PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


चिकित्सा क्षेत्रको आन्दोलनमा विप्लवपुत्र प्रकाशको नेतृत्व, सत्तारुढ दल नेकपा र कांग्रेसकै विद्यार्थीको साथ


चिकित्सा क्षेत्रको आन्दोलनमा विप्लवपुत्र प्रकाशको नेतृत्व, सत्तारुढ दल नेकपा र कांग्रेसकै विद्यार्थीको साथ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द ठकुरीले देशभरका चिकित्सा क्षेत्रमा गर्ने भनिएको आन्दोलनको नेतृत्व गर्ने भएका छन्।

आज रिपोर्टर्स् क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी विभिन्न मेडिकल कलेज र अस्पतालमा आन्दोलन गर्न लागिएको प्रकाशले जानकारी दिए। चिकित्सा क्षेत्रमा लुट मच्चिएको आरोप लगाउँदै उनले त्यसको अन्त्यका लागि आन्दोलनका कार्यक्रम अघि सारिएको बताए।

'मेडिकल कलेजको पढाइमा र अस्पतालमा उपचारमा लुट मच्चाईरहँदा सरकारले ध्यान दिएन। त्यसैले हामीले आन्दोलन थालेका हौं' प्रकाशले भने, 'सरकारले नीति किन लागू गरेन। सरकार र मेडिकल कलेज मिलेर लुट मच्चायो। यसलाई रोक्न सरकारसँग पनि अपिल गर्छौं।'

अस्पतालहरुमा स्वास्थ्यकर्मीलाई समयमै तलब नदिएको र इन्टर्नसीपलाई मनपरीको विषय बनाइएको उल्लेख गर्दै उनले सरकारकै असावधानीका कारण डाक्टर लुटेरा नै हुन् भन्ने छाप परेको आरोप लगाए। 

प्रकाशका बुवा नेत्रविक्रम नेकपाका संयोजकसमेत हुन्। सम्मेलनमा प्रकाशले यस आन्दोलनलाई पार्टीगत रुपमा नजोडिदिनसमेत आग्रह गरेका थिए।

'कृपया तोडमोड गरेर पार्टीगत रुपमा नजोड्न आग्रह गर्छु। प्रधानमन्त्रीदेखि आम मान्छेको लागि हामी संघर्ष गर्दैछौ', उनले भने ।

एमबिबिएस, बिडिएस, बिएनएस/बिएस्सी नर्सिङलगायतको भर्नाका हकमा पुनरावलोकन तथा कार्यान्वयन गरिनुपर्ने, स्वास्थ्यकर्मीको तलब सुरक्षा र अन्य सुविधा, पाठ्यक्रम परिमार्जन र मेडिकल कलेजलाई सहुलियतसहितका ४ माग लिएर भोलिबाट आन्दोलन थालिने चन्दले बताए।

कार्यक्रमअनुसार १० देखि १४ गतेसम्म मेडिकल कलेजमा कालो ब्यानर राख्ने, १५ गते कालो पट्टी बाँधेर काम गर्ने, १६ गते मेडिकल प्रशासनसँग छलफल गर्न र २५ गते राजधानीमा विशाल प्रदर्शन गर्ने तय भएको छ।

सत्तारुढ दल नेकपा र कांग्रेसकै विद्यार्थीको साथ

सम्मेलनमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ चिकित्सा शास्त्र केन्द्रीय समन्वय समितिका डा चन्दन रमनसमेत उपस्थित थिए। उनले विद्यार्थीलाई पेल्न डिनसमेत संलग्न भएको आरोप लगाउँदै यस विषयमा सरकार गम्भीर हुनुपर्ने माग गरे। यस मागसँगै उनले सरकारले जेल विथाउट बेलबारे पनि सरकार गम्भीर हुनुपर्ने बताए।

सेन्ट्रल क्याम्पस महाराजगन्जका स्ववियु सभापति डा मिलन गैरेले ज्यादतीका विरुद्ध लड्न लागेको बताए।

भने, 'मनोमानी ढंगले शुल्क थालिएको छ। डाक्टरको तलब प्राविको शिक्षकको जति छैन। यसैको विरुद्धमा पनि हामी आन्दोलनमा उत्रिएका हौं।'

गैरे सत्तारुढ दल नेकपाको विद्यार्थी संगठन अनेरस्ववियुबाट स्ववियु सभापतिमा निर्वाचित भएका हुन्।

इन्टर्नलाईमहिनाको ३ हजार!

जानकी मेडिकल कलेजका इन्टर्न डा अन्विन अधिकारीले इन्टर्नलाई मेडिकल कलेजहरुले पेल्न थालेको आरोप लगाए। अधिकारीले भने, 'ज्यालामा समस्या छ। ३ हजारदेखि १० हजार रुपैयाँ दिन्छ। इन्टर्नलाई पैसा पनि दिँदैन। यी समस्याविरुद्ध उठ्दैछौं।'

चितवन मेडिकल कलेजका हेमराज भण्डारीले कलेजमा विद्यार्थीलाई ठग्ने काम भइरहेको गुनासो गरे। भने, 'सेवा हैन कमाइको भाँडो बनाए। कलेजमा विद्यार्थी ठग्ने काम भइरहेको छ। यसैले उपचार महँगो भएकाले संघर्ष गर्न लागेको हो।'

गण्डकी कलेजमा अध्ययनरत अनित सिंहले ५१ दिने आन्दोलन गर्दा पनि माग सुनुवाइ नभएको गुनासो गरे। 'लामो आन्दोलन गरेका थियौ ५१ दिनसम्म। तर कुनै सुनुवाइ भएन। अब देशभर आन्दोलनको विकल्प छैन,' सिंहले भने।



चिकित्सा क्षेत्रको आन्दोलनमा विप्लवपुत्र प्रकाशको नेतृत्व, सत्तारुढ दल नेकपा र कांग्रेसकै विद्यार्थीको साथ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट