PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नाटक ‘महाभोज’ भन्छः हेडलाइन भनेको छुराजस्तो हुनुपर्छ



पहिलोपोस्ट

नाटक ‘महाभोज’ भन्छः हेडलाइन भनेको छुराजस्तो हुनुपर्छ

‘अटल सिंह– जिन्दाबाद !’

‘प्रहरी प्रशासन– मुर्दाबाद !’

भीडले यसरी एकजना नेताको समर्थनमा नारा लगाइरहेको छ। एकै छिनपछि अर्को समूहले त्यसै गरी आफ्ना नेताका पक्षमा नारा उराल्छ।

‘जुद्धवीर– जिन्दाबाद !’

माइतीघर मण्डलमा वा प्रतिनिधिसभा छेउछाउ नाराबाजी भइरहेजस्तो भान पर्ला तर नाराबाजी अनामनगरमा भइरहेको थियो। मण्डला थिएटरमा। मण्डलाको पूर्वाभ्यास कक्षको प्रहरी चौकीभित्र केरकार र अनुसन्धान भइरहेको थियो। चौकी अगाडि भेला भएको भीडले यस्तै नारा लगाइरहेको थियो।

यी दृश्य केही मिनेटपछि फेरिन्थ्यो। पूर्वाभ्यास एक्टर्स स्टुडियोका गुरु अनुप बरालले नाटक ‘महाभोज’ मञ्चन गराउनका लागि कलाकारहरूलाई गराइरहेका थिए। यतिबेला अनुप २७ जना कलाकारको जम्बो टोलीसहित नाटकको पूर्वाभ्यास गराइरहेका छन्। केही वर्षयता नाटकभन्दा पनि फिल्ममा रमाइरहेका उनी यही नाटक मञ्चनका लागि पोखराबाट आएको पनि २०/२२ दिन भइसक्यो।

राजनीति सबैतिर उस्तै हुन्छ– फोहोरी। खासगरी दक्षिण एसियाली देशहरूमा त झन् कुनै बयान नै गर्नु पर्दैन। भारतको कुनै पिछडिएको गाउँको कथालाई उपन्यासको क्यानभासमा उतारेकी मन्नु भण्डारीले नै पछि राष्ट्रिय नाट्य विद्यालयका लागि ‘महाभोज’लाई नाटकको स्वरूपमा ढालेकी थिइन्। त्यही नाटकलाई नेपाली परिवेशमा उतार्न लागिपरेका छन्– अनुप र उनका करिब ३७ जनाको समूह (दुई दर्जनभन्दा बढी कलाकार अनि पर्दा नेपथ्यका सहयोगीसहित)।

नेता, प्रहरी अनि पत्रकारले कसरी कुनै विषयलाई च्याँखे थाप्छन् नाटकले दर्साउने बताउँछन् अनुप। कुनै एक गाउँ सितापुर वरिपरि घुम्छ नाटक। पत्रकारिता कसरी ‘पत्रुकारिता’ बन्छ, त्यो थाहा पाउन पनि नाटक नेपालको सन्दर्भमा निकै उपयोगी हुन सक्छ। चुनाव नजिकिँदै छ।

‘सितापुरमा तनाव छैन? अनि हाम्रो काम के त? तनाव बढाऊ, तनाव!’, एकैछिनपछि मसाल पत्रिकाका सम्पादक आफ्ना सह-सम्पादक भवानीसँग भन्दै छन्, अर्को दृश्यमा।

आफ्नो समाचारले राम्रो ‘स्पेस’ पाउने प्रलोभनबाट उत्साहित रिपोर्टरले शीर्षक सुझाउँछन्, ‘सितापुरको पुलमा आज बिहानै एउटा लास भेटियो।’

‘धत्, यस्तो झम्पाट हेडलाइनले पनि कहीँ पत्रिका बिक्छ?’, छुराजस्तो शीर्षक राख्न माहिर सह-सम्पादक भवानी भन्छन्, ‘हेडलाइन डबल डेकमा।

कसले गर्‍यो सितापुरमा रहस्यमय हत्या र दोस्रो लाइनमा– पुलमुनि लास, गाउँलेको उठीबास।’

यसै क्रममा ऊ सम्पादक र रिपोर्टरलाई समाचारका शीर्षकबारे आफ्नो फर्मुला सुनाउँछ, ‘हेडलाइन भनेको छुराजस्तो हुनुपर्छ।’

भारतमा निकै तहल्का मच्चाएको नाटक हो - महाभोज। सन् १९८२ मा पहिलोपटक मञ्चन भएको एनएसडीमा। अनुपलाई ठूलै चुनौती छ। लामो नाटकको मर्म नमारीकन छोट्ट्याउने अनि मनोहर सिंह, अनिल कपुर, प्रमोद माउथो, अनंग देसाइ, गोविन्द नामदेव, रघुवीर यादवजस्ता कलाकार अभिनीत नाटकलाई जीवन्त पार्ने। तर यसअघि पनि यस्तै ठूलो कास्ट गर्दै आएका उनले भने, ‘कोर्ट मार्सलमा पनि ठूलै कास्ट थियो। मलाई कास्टमा खासै झन्झट लाग्दैन।’

‘महाभोज’ को नेपाली संस्करणमा पनि अनुपले ठुल्ठूला नाम कास्ट गरेका छन्– दयाहाङ राई, सिर्जना सुब्बा, राजन खतिवडा, विजय बराल, बुद्धि तामाङ, सोमनाथ खनाल, शेखर चापागाईँ, विकास जोशी, प्रमिला खनाल, मिलन कार्की, आर्जेश रेग्मी, सागर दाहाल, रिजन परियार, रञ्जना ओली, सन्दीप श्रेष्ठ लगायत। आफ्ना संवाद छिट्टै कण्ठ गर्न खप्पिस मानिने रमेश बुढाथोकी यो नाटकबाट एक दशकभन्दा बढी समयपछि रंगमञ्चमा फेरि उत्रन लागेका छन्। शेखर पनि केही वर्षको अन्तरालपछि फेरि अब पूर्णतया रंगकर्ममा फर्किएका छन्।

त्यस्तै नाटकलाई नेपाली संस्करणमा उतार्ने जिम्मा पाएका कवि विप्लव प्रतीकलाई नाटककै ‘क्यारेक्टर’मा हेर्न पाइनेछ– मण्डलाको स्टेजमा भदौ दोस्रो सातादेखि। ‘महाभोज’ को वातावरण र अभिनेतालाई ऊर्जा थप्दै छन्, गायक तथा संगीतकार उत्सव बुढाथोकीले। तर यस नाटकमा उनको संगीत ‘लाइभ’ भने हुने छैन।

अनुपलाई निर्देशनमा सघाएका छन्, सोमनाथले। एक्टर्स स्टुडियो र यी सबै कलाकार दैनिक बिहानै ७ बजेदेखि नै पूर्वाभ्यासमा जुट्छन्, दिउँसो ५ या साढे ५ बजेसम्म। चिया, खाजा, भोजन र केहीबेर आराम समेत उनीहरू त्यहीँ मञ्चमै गर्छन्। सबैको ध्याउन्न एउटै छ -नाटकलाई चोटिलो बनाउने, हाउभाउ, संवाद तिखार्ने र दर्शकलाई वाह वाह भन्न बाध्य पार्ने। नाटकका बारेमा धेरै लेख्नुभन्दा पनि उपयुक्त चाहिँ हेर्नु नै हुन्छ। तैपनि नाटकबारे लेखिका मन्नुकै भनाइ सापटी लिनु अनुचित नै भने नहोला।

आफ्नै उपन्यासलाई नाट्य रुपान्तर गर्दाको अनुभव र दुवैबीचको फरक यसरी व्यक्त गर्छिन् मन्नु भण्डारी -पहिले उपन्यास र फेरि नाटकका रूपमा ‘महाभोज’ लेख्नु मेरा लागि दुई फरकफरक रचनात्मक अनुभवबाट गुज्रिनु पर्‍यो। उपन्यासमा निर्बाध लेख्न पाइन्छ तर नाटकमा बाँधिनु पर्छ। मञ्चमा प्रस्तुतिको दृष्टिबाट कथ्य मर्न पनि दिनु हुँदैन। उपन्यासका रूपमा महाभोज न त चरित्रप्रधान उपन्यास हो न समस्याप्रधान नै। कथानकमा सबै चीत्कार (कथ्य) समेटेर चरित्र या समस्या वरिपरि केन्द्रित गर्न सहज हुन्छ। त्यसो गर्दा रचना चुस्त पनि हुन्छ र चोटिलो पनि। ‘महाभोज’ आजको राजनीतिक वस्तुस्थिति दर्साउने स्थितिप्रधान उपन्यास हो। आज राजनीतिलाई स्वप्नदर्शी, आदर्शवान् र मूल्यमान्यता भएका व्यक्तिले गर्दैनन् बरु राजनीति आफैँले आफ्नो चरित्र विकास गर्दै जान्छ, यस्ता चरित्र जो आफ्ना स्वविवेक, निर्णय र साहसबाट निर्देशित हुँदैनन् र आफू अनुकूल वा प्रतिकूल परिस्थितिको दबाबअनुसार निर्माण हुन्छन् र भत्किन्छन्। ती चरित्रको महत्त्व बुद्धिचालका निर्जीव गोटीभन्दा धेरै छैन। हरेक प्यादा कीर्ते गर्न लडाइँ गरिरहेको छ र यस्तै लडाइँको बुद्धिचालले समाजको सबै वर्गलाई गाँजिसकेको छ। तर के मनुष्य यति सजिलै आफूलाई परिस्थितिसामु लम्पसार पर्छ? प्रतिरोध गर्दैन?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell