PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६

सुटकेसमा पाँच करोडको कोकिन, पाँचतारे होटलमा गरेका थिए रुम बुक

सुटकेसमा पाँच करोडको कोकिन, पाँचतारे होटलमा गरेका थिए रुम बुक

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : गत बुधवार दिउँसो एक विदेशी नागरिक निलो रङ्गको सुटकेश घिसार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै थिए।

अग्लो कद र कालो वर्णका उनी थिए, ३५ वर्षीय मार्सेल गुली। अफ्रिकी मुलुक आइभेरिकोष्टका उनी दोहा हुँदै काठमाडौं उत्रिएका थिए। विमानस्थलको भन्सार कक्षमा रहेको एक्स-रे मेसिनबाट लगेज बाहिरियो। उनी लगेज लिएपछि उनी बाहिरिन अघिमात्रै के बढेका थिए प्रहरीले उनलाई नियन्त्रणमा लिइहाल्यो।

लागू औषध नियन्त्रण व्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनले ल्याएको सुटकेस खोतल्न थाल्यो। प्रहरीलाई गुलीले कोकिन ल्याएको सूचना प्राप्त गरेको थियो। प्रहरीले सर्सर्ती हेर्‍यो तर सुटकेसमा केही देखिएन। प्रहरीले पाएको सूचना कतै गलत त होइन? सबै सामान खन्याएपछि रित्तिएको सुटकेसमा अझै केही भएको महसुस गरे अनुसन्धानमा खटिएका प्रहरीले।

प्रहरीले सुटकेसमाथि थप अनुसन्धान थाल्यो। सुटकेसको भित्र फल्सवटम बनाइएको रहेछ। फल्सवटम खोलेर हेर्दा लामा लामा प्लाइका टुक्रा जस्तो बस्तुहरु देखियो। कार्बन पेपरमा बेरेर ल्याइएको बस्तु प्लाइउड रहेछ। प्लाइउड भित्र चाहिँ कोकिन।

‘एक्स-रे मेसिनले नभेटोस् भनेर कार्बनले बेरिएको रहेछ। एकदम चलाखीपूर्णमा तस्करी गरेको देखियो,' लागू औषध नियन्त्रण व्यूरोका डिआइजी दिनेश अमात्यले भने।

प्रहरीले गुलीको सुटकेशबाट १ किलो ६ सय ग्राम कोकिन फेला पार्‍यो। बजारमा यसको मूल्य करिब ५ करोड हुन आउँछ। प्रहरीले नियन्त्रणमा लिएका गुली लागू औषध तस्करको भरियामात्र भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

‘यसको थप अनुसन्धान गरिरहेका छौं। प्रारम्भिकमा भरियामात्र भएको देखिन्छ,' डिआइजी अमात्यले भने।

नेपालमा कोकिनको प्रयोगकर्ता कमै छन्। यहाँ कोकिन उत्पादन पनि हुँदैन। एक ग्राम कोकिनको मूल्य २५ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्छ।

नेपाललाई ट्रान्जिट बनाएर युरोप तथा चीन, जापान लगायतका एसियाली मुलुकमा कोकिन जाने गरेको छ। गुलीले पनि नेपालबाट भारत हुँदै तस्करीको योजना बनाएको देखिएको छ। भारत जानका लागि उनले भारतको भिसा समेत लगाएको देखिएको छ।

‘भारतको भिसा लगाउनाले उनले भारत हुँदै कतै तस्करी गर्दै थिए भन्ने शङ्का गर्ने आधार छ। नत्र किन उहीबाट भारतको भिसा लिएर आउँथे त?,’ डिआइजी अमात्यले शङ्का व्यक्त गरे।

मङ्गलवार आइभरिकोष्टबाट हिँडेका गुली बुधवार नेपाल आइपुगका हुन्। उनले नेपालको सोल्टी होटेलमा कोठा समेत बुक गराएको देखिएको छ। ‘सोल्टीमा कोठा बुक गराएका थिए। तर हामीले होटेल नपुग्दै नियन्त्रणमा लियौँ,' एक अनुसन्धान अधिकृतले भने।



ट्रेन्डिङ पोस्ट