PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

पश्चिम बंगालको रानाघाट स्टेसनमा गीत गाएर गुजारा गर्ने रानुको भाग्य चम्कियोः बनिन् बलिउड गायिका



पहिलोपोस्ट

पश्चिम बंगालको रानाघाट स्टेसनमा गीत गाएर गुजारा गर्ने रानुको भाग्य चम्कियोः बनिन् बलिउड गायिका
फोटोः एनडी टिभी

भनिन्छ भाग्य बदलिए करोडपति एकछिनमा खाकपति बन्छ र रोडपति बन्छ करोडपति। नभन्दै पश्चिम बंगालको कोलकाताको बाहिरी भागमा पर्ने  रानाघाट रेलवे स्टेसनमा सुरिलो स्वरमा गीत गाएर गुजारा गर्ने एक जना एकल महिलाको जीवनमा भाग्योदय भएको छ। 
रानाघाट स्टेसनमा रानु मन्डलले भारतमा कोइलीको उपमा पाएकी विख्यात गायिका लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएको भिडियो कसैले रेकर्ड गरी सामाजिक सञ्जालमा अपलोड गरेको थियो। सुरिलो स्वरकी धनी रानुले गाएको उक्त गीतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। 


रानुले गाएको उक्त गीतको भिडियो हेरेका बलिउड गायक तथा संगीतकार हिमेश रेशमिया रानुको स्वरबाट यति प्रभावित भए कि उनले रानुको स्वरमा एउटा गीत नै रेकर्ड गराएका छन्। रानुको स्वरमा रेकर्ड गराएको गीत हिमेशले संगीत दिएको नयाँ फिल्म ‘ह्याप्पी हार्डी एन्ड हीर’मा राखिने इन्डिया टुडेले उल्लेख गरेको छ। 

रानुको स्वरमा रेकर्ड गरिएको गीत ‘तेरी मेरी कहानी’ शीर्षकको गीतको भिडियो क्लिप हिमेशले आफ्नो इन्स्टाग्राममा पनि राखेका छन्।

हिमेशले राखेको छोटो भिडियोमा रानुले हिमेशको उपस्थितिमा आफ्नो कोकिल कण्ठमा गीत गाएकी देखिन्छ। भिडियोमा हिमेशले रानुलाई तन मनले गीत गाउन उत्प्रेरित गरिरहेका छन्। 
‘हामीमा आफ्ना सपनालाई निरन्तर पछ्याइरहने आँट भए एक दिन अवश्य हाम्रा ती सपना साँच्चिकै साकार हुन्छन्’, भिडियोको क्याप्सनमा हिमेशले लेखेका छन्। हिमेशले उक्त भिडियो इन्स्टाग्राममा अपलोड गरेयता एक लाखले हेरिसकेका छन्। 
पश्चिम बंगालको नादिया जिल्लाकी बासिन्दा रानुलाई ‘पश्चिम बंगालकी लता मंगेशकर’को उपमा समेत दिइएको छ। २६ वर्षीय इन्जिनियर अतिन्द्र चक्रवर्तीले सबैभन्दा पहिले रानुलाई रानाघाट स्टेसनमा मोहम्मद रफीका गीत गाएको सुनेर उनीसँग गायनलाई निरन्तरता दिन अनुरोध गरेका थिए। त्यसपछि रानुले ‘एक प्यारका नगमा है’ गीत गाएकी थिइन्, जुन अतिन्द्रले आफ्नो मोबाइलमा रेकर्ड गरेर फेसबुकमा सेयर गरेका थिए। त्यही फेसबुक भिडियोबाट रानु भाइरल भएकी थिइन् र हिमेशले उनलाई गीत गाउने सुअवसर दिएका थिए।


कृष्णनगरमा जन्मिएकी रानु सानै हुँदा उनकी आमाको निधन भएको थियो। हिमेशको संगीत निर्देशनमा गीत गाउनुअघि रानुले एउटा रियालिटी शोमा सहभागीताको मौका पाएकी थिइन्। उनी चर्चित भएपछिका फोटोहरुसमेत सामाजिक सञ्जालमा भाइरल भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell