PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा माल्दिभ्ससँग पराजित हुँदै नेपाल आउट



पहिलोपोस्ट

एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा माल्दिभ्ससँग पराजित हुँदै नेपाल आउट

काठमाडौंः काठमाडौंमा जारी एभिसी सेन्ट्रलजोन पुरुष भलिबलमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ।

पहिलो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको नेपाल दोश्रो खेलमा पनि माल्दिभ्ससँग सोझो ३–० को सोझो सेटमै पराजित हुँदै लज्जास्पद हार व्यहोरेको हो।

लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्ड हलमा भएको खेल नेपालले पहिलो सेट २५-२२, दोश्रो सेट २५-२१ र तेस्रो सेट २५-१४ ले गुमाएको हो। नेपालको लगातारको हारसँगै समूह ‘ए’ बाट किर्गिस्तान र माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाल भने समूहचरणबाटै बाहिरिएको छ। माल्दिभ्स पनि आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।

आजै उज्बेकिस्तान र अफगानिस्तान बीच भएको खेलमा उज्बेकिस्तानले ३–० को सोझो सेटमा जित हातपार्दै सेमिफाइनल प्रवेश गरेको छ। उज्बेकिस्तानले यसअघि तुर्कमेनिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। समूह ‘ए’ मा नेपाललगायत किर्गिस्तान र माल्दिभ्स रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तान रहेका छन्।

भदौ ७ गतेसम्म हुने एभिसी सेन्ट्रलजोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललगायत किर्गिस्तान, माल्दिभ्स, तुर्कमेनिस्तान, बंगलादेश, उज्बेकिस्तान र अफगानिस्तानको सहभागिता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell