई मानवअधिकार एलाइन्स तथा अर्थमन्त्री डा युवराज खतिवडालाई प्राध्यापक संगठनको इञ्चार्जको जिम्मेवारी दिएको छ।

तेहेरो जिम्मेवारी पाउने को को?

नेता वामदेव गौतमलाई उपाध्यक्षको जिम्मेवारी तोकिएको छ। उनी संगठन विभागका प्रमुखसमेत हुन्। उनले यसअघि नेपाल किसान महासंघको संयोजकको जिम्मेवारीसमेत पाएका थिए। उनलाई विधानमै नभएको उपाध्यक्ष पद सिर्जना गरिएसँगै तेहोरो जिम्मेवारी पाएका हुन्।

र प्रदेश ३ का प्रदेश ३ का पर्यटन मन्त्री अरुण नेपाललाई जिम्मेवारी दिएको छ।

नेपाललाई सिन्धुपाल्चोक जिल्लाको सह इन्चार्ज बनाइएको थियो। उनले इन्चार्जमा असन्तुष्टि जनाएपछि ने क पाले उनलाई विज्ञान तथा प्रविधि विभागको उपप्रमुखको तथा उपत्यका विशेष जिल्ला कमिटीको सहइन्चार्ज गरी तेहेरो जिम्मेवारी दिएको छ।

त्यस्तै प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल सिन्धुपाल्चोकको सहइन्चार्ज बनाएको थियो। हाल उनलाई प्रदेश ३ को सम्पर्क कमिटीको सहइञ्चार्जको जिम्मेवारीसमेत दिएको छ।

त्यस्तै प्रदेश नम्बर पाँचका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले पनि तेहेरो भूमिका पाएका छन।

यसअघि पश्चिम नवलपरासीको जिल्ला इन्चार्ज तोकिएका चौधरीलाई ने क पा ले प्रदेश पाँचको सहइन्चार्जको जिम्मेवारी पनि दिएको छ।

अन्य तहको जिम्मेवारी बाँडफाड गर्दा पनि दोहोरो भूमिका नै पाएका छन्। काम कूशलतापूर्वक सम्पन्न गर्न एक व्यक्ति एक पद आवश्यक रहेको आवाज उठाउने ने क पाभित्र कम छैनन्। तर, पद पाएपछि भने आवाज उठाउनेहरुकोसमेत मुख बन्द हुनेगर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell