PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आन्विकाको कथामा अवनीको योगदान, 'छोरीको सिफारिस, छोरीकै सम्पादन'



पहिलोपोस्ट

आन्विकाको कथामा अवनीको योगदान, 'छोरीको सिफारिस, छोरीकै सम्पादन'

  • स्वेच्छा राउत/नेत्र तामाङ -

सानोमा कथा सुन्न खुब मन पर्थ्यो आन्विका गिरीलाई। जादुका अनि राजकुमारका कथा। कथा सुनाउन भने उनले आफ्नी आमालाई नै मनाउनुपर्थ्यो।

दिनभर कामबाट थाकेकी आमाबाट कथा सुन्न वातावरण बनाउँथिन् उनी। सँगै जम्मा हुन्थे दिदी, बहिनी र भाइहरु। सबै गरी सातजना।

'मलाई कथा सुन्न खुबै मनपर्ने। कथा सुनाउने त आमा नै,' आन्विका सम्झिन्छिन्, 'थकित आमाको खुट्टा मिच्दै कथा सुनाउन अनुरोध गर्थ्यौं। आमाले पनि मन लाएर रोचक कथा सुनाउनु हुन्थ्यो।'

आमा उमा गिरी। उनीसँग कथाहरु सीमित थिए। त्यसैले प्राय पुरानै कथा दोहोरिन्थ्यो। तर, आमाको वाचन शैली यस्तो थियो कि ती कथा सधैं नयाँजस्ता लाग्थे उनलाई।

आमाले निकै पुराना कथा पनि नबिर्सी सुनाएको सम्झँदा आन्विकालाई आमाको स्मरण क्षमताको तारिफ गरिहाल्न मन लाग्छ। त्यसमाथि साना साना घटनाको पनि डिटेलिङ आमाको कथा वाचनमा आउथ्यो।

त्यसैले कथा सुन्नु र सुनाउनु उनका लागि जहिले पनि उत्तिकै महत्वको विषय बन्यो। पहिले कथा सुनाउन आमालाई मनाउने आन्विकाको भूमिका अहिले भने बद्लिएको छ।

आज उनी ११ वर्षीया छोरी अवनीलाई कथा सुनाउँछिन् उसैगरी जसरी आमाले सुनाउँथिन्। फरक यति थियो आमा नहेरी फरर कथा भन्थिन्, उनी पढेर सुनाउँछिन्।

उनले आफ्नी आमाले जस्तै सधैं एउटै कथा सुनाउन भने चाहिनन्। तर, पर्याप्त नेपाली नयाँ कथा भेटेनै गाह्रो। साहित्य लेखनमा सक्रिय उनले बाल साहित्यमा अभाव देखिन्।

त्यसपछि छोरीलाई मात्र होइन, धेरैलाई कथा सुनाउन र पढाउने जिम्मेवारी लिइन्।

बाल साहित्यमा छलफल चलोस्

मान्छेको रङ र कम्युनिस्टमार्फत् पाठकमाझ आफूलाई लेखनमा स्थापित गरिसकेकी गिरीले 'हाम्रो कुरा पनि सुन्नुस्' सचित्र बालकथाबाट यस क्षेत्रमा हात हालिन्। त्यसपछि बाल उपन्यास 'नाक कसरी ठाडो हुन्छ' र बाल नाटक 'ठूलो मान्छे कसरी बन्ने' सार्वजनिक गरिन्।

कथा शृङ्खला 'आमाले सक्नुहुन्छ' र सचित्र बालपुस्तक' सानीका ज्ञानी कुरा' हालै सार्वजनिक भएपछि उनको खातामा पाँच कृति सूचीकृत भएका छन्। 'आमाले सक्नुहुन्छ'मा सात कथा छन्।

बाल साहित्यमा किन त?

'किनकि महत्वपूर्ण विधा भए पनि नेपाली बाल साहित्यमा लाग्नेहरु कम छन्,' उनले सरल तर गम्भीर जवाफ दिइन्।

बाल साहित्य लेखक पनि एउटा सर्कलमा सीमित हुनु, बाल साहित्यबारे छलफल नहुनु, चर्चा नपाउनु र यसको महत्वबारे अभिभावक नै अन्जान हुनुले उनलाई सोच्न बाध्य बनायो।

समस्या यतिमै सीमित छैन। सार्वजनिक हुन् या निजी विद्यालय, पुस्तकालय नहुनु, भएकै पुस्तकालयमा पनि पुस्तक नहुनु, पुस्तक भए पनि त्यो बालबालिको पहुँचमा नहुनुलाई समस्याको रुपमा हेर्छिन् उनी।

'विद्यालयमा भएको किताब बोरामा कोचेर राख्छन्। अभिभावक पनि आफ्ना लागि किताब किन्छन्, सन्तानको लागि सोच्दैनन्। यो प्रवृत्तीको अन्त्यका लागि पनि बाल साहित्यको महत्वबारे छलफल आवश्यक छ,' उनले भनिन्।

केटाकेटीलाई सहज हुने खालको कृति लेख्न मन पराउँछिन्, आन्विका। त्यसको मतलव यो ठीक त्यो बेठीक भन्ने चाहिँ होइन। बालबालिकालाई सोच्ने र के ठीक के बेठीक छुट्याउने ठाउँ दिनु पर्छ भन्ने लाग्छ उनलाई।

आन्विकाले भनेको जस्तो लेखन चाहिँ सहज काम होइन। बालबालिकाले बुझ्ने भाषा र शिल्पीमा लेख्नु पहिलो चुनौती मान्छिन् उनी। पात्रहरुको चरित्र निर्माणदेखि हरेक क्षेत्र, वर्ग, जाति, लिङ्गलाई ध्यानमा राखेर कथा तयार पार्नुपर्ने उनको बुझाइ छ। कथा मिल्दो चित्रको परिकल्पना पनि सजिलो विषय होइन।

'पूर्वाग्रह नराखी लेख्नुपर्छ। जिम्मेवारी बहन गर्नुपर्छ। संवेदनशील हुनुपर्छ,' उनी भन्छिन्, 'बाल साहित्य भनेपछि हल्का रुपमा लिनेहरु पनि छन्। तर, यो निकै गाह्रो विषय हो।'

अबको पाँच वर्ष बाल साहित्यलाई

आन्विकाले निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीहरुका लागि चाहिने किताब खोजिन्। तर भेटिनन्। त्यसैले उनी त्यो खाडल पुर्न चाहन्छिन्। त्यसैको प्रतिफल हो, बाल साहित्यसँगै किशोर कथामा पनि कलम अघि बढाएकी छिन् आन्विकाले।

आन्विकाको अठोट छ, अबको पाँच वर्ष बाल साहित्यमै केन्द्रित हुने। उनी भन्छिन्, 'पाँच वर्ष मज्जाले बालबालिकाका लागि लेख्छु। सँगै अरुलाई पनि लेख्नु प्रेरित गर्छु। ठूलाका लागि साहित्य लेख्नेले पनि यो विधामा कलम चलाउन आवश्यक देखेको छु।'

उनलाई यस्तो अठोटका लागि हौस्याएकी छिन् उनकी छोरीले, उनका कथामा आलोचनात्मक टिप्पणी गरेर।

छोरीको सिफारिस, छोरीकै सम्पादन

उनकी छोरी अवनी ११ वर्षकी भइन्। उनलाई कथा सुनाउन थालेदेखि आन्विकालाई लाग्यो- 'कथा भनेरै बाँच्न सक्छु।'

अवनी ठूली हुँदै जाँदा आफैँ कथा भन्ने भइन्। उनी आमा आन्विकालाई अंग्रेजी साहित्य पढेर सुनाउँछिन्। नेपाली साहित्य सुनाउने चाहिँ आन्‍विकाको भागमा। छोरी वाचन मात्र गर्दिनन्, आमालाई पढ्न र लेख्नका लागि सुझाव समेत दिन्छिन्।

पुस्तकमात्र होइन, लवाइ खवाइमा पनि छोरीको 'क्रिटिकल कमेन्ट' पाउन थालेकी छिन् आन्विकाले। उनलाई खुशी लाग्छ छोरीले आफ्नो धारणा बनाएको र त्यसलाई नधकाइ व्यक्त गरेकोमा।

'आमाले सक्नुहुन्छ'मा समावेश एउटा कथा 'आमाले बराबरी गर्नु भयो'मा पनि अवनीले सुधार्न सुझाएकी रहिछिन्।

आन्विकाले भनिन्, 'फुटबलको स्टोरी इनडेप्थमा गएको छोरीकै कारण हो। छोरीले डिटेलिङ मागिन्। जुन मेरी आमाको कथा वाचनको विशेषता थियो। छोरीको सुझाव र आमाको वाचन सम्झिएर कथा मिलाएँ।'

छोरीको सुझावले दङ्ग परिन्, आन्विका। छोरीको त्यस्तै भूमिका रह्यो अरु केही कथाहरुमा पनि। त्यसैले अन्तिम पानामा लेखिन् -'कथा लेख्न मलाई मेरी छोरी अवनीले सघाएकी छिन्।'

यतिमात्र होइन, अवनीले आन्विकाका कथा संग्रह 'कम्युनिष्ट' र उपन्यास 'मान्छेको रङ' अंग्रेजीमा अनुवाद गर्नुपर्ने आग्रह गरिसकेकी छिन्। छोरी आत्मविश्वासहित भन्छिन्, 'हेर्नुपर्छ'।

छोरीलाई राजकुमारको कथा सुनाउँदिन

आमा उमा गिरीले सुनाएको जादुमयी कथाहरु सुन्दा दङ्ग पर्थिन् आन्विका। ती कथाहरुमा सधैं केटा पात्र 'हिरो' हुन्थे। आमा अनि काकीहरुलाई बोक्सी देखाइन्थ्यो, भूतहरु हुन्थे। तर, आफ्नी छोरीलाई भने त्यस्ता कथा सुनाउँदिनन् उनी।

'लोला एन्ड चार्ली' उनले छोरीलाई सुनाएको पहिलो कथा हो। त्यसपछि 'तोतोचान', 'धुमधामको घुमघाम' लगायत कथा सुनाइन्।

छोरीलाई लैङ्गिक, जातीय समानताबारे बुझाउन महिला पात्र नायक भएका कथाहरु पनि सुनाइन्।

'तर, मैले उसलाई सधैं आफ्नो विचार बनाउन प्रेरित गरेको छु। 'मैले सुनाएका कुराहरुलाई नै सत्य नमान। सुन अनि आफ्नो विचार बनाउ' भनेर सम्झाएकी छु, ' उनले भनिन्।

अबको बाल साहित्य

पहिलेको कथा र अहिलेको कथाको प्रस्तुति नै फरक भइसकेको उनको तर्क छ। भन्छिन्, 'हामी चुपचाप सुन्थ्यौं। तर, अहिलेको पुस्ता प्रश्न गर्ने पुस्ता हो। त्यसैले त्यस्तै कथाहरु सुनाउनुपर्छ।'

छोराछोरीले पढोस् भन्ने चाहनेहरुले सुरुमा आफैँ पढेर सुनाउनुपर्ने बताउँछिन् उनी। बाल साहित्य लेखन र पठन संस्कृति विकाससँगै कथाका सन्दर्भ र विषयमा विविधता हुनुपर्ने लाग्छ उनलाई।

तर, कक्षामा अहिले पनि नैतिक शिक्षा दिने र पुरुष नायक भएकै कथाहरु थोपरिएकोमा आन्विकालाई चित्त फिटिक्कै बुझेको छैन।

प्रधान न्यायाधीश महिला, राष्ट्रपति महिला, सभामुख महिला भन्ने गफमा रमाइरहेका हामीले पढ्ने किताबमा भने पुरुष केन्द्रित मात्र छन्। त्यसैलाई चुनौती दिन चाहन्छिन्। उनको पुस्तक 'आमाले सक्नुहुन्छ'मा आमालाई सशक्त भूमिकामा देखाइएको छ। जसमा साथ र सहयोग रहन्छ बुबाको पनि।

बालबालिकाका लागि प्रकाशित हुने किताब महँगो पर्ने भएकाले यसलाई व्यवसायिक बनाउनु पर्ने आवश्यकता महसुस गरेकी छिन् आन्विकाले।

'निरन्तर छलफल चलोस्। छलफलको दायरा ठूलो होस्। कन्टेन्टले गाम्भीर्यता बोकोस्। लगानीको पक्षबाट पनि हेर्नुपर्छ, ' उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell