PahiloPost

Sep 21, 2019 | ४ असोज २०७६


सागको तयारीमा उसु र बक्सिङ : खेलाडीको खान्की, प्रशिक्षण र पदक


मुकुन्द घिमिरे

सागको तयारीमा उसु र बक्सिङ : खेलाडीको खान्की, प्रशिक्षण र पदक

काठमाडौं : त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद परिसरमा उसु खेलाडी मीना ग्लान हरेक बिहान ७ बजे आइपुग्छिन्। बिहानमात्र होइन, उनी यहाँ हरेक साँझ पनि देखिन्छिन्। आठौं राष्ट्रिय खेलकुदमा स्वर्णपदक हात पारेकी उनी दक्षिण एसियाली खेलकुद(साग) को तयारीका लागि बन्द प्रशिक्षणमा छिन्।

उनी बिहान र बेलुका नै अभ्यासका लागि यहाँ पुग्ने गरेकी हुन्।

‘तयारी राम्रै भइरहेको छ, पदक हात पार्ने गरी अभ्यास गरिरहेकी छु,’ खेलकुद परिषदमा नै पहिलोपोस्टसँग उनले भनिन्। उनीजस्तै धेरै खेलाडीहरु अहिले परिसरमा अभ्यासमा जुटिरहेका छन्।

मार्सल आर्ट, एथलेटिक्स, फुटबल, भलिबलजस्ता खेलमा प्रशिक्षण र व्यक्ति स्किलको जति भूमिका हुन्छ, त्यति नै खानपान र मनोविज्ञानको पनि हुन्छ। उसु प्रशिक्षक मोहनबहादुर पाण्डे यसपाला प्रशिक्षण, खानपानलगायतमा विशेष ध्यान दिएको बताउँछन्।

‘न्युट्रेसनलाई ध्यान दिएका छौं, यसका लागि खेलकुदका डाक्टरहरुसँग पनि परामर्श लिने गरेका छौं,’ प्रशिक्षक पाण्डेले भने।

पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल हुन लागेकी ग्लान पनि डाइटिङ्मा विशेष ध्यान दिने गरेको बताउँछिन। ‘बिहान ब्रेकफास्ट, अण्डा, फ्रुट, दूध र ब्रेड खाने गरेका छौं। ट्रेनिङपछि फ्रुट, मासु, ब्रेड, सुप खाइन्छ,’ खेलको तयारीसँगै ग्लानले फेरिएको खान्कीको विवरण नै पेश गरिन्, ‘चिल्लो, पिरोलगायत जङ्क फूड निषेध नै गरेको छ।’

त्यसो त बन्द प्रशिक्षणकै क्रममा पनि खेलाडीहरुमा निक्कै सुधार देखिएको छ। अभ्यासले खेलाडीहरु थप माझिएको प्रशिक्षक पाण्डेले बताए।

‘बन्द प्रशिक्षण पनि पहिला भन्दा फरक छ। पहिला एक समयमात्र ट्रेनिङ् हुने गरेकोमा अहिले दुई समय तालिम हुन्छ,’ तयारीबारे पाण्डेले भने, ‘खेलाडीहरु राम्रा छन्। पदक आउनेमा आशावादी छौं।’

अहिले उसुको प्रशिक्षण बिहान र बेलुकी दुई समूह बनाएर गरिन्छ। बिहान ७ बजेदेखि ९ बजे पहिलो र ९ देखि ११ दोस्रो समूहले अभ्यास गर्छन्। त्यस्तै, दिउँसो ३ देखि ५ बजेसम्म पुन: पहिलो समूह र ५ देखि ७ दोश्रो समूहको अभ्यास हुने गरेको छ। सागमा उसुको प्रदर्शन राम्रै भएकाले यसपटक पनि त्यसलाई निरन्तरता दिने पाण्डेले बताए।

मीनाजस्तै मेहेनतमा जुटेका छन् मनिष डंगोल। बक्सिङ् खेलाडी मनिसको तयारी पनि जोडतोडले चलिरहेको छ। सातदोबाटोमा बन्द प्रशिक्षणमा रहेका उनी पदक ल्याउने गरी तयारी गरिरहेको बताउँछन्। आठौं राष्ट्रिय खेलकुदमा रजत पदक जितेका उनले यस अघि पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाइसकेका छन्।

‘तयारी राम्रै भइरहेको छ,’ अभ्यासका क्रममा भेटिएका डंगोलले पहिलोपोस्टसँग भने ‘बिहान ७ देखि ९ र बेलुकी ३ देखि ५ बजेसम्म प्रशिक्षण लिइरहेको छु।’

बक्सिङ्का प्रशिक्षक दीपक महर्जनले यसपालाको साफमा २ देखि ३ स्वर्णपदक बक्सिङको खातामा आउने अपेक्षा गरेका छन्। त्यसका लागि तयारी राम्रै भइरहेको उनको भनाइ छ। खेलाडीको तयारीले मात्र खेल जित्न सक्ने होइन, त्यसका लागि धेरैकुराले प्रभाव पार्छ। नेपाली खेलाडीमा सुरुमा जुन स्पिरिट हुन्छ त्यो लामो समय टिक्न नसक्दा धेरै खेल गुमाउन परेको यथार्थ पनि सबैसामु छ। खान्कीले मुख्य भूमिका खेल्छ, खेल अवधिभर एउटै रफ्तारमा रहन। के बक्सिङमा डाइटिङ सहि रुपमा पाइरहेका छन् खेलाडीले?

डाइटिङ तथा व्यवस्थापनमा कमजोरीको गुनासो नेपाली खेल जगतमा सामान्य नै हो। यसअघिमा प्रशिक्षणमा सधैं यस्ता समस्या खेलाडीहरुले बताउँदै आएका थिए। प्रशिक्षक महर्जन डाइटिङ र खान्कीमा भने यसपाला कुनै गुनासो नरहेको बताउँछन्। तर, समस्या त्यतिमै सीमित रहन्न। बक्सिङकाे प्रशिक्षण यतिखेर खुला आकाशमुनि चलिरहेको छ। वर्षादमा खुला आकाशमुनि अभ्यास गर्दा मौसममै भर हुने गरेको छ। महर्जनका अनुसार पानी पर्‍यो कि अभ्यास रोकियो।

बक्सिङमा कभर्ड हल तयार भइनसकेका कारण अभ्यास बाहिरै हुने गरेको हो। बाहिरै प्रशिक्षण बक्सिङमा मात्र होइन, उसुमा पनि चलिरहेको छ। भएको कभर्ड हल सानो भएकाले गाडी पार्किङ गर्ने ठाउँमा उसुको अभ्यास चलिरहेको छ।

नेपालमा आउँदो मंसिरमा दक्षिण एसियाली खेलकुद (साग) आयोजना हुँदैछ। एकातर्फ साग आयोजनाको चुनौती त नेपाललाई छँदैछ, अर्कोतर्फ घरेलु मैदानको सदुपयोग गरेर पदक बढाउने चुनौती पनि छ। पटकपटक मिति सर्दै आएको दक्षिण एसियाली खेलकुदमा पूर्वाधार अझै तयार भइसकेको छैन। त्यसको चाप पनि छ। यी सबैका बीचमा खेलाडीलाई उम्दा बनाउनुपर्ने जिम्मेवारी पनि।

नवौं सागयता नेपालको प्रदर्शन

नवौं साग भन्दा यता दक्षिण एसियाली खेलकुदमा नेपालको प्रदर्शन अपेक्षाकृत रुपमा सुधारोन्मुख देखिँदैन। सन् २००४ मा पाकिस्तानको इस्लामाबादमा भएको ९ औं सागमा नेपालले ७ स्वर्ण, ५ रजत र ९ कास्य पदक ल्याएको थियो। त्यस्तै, २००६मा श्रीलंकको कोलम्बोमा भएको दशौं सागमा ७ स्वर्ण, १५ रजत र ३१ कास्य पदक नेपालले जितेको थियो।

त्यस्तै, बंगलादेशको ढाकामा सन २०१० मा भएको ११ औं सागमा स्वर्ण पदक संख्या बढेको थियो। ११ औं सागबाट नेपालले ८ स्वर्ण, ९ रजत र २० कास्यपदक हात पारेको थियो। यद्यपि, २०१६ मा भारतको गुवाहटी र सिलोङमा भएको १२ औं सागमा स्वर्ण पदक ह्वात्तै घट्यो। उक्त सागमा नेपाल ३ स्वर्णमा खुम्चियो। त्यतिखेर नेपालको पोल्टामा २३ रजत र ३४ कास्य पदक हात पारेको थियो।

बक्सिङ र उसुको विगत

बक्सिङ : आठौं सागमा स्वर्णपदक ल्याएको बक्सिङ नवौं सागमा १ रजत तथा ५ कास्यमा खुम्चिएको थियो। त्यस्तै, दसौं सागमा १ रजत र ४ कास्य हात पारेको थियो। ११ औं सागमा बक्सिङ्ले १ रजत र १ कास्यमा चित्त बुझायो। त्यस्तै भारतमा भएको १२ औं सागमा जम्मा ३ कास्यमा चित्त बुझायो।

बक्सिङ संघका उपध्यक्ष अर्जुन केसी संघको आन्तरिक खिचातानीका कारण पछिल्ला दक्षिण एसियाली खेलमा प्रदर्शन खस्किएको बताउँछन्। यसपटक भने विदेश पठाएर तालिमसमेत दिएकाले स्वर्ण पदक आउनेमा आशावादी छन् उनी।

‘यसपटक बाहिरसमेत तालिमका लागि पठाएका छौं, खेलाडीहरुले राम्रै अभ्यास गरिरहेका छन्, पदक आउँछ भन्ने लागेको छ,’ उनले भने।

उसुः दसौं दक्षिण एसियाली खेलकुदमा पहिलो पटक उसु समावेश भएको हो। पहिलो सहभागितामै २ स्वर्ण ३ रजत र ६ कास्य हात पारेको थियो नेपालले। त्यस्तै, ११ औं सागमा २ स्वर्ण, २ रजत र २ कास्य हात पारेको थियो। त्यस्तै १२ औं सागमा १ स्वर्ण १० रजत र १ कास्य हात पारेको थियो। सहभागिता जनाएदेखि नै पदक ल्याउन सफल भएको उसुलाई १३ औं सागमा अझ घरेलु मैदान र समर्थकको साथ मिल्ने छ, जसले फेरि पनि दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक भित्र्याउने आधार देखाउँछ।



सागको तयारीमा उसु र बक्सिङ : खेलाडीको खान्की, प्रशिक्षण र पदक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट