PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पानीमा पाइने सुक्ष्म प्लाष्टिकले मानव स्वास्थ्यमा हानी गर्दैन: डब्लुएचओ



पानीमा पाइने सुक्ष्म प्लाष्टिकले मानव स्वास्थ्यमा हानी गर्दैन: डब्लुएचओ

जेनेभा : खानेपानीमा पाइने सुक्ष्म प्लाष्टिकले मानव स्वास्थ्यमा हानी नगर्ने विश्व स्वास्थ्य संगठन 'डब्लुएचओ'ले गरेको एक अध्ययनले देखाएको छ। खानेपानीमा बढ्दो मात्रामा सुक्ष्म प्लाष्टिक पाइन थालेपछि उठेको चासोका विषयलाई सम्बोधन गर्दै 'डब्लुएचओ'ले यस्तो निष्कर्ष निकालेको हो

प्लाष्टिक कसरी वातावरणमा फैलिन्छ र कसरी मानव शरीरभित्र पस्छ भन्ने विषयमा थप विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको भन्दै उसले यसै निष्कर्षमा पूर्ण रुपमा सन्तुष्ट भने हुन नसकिने बताएको छ।

आधा मिलिमीटर भन्दा साना प्लाष्टिकलाई सुक्ष्म प्लाष्टिक भन्ने गरिन्छ। तर सुक्ष्म प्लाष्टिकको यकिन परिभाषा भने पाइँदैन।

पछिल्ला केही दशकहरुमा प्लाष्टिकको उत्पादन अत्याधिक मात्रामा बढिरहेको छ। र यसको उत्पादन दर सन् २०२५ सम्ममा दोब्बर हुने अनुमान गरिएको छ। जसका कारण प्लाष्टिक टुक्रिने क्रम बढ्ने र पाइप तथा गिलास हुँदै मानिसको मुख र पेटसम्म तीब्र रुप पुग्ने चिन्ता आम मानिसमा रहेको छ। बोतल पोलीमरबाट बन्ने भएकाले बोतलमा राखिएको पानीमा पनि यसका सुक्ष्म कणहरु पाइने विभिन्न अध्ययनले देखाएका छन्।

प्लाष्टिक बन्ने रसायनले मानव स्वास्थ्यमा प्रभाव पार्छ कि भन्ने जनमानसमा चिन्ता बढेको छ। प्लाष्टिकमा लुकेर बस्न सक्ने जिवाणुहरुले पनि मानव स्वास्थ्यमा असर गर्ने सम्भावना रहेको केही विज्ञहरुले बताएका छन्।

तर,डब्लुएचओका अनुसार यस्ता चासो र चिन्ताका पछाडि वैज्ञानिक कारण भने छैनन्। अध्ययन प्रतिवेदनमा डब्लुएचओले ठूला आकारका सुक्ष्म प्लाष्टिक (१५० माइक्रोमीटर भन्दा ठूला) मानव शरीरबाट सिधै बाहिरिने भएकाले यसले कुनै हानी नगर्ने निष्कर्ष निकालेको छ। अति सुक्ष्म प्लाष्टिक कणहरु पाचन प्रणालीबाट शरीरभित्र सोसिन सक्ने भए पनि हानी गर्न सक्ने मात्रामा भने शरीरमा प्रवेश नगर्ने बताइएको छ।

'हामीले पाएका सीमित प्रमाणहरुले प्लाष्टिक बन्ने रसायन र यसमा लुक्न सक्ने जिवाणुले मानव स्वास्थ्यमा निकै थोरै समस्या सृजना गर्ने देखिएको छ' प्रतिवेदनको निष्कर्षमा भनिएको छ, 'हामीसँग यसैलाई अन्तिम निष्कर्ष मान्ने प्रशस्त प्रमाण नभए पनि हालसम्म यसले समस्या सृजना गर्ने अवस्था देखिएको छैन।'

'यसको बारेमा धेरै चिन्ता गर्नु आवश्यक छैन' अध्ययनमा सम्लग्न ब्रुस गोर्डोनले भने, 'हामीसँग भएको तथ्यलाई हेर्दा मानव स्वास्थयमा सुक्ष्म प्लाष्टिकको असर अत्यन्त न्यून छ भन्ने हाम्रो विश्वास छ। तर यसले भविष्यमा समस्या सृजना नगर्ला भन्न पनि सकिन्न।'

प्लाष्टिक उत्पादनलाई न्यूनीकरण गर्दै प्लाष्टिकको पुन:चक्रणलाई प्राथमिकता दिए यसले समस्याको रुप नलिने उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell