PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तालिबानसँग शान्ति वार्ता गर्न अमेरिकी विशेषदूत कतार गए



तालिबानसँग शान्ति वार्ता गर्न अमेरिकी विशेषदूत कतार गए
फोटो : ALJazeera

काबुल : अफगानिस्तानको प्रमुख विद्रोही समूह तालिबानसँग वार्ता गर्न अमेरिकी विशेषदूत जाल्मे खलिलजाद कतारको दोहातर्फ प्रस्थान गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।

अफगानिस्तानमा इस्लामिक स्टेटको प्रभाव बढ्न थालेसँगै तालिबानसँगको वार्तालाई निर्णायक बनाउन दुबै पक्षले तिब्र प्रयास थालेका छन्।

अमेरिकी दूत खलिलजादले वार्ताको प्रगति बारेमा विचारविमर्श गर्न अफगानिस्तानको पनि भ्रमण गर्ने बताइएको छ। यसअघिका वार्तामा अफगानिस्तान सरकारलाई खासै महत्व दिइएको थिएन। अमेरिकी विदेश मन्त्रालयले अफगानिस्तानका विभिन्न पक्षबीच सहमति जुटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संवाददाताहरुसँग कुरा गर्दै तालिबान विद्रोही समूह लडाइँ रोक्न इच्छुक रहेको बताएका छन्। तालिबान समूहले अफगानिस्तानलाई आतङ्कवादी क्रियाकलापको केन्द्र हुनबाट सजिलै रोक्न सक्ने उनले विचार व्यक्त गरे।

कतारमा हुने नयाँ चरणको वार्ता काबुलमा यसै सप्ताहान्तमा भएको भिषण बम आक्रमणपछि हुन लागेको हो। तालिबान समूहले उक्त आक्रमणमा आफ्नो जिम्मेवारी नरहेको बताइसकेको छ। 

अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेट समूहले आक्रमणको जिम्मेवारी लिएको छ।

इस्लामिक स्टेटले पछिल्ला केही महिनादेखि आतङ्कवादी ठूला आक्रमणहरु तिब्र रुपमा बढाइरहेकाले अमेरिका–तालिबान वार्ता नै ओझेलमा पर्ने खतरा बढेको विश्लेषकहरुको भनाई छ। 

विश्वमै अफगानिस्तानको युद्ध सबैभन्दा खतरनाकमध्ये एक मानिन्छ। राष्ट्रसंघले अघिल्लो दशकमा भन्दा बढी सर्वसाधारण गत वर्ष मारिएको जनाएको छ। गत शनिबार भएको बम आक्रमणमा पनि ६३ जना सर्वसाधारणको मृत्यु भएको थियो। विगत १० वर्षमा ३२ हजारभन्दा बढी गैरसैनिक नागरिक मारिएका छन्।

अमेरिकी रक्षा मन्त्रालयले हिजो सार्वजनिक गरेको एक प्रतिबेदनमा हाल अफगान द्वन्द्व यथास्थितिमा रहेको उल्लेख छ। तालिबान समूहले पनि थप क्षेत्रलाई आफ्नो कब्जामा लिन सकेको छैन भने सरकारी फौजले पनि गुमेका क्षेत्रहरुमाथि पुनः नियन्त्रण गर्न सकेको छैन।

अप्रिल–जुनको अवधि विश्लेषण गरिएको उक्त प्रतिवेदनले हिंसात्मक घटनाहरुमा खासै परिवर्तन नआएको उल्लेख गरेको छ।

अफगानिस्तानमा हाल १४ हजार अमेरिकी सैनिक तैनाथ छन्। अमेरिकी सैनिक फिर्ती नै अमेरिका–तालिबान वार्ताको मुख्य विषयवस्तु रहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell