PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कश्मीरबारे मोदी र बेलायती प्रधानमन्त्री जोनसनबीच फोन वार्ता



कश्मीरबारे मोदी र बेलायती प्रधानमन्त्री जोनसनबीच फोन वार्ता
फोटो: zeenews.india.com

नयाँ दिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लण्डनस्थित भारतीय दूतावास अगाडि कश्मीर सम्बन्धमा भएको हिंसात्मक प्रदर्शनबारे बेलायती समकक्षी बोरिस जोनसनसँग टेलिफोन वार्ता गरेका छन्। भारतको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै मोदी र जोनसनबीचको फोनवार्ताका बारेमा जानकारी दिएको रोयटर्सले बताएको छ

भारतले जम्मु कश्मीरको विशेषाधिकार खोसेको विरोधमा गतहप्ता लण्डनस्थित भारतीय दूतावास अगाडि हजारौँ मानिसहरुले प्रदर्शन गरेका थिए। पाकिस्तान तथा कश्मीरको झण्डा बोकेका ती मानिसहरुले भारतको स्वतन्त्रता दिवसकै दिन प्रदर्शन गरेका हुन्।

ती प्रदर्शनकारीहरुले भारतीय महिला तथा बालबालिकालाई पानीको बोतल र अण्डाले आक्रमण गरेको मोदीका समर्थक तथा उनको भारतीय जनता पार्टीले आरोप लगाएका छन्। दूतावासले प्रदर्शनकारीहरुको उक्त कार्यलाई नरोकेको भन्दै उनीहरुले दु:ख व्यक्त गरेका थिए।

मोदीले हिजो फोनमार्फत निहित स्वार्थ पुरा गर्न केही समूहले हिंसात्मक बाटो अपनाइएको जोनसनसामु कुरा राखेका थिए।

'प्रधानमन्त्री जोनसनले सो घटनाको भर्त्सना गर्दै आगामी दिनमा भारतीय दूतावास, यसका कर्मचारी र आगन्तुकको सुरक्षाको लागि आवश्यक कदम चालिने बताउनुभएको छ,' विज्ञप्तिमा भनिएको छ।

लण्डन प्रहरीले हिंसा भड्काएको, प्रहरीलाई अवरोध पुर्‍याएको तथा अपमानजनक हतियार बोकेको भन्दै ४ जनालाई पक्राउ गरेको बताएको छ।

जम्मु कश्मीरलाई आफ्नो भूभागको रुपमा दाबी गर्दै आएको पाकिस्तान मोदी सरकारले उक्त क्षेत्रको विशेषाधिकार खोसेसँगै थप क्रुद्ध बनेको छ। यस मामलामा भारतलाई दवाब दिन पाकिस्तानले अमेरिका, बेलायत तथा अन्य शक्ति राष्ट्रहरुको सहयोगको अपेक्षा गरेको छ।

यता भारतले भने यसलाई आन्तरिक मामला भन्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell