PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अग्राधिकार दिएर टुंग्याउनुपर्ने मुद्दाको पेशी सारियो आठौं पटक



अग्राधिकार दिएर टुंग्याउनुपर्ने मुद्दाको पेशी सारियो आठौं पटक

कैलाली: गत बर्ष असार १२ गते कैलालीको गौरिगंगा नगरपालिका ११ मसुरीया कटानकी माया विकको सामूहिक बलात्कार पछि विभत्स हत्या गरियो। घटनाको झण्डै १ महीनापछि कैलाली जिल्ला अदालतमा साउन १३ गते ५ जना विरुद्ध अपहरण, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धि मुद्दा दायर भयो।

त्यो मुद्दाको पहिलो पेशीनै पुष १५ मा तोकियो। त्योसँगै त्यस यता उक्त मुद्दामा वादी तर्फबाट ४ र प्रतिवादी तर्फबाट ४ गरी ८ पटक पेशी सरिसकेको कैलाली जिल्ला अदालतको श्रेस्तेदार भुवन गिरीले बताए।

उक्त मुद्दाको आठौं पेशी बिहीवारलाई तोकिएको थियो। बिहीवार प्रतिवादीका कानून व्यवसायी शिवसुन्दर शाहीले अस्वस्थताको कारण देखाएपछि पेशी आठौं पटक पनि सरेको उनले बताए। 

यस अघिका पेशीहरुमा जिल्ला अदालतको थुनछेक आदेश विरुद्द प्रतिवादीका कानून व्यवसायी अधिवक्ता गम्भीर सिंह ऐरले उच्च अदालत दिपालयमा वेरितको आदेश बदर गरिपाउँ भनि निवेदन दिएपछि मुद्दाको पेशी तीन पटक सारिएको गिरीले बताए।

उच्च अदालतमा निवेदन परेपछि मिसिल दिपायल गएका कारण मिसिल अभावमा बहस पैरवी गर्न नसकिने भनि सरकारी वकिलको तर्फबाट तीन पटक पेशी सरेको उनको भनाइ छ। शुरुको पेशी भने सरकारी वकिलकै तर्फबाट केही कागजातहरु नक्कल लिनको लागि सरेको हो।

मुलुकी फौजदारी कार्यविधि नियमावली २०७५ को नियम ९६ मा जबर्जस्ती करणी, घरेलु हिंसा, जिउ मास्ने–बेच्नेलगायत ६ प्रकारका मुद्दालाई निरन्तर सुनुवाइ गरेर टुंग्याउनुपर्ने व्यवस्था छ। तर अदालतबाट मुद्दामा १ बर्षसम्म पनि कुनै फैसला हुन नसकेपछि पीडित परिवार भने सशंकित भएको छ।

मायाका बुवा हर्क बहादुर विकले निर्मला हत्या प्रकरण जस्तै मायाको केश पनि हुने त होइन भन्ने मनमा चिन्ता रहेको बताए।

‘घटना भएको एक बर्ष वितिसक्यो’ उनले भने, ‘निर्मला बैनीको मुद्दा अहिलेसम्म गुपचुपमै छ। कतै मेरो छोरीको पनि यस्तै त हुने होइन भन्ने लागिरहेको छ। नत्र ५/५ जनालाई पक्राउ गरेर पनि अदालतले कारवाही गर्न किन मान्दैन?'

अभियुक्तहरू गौरीगंगा–११ का गणेश बडुवाल, मनोज बोगटी, सुरज चौधरी, भुवन खाती र तपेन्द्र बोगटी पुर्पक्षका लागि थुनामा छन्।

घटनापछि मायाको परिवारलाई राहतस्वरूप सुदूरपश्चिम प्रदेश सरकारले पाँच लाख र गौरीगंगा नगरपालिकाले एक लाख रुपैयाँ दिने निर्णय गरेपनि न्याय नपाएको भन्दै पीडित परिवारले अझै लिन मानेको छैन। 

घटना विवरण

 मायाले गत वर्ष असार ५ गतेबाट गौरीगंगा नगरपालिकामा करारमा तथ्यांक संकलकको काम पाइन्। उनीसँगै तथ्यांक संकलनमा खटिएका सहकर्मी गणेश बडुवालले असार ८ गते मायासँग यौन प्रस्ताव राखे। तर मायाले त्यो प्रस्ताव अस्वीकार गरिन् र त्यसपछि ११ असारमा उनलाई बडुवालले बलात्कार गरे। 

जबर्जस्ती गरेपछि मायाले उनलाई धम्की दिएर अरूलाई भनिदिने भनेपछि बडुवालले डरले अन्य चारजनासँग मिलेर १२ असारमा मायाको बलात्कार गरी हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रहरीका अनुसार मायालाई ५ जना मिलेर जंगलमा लगी जबरजस्ती बलात्कार गरेको र उनको मृत्यु भएको हो। १२ असारमा तथ्यांक संकलनमा हिँडेकी माया चार दिनपछि जंगलमा दोपट्टाले हात पछाडि बाँधिएको र मुखमा पात कोचिएको अवस्थामा मृत फेला परिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell