PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कर्णालीमा कांग्रेस कलह, कार्यकर्तालाई प्रशिक्षण दिन आएका शीर्ष नेता नै उत्रिए आरोपप्रत्यारोपमा



पी बी खड्का

कर्णालीमा कांग्रेस कलह, कार्यकर्तालाई प्रशिक्षण दिन आएका शीर्ष नेता नै उत्रिए आरोपप्रत्यारोपमा

सुर्खेत: नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुका लागि प्रदेशस्तरीय प्रशिक्षण निकै उत्साहका साथ सकियो। गएको निर्वाचनमा नराम्रोसँग हार बेहोरेको कांग्रेसले आगामी दिनमा पार्टीलाई बलियो बनाउने र आगामी हुने निर्वाचनमा सफलता पाउन रणनीति तयार गर्ने भन्दै जिल्ला तहका नेता तथा कार्यकर्तालाई दुई दिने प्रशिक्षण दियो।

तर, पार्टी नेतृत्व तहमै गुट उपगुट हाबी हुदाँ कार्यकर्ता असन्तुष्ट छन्। प्रशिक्षणको पहिलो दिन फरक फरक गुटका शीर्ष नेता एउटै मञ्चमा देखिए। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला।

उनीहरु बेलाबखत आफु निकटका नेता तथा कार्यकर्तालाई रिझाउन र कुराकानी गर्न भ्याए। प्रशिक्षणको दोस्रो दिन पनि पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइरालालगाएतका शीर्ष तहका नेता एउटै मञ्चमा देखिए। तर, वरिष्ठ नेता पौडेल र सभापति देउवा भने अघिल्लो र पछिल्लो दिन गरी कार्यक्रमलाई सम्बोधन गर्न पुगे।

यसरी पटक पटक गरी नेतृत्व तह एउटै मञ्चमा उभिएर एकताको सन्देश दिने प्रयास त गरे तर, वास्तविक एकताको सन्देश भने दिन सकेनन्। दोस्रो दिन देउवा र महामन्त्री कोइरालाले सम्बोधन गर्दा एक अर्कालाई घोचपेच गर्नसमेत भ्याए।  यस्तो अवस्थामा प्रदेशस्तरीय प्रशिक्षणले जिल्ला तहमा कस्तो सन्देश जाला?

दोस्रो दिन प्रशिक्षण समापनलाई सम्बोधन गर्दै महामन्त्री शंशांकले पार्टीलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिए।

‘एक ठाउँमा उभिएर मात्रै मुकाविला गर्नुपर्छ। पार्टी एक नभएसम्म विश्राम लिन्नँ। पार्टी एक बनाउन ध्यान दिनुपर्छ। केन्द्रमा गुट उपगुट नहुने। आफूबाटै ठिक पार्नुपर्छ।’

महामन्त्री कोइराला लगत्तै पार्टी सभापति शेरबहादुर देउवाले उनको प्रतिउत्तर दिए। ‘पार्टी सभापतिले एकता चाहान्छ। सबैले सहयोग गरे पार्टी एकता हुन्छ। पार्टी एक हुन आवश्यक छ,’ उनले भने,‘सहमतिका लागि काम गर्न नदिने काम भएन भनेर हुन्छ।’

यसरी आम कार्यकर्ताबीचमा नेतृत्व तहका नेताहरुले गुट उपगुटको खुलेआम तर्कवितर्क गर्दा जिल्ला तहदेखि गाउँस्तरसम्म गुट उपगुटको प्रभाव पर्ने देखिन्छ। वरिष्ठ नेता तथा पदाधिकारीले मञ्चमा एकताको सन्देश दिने भाषण गरेपनि व्यवहारमा भने गुटलाई प्रश्रय दिने गरेको देखिन्छ प्रस्ट देखिन्छ।

 

नेता तथा कार्यकर्ताको सुझाव : ‘केन्द्रबाटै गुट त्याग्नुस्’

प्रशिक्षणमा बसेका महाधिवेशन प्रतिनिधिहरुले गाउँ, जिल्लामा पुगेर काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण गराउने छन्। तर जिल्लाका पार्टी सभापतिसहितका पदाधिकारीहरु भने पार्टीले जिल्लाका सभापतिसहितका पदाधिकारीहरुलाई समेत प्रशिक्षणमा सहभागी नगराएको भन्दै असन्तुष्टि जनाएका छन् भने आएका केन्द्रीय नेताहरु आफ्ना गुटगत नेता तथा कार्यकर्तामै सीमित भएको सहभागीहरुको गुनासो छ।

प्रशिक्षणमा सहभागी महाधिवेशन प्रतिनिधि राजिवविक्रम शाह नेतृत्व तहका नेताले गुट उपगुट त्याग्नुपर्ने बताउँछन्। ‘शीर्ष तहका नेताहरुले हामीहरुलाई विभाजित गर्ने होइन। एकताको सन्देश दिएर प्रोत्साहन दिनुपर्छ। थप नयाँ ऊर्जा दिनुपर्छ’ उनले भने। स्वस्थ प्रतिष्पर्धा गरेर एकताको सन्देश दिनुपर्ने उनको भनाई छ।

तर, नेतृत्वको भनाई र गराई फरक छ। साझा मञ्चबाट एकताको सन्देश दिने तर व्यवहारमा गुटलाई प्रश्रय दिने पद्धति हावी हुँदा कांग्रेस कमजोर भएको कार्यकर्ताको बुझाई छ। प्रदेश स्तरका प्रशिक्षण गुट बलियो बनाउने र महाधिवेशन लक्षित नभै पार्टी एकढिक्का बनाउनमा  केन्द्रित हुनुपर्ने कार्यकर्ताको चाहना देखिन्छ।

त्यस्तै, प्रशिक्षणमा सहभागी महाधिवेशन प्रतिनिधि खड्ग डाँगीले पनि राष्ट्र र पार्टीको हितमा काम गर्न सुझाव दिन्छन्। ‘नेपाली कांग्रेसको नेतृत्वलाई गुट उपगुटबाट माथि उठेर राष्ट्र र पार्टीको हितमा काम गर्न अनुरोध गर्न चाहान्छु।’

पार्टीको नेतृत्वतहदेखि गाउँस्तरसम्म गुट उपगुट हावी हुँदा आमकार्यकर्तामा निराशा देखिएको छ। नेतृत्व तहले कार्यकर्ताको भावनालाई आत्मसात गर्छ कि गर्दैन,त्यसैमा कांग्रेसको भावी यात्रा निर्भर हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell