PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

क्यान्सर लागेपछि नलुकाउन डाक्टरको सुझाव, 'जति छिटो परीक्षण, त्यति छिटो उपचार'



हेम रोकाहा

क्यान्सर लागेपछि नलुकाउन डाक्टरको सुझाव, 'जति छिटो परीक्षण, त्यति छिटो उपचार'
फोटो: cancercenter.com

​​​​​'मृत्यु के हो भन्ने जान्न क्यान्सर लागेको मानिसलाई सोध्नुस्'

समाजको चल्तीको एउटा भनाई।

यसले क्यान्सर मृत्युको कति नजिक छ भन्ने बुझाउँछ। नयाँ प्रविधिले क्यान्सरको उपचारलाई सम्भव बनाए पनि वर्षेनी हजारौँ मानिसहरुको मृत्युको कारक बनेको छ, क्यान्सर।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार वर्ष २०१८ मा संसारभर ९६ लाख मानिसहरुको क्यान्सरका कारण मृत्यु भएको छ, भने एक करोड ८१ लाख विरामी थपिएका छन्।

पाँच जना पुरुषमा एकजना र छ जना महिलामा एकजनालाई जीवनको कुनै कालखण्डमा क्यान्सर लाग्ने गरेको डब्लुएचओले जनाएको छ। त्यस्तै, क्यान्सर लागेका आठ जना पुरुषमा एकजना र ११ जना महिलामा एकजनाको मृत्यु हुने गरेको उसले बताएको छ।

नेपालमा पनि हरेक वर्ष क्यान्सरका बिरामीहरु बढ्दै गइरहेको भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोशन प्रजापति बताउँछन्। सन् २००३ मा एक हजार ४८८ पुरुष र एक हजार ७६३ महिलामा क्यान्सर देखिएका थियो। सन् २०१२ सम्म आइपुग्दा तीन हजार २९१ पुरुष र तीन हजार ९२१ महिला क्यान्सरको पीडित बनेको एसिया पेसिफिक जर्नल अफ क्यान्सर प्रिभेन्सनको तथ्यांकले देखाएको छ। यो अंक अझ बढ्दै जाने अनुमान गरिएको छ।

क्यान्सर जुन कुनै उमेर समूह, वर्ग, पेशा, जात, धर्मका मानिसहरुलाई हुन सक्छ। यसबारे सचेत भइएन भने यसको सिकार जो कोही पनि हुन सक्छ।

क्यान्सर के हो?

क्यान्सरसम्बन्धी बुझ्न हामीले हाम्रो शरीरका कोषको बारेमा जान्नुपर्ने हुन्छ। मानव शरीर एउटा जैविक भट्टी हो। जसमा हामीले खाएको खाना जलेर शक्तिमा परिणत हुन्छ, त्यसबाट नै हामीलाई हिँडडुल गर्न, सास फेर्न, सोँच्न तथा न्यानो रहन शक्ति मिल्छ। र त्यो कार्यका लागि शरीरमा रहेका अति सुक्ष्म कोषहरुले हरपल, प्रत्येक सेकेण्ड काम गरिरहेका हुन्छन्। र ती कोषहरु आफैँ विभाजन पनि भइरहेका हुन्छन्। हरेक दिन करोडौँ करोड कोषहरु विभाजन भइरहेका हुन्छन्।

कोष विभाजन प्रकृया भनेको एउटा कोष दुई वटा कोषमा विभाजन हुनु हो। एउटा कोषबाट छुट्टिने दोस्रो कोष पहिलो कोषको फोटोकपी हो। अर्थात, छुट्टिएका ती दुई कोषहरु पूर्ण रुपमा एकआपसमा मिल्दा जुल्दा हुन्छन्। यो प्रकृयामा डीएनए नामक रसायनले भूमिका खेल्छ जसमा कोषका सबै सूचनाहरु रहेका हुन्छन्। अर्को शब्दमा भन्दा कोष विभाजन भनेको डीएनएको फोटोकपी हो। एउटा कोषबाट अर्को कोष बन्न ३ अर्ब न्युक्लियोटाइड्सहरुको फोटोकपी बन्नुपर्छ। यस्तो जटिल काम पनि हाम्रो शरीरको कोषले सजिलै गर्छ।

तर कोषलाई त्यो काम गर्न त्यति सजिलो पनि छैन। एउटा कोष विभाजन हुने प्रकृयामा डीएनए सिन्थेसाइज गर्ने इन्जाइमले १ लाख २० हजार गल्तीहरु गर्छ। कोषले यस्ता गल्तीहरु ९९ प्रतिशतसम्म सच्याउने गर्छ। तर कतिपय अवस्थामा केही गल्तीहरु सच्याउन चुक्छ। यी गल्तीमध्ये केहीले शरीरलाई फाइदा गर्छन, केहीले नोक्सान र केहीले कुनै प्रभाव पार्दैनन्। यसलाई विज्ञानको भाषामा डीएनए म्युटेसन अर्थात डीएनएमा आएको परिवर्तन भनिन्छ।

तर यदि कोष विभाजनको त्यो गल्ती अथवा डीएनएमा आएको परिवर्तनका कारण कोषको व्यवहारमा परिवर्तन आएमा, आफ्नो बृद्धिको लागि कोष आफैँ नै प्रोत्साहित भएमा, बृद्धि हुन रोक्ने मष्तिस्कको संकेतलाई नमान्ने, रगत आपूर्तिको लागि शरीरलाई प्रोत्सहन गर्ने, सधैँ बृद्धि भइरहने तथा शरीरका विभिन्न भागमा फैलिने अवस्था आएमा छुट्टै विशेष प्रकारका कोषहरु बन्छन्

वैज्ञानिकहरुले फरक तरवले बन्ने फरक प्रकृतिका विभिन्न दुई सय प्रकारका रोगहरु पत्ता लगाएका छन्, जसमा यस्ता लक्षणहरु देखिन्छन्। तिनीहरुको प्रकृति फरक हुने भएपनि तिनलाई एउटै नामले बोलाइन्छ, क्यान्सर ।

क्यान्सर हुनुको कारण के हो?

डीएनए म्युटेसन र्‍यान्डमली शरीरमा हुन्छ। तर यो वंशाणुगत तथा वातावरणीय प्रभावका कारण पनि हुन्छ। बाबुआमामा यदि क्यान्सर छ भने छोराछोरीमा पनि हुन सक्ने केही सम्भावना रहने भरतपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर विजय चन्द्र आचार्य बताउँछन्।

‘स्तनको क्यान्सर, डिम्बाशयको क्यान्सर र ठूलो आन्द्राको क्यान्सरलाई विशेष गरी वंशाणुगत क्यान्सरको रुपमा लिइन्छ, यो बाबुआमाबाट छोराछोरीमा सर्न सक्छ,’ डाक्टर आचार्यले भने।

मानिसको आनीबानी, खानपिन तथा जीवनयापनले पनि क्यान्सर निम्त्याउनमा धेरै भूमिका खेल्ने उनले बताए। उनका अनुसार जाँड रक्सी तथा धुमपान सेवनले कलेजो, आन्द्रा, पेट तथा फोक्सोको क्यान्सरको जोखिम बढ्छ।

उनी भन्छन्, ‘मदिरा तथा धुमपान सेवन नगर्ने भन्दा गर्ने व्यक्तिमा क्यान्सरको सम्भावना तीन गुणा बढी हुन्छ।’

क्यान्सर भएको कसरी थाहा पाउने?

शरीरमा कुनै गिर्खा अथवा मासुको डल्लो जस्तो महसुस भएमा क्यान्सरको आशंका गर्न सकिने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा प्रजापति बताउँछन्।

डाक्टर प्रजापतिले भने, ‘क्यान्सरको कोष मर्दैन। बरु, अझै फैलिन्छ। र शरीरमा गिर्खा अथवा मासुको डल्लो जस्तो भएर बस्छ। क्यान्सरको पहिलो लक्षण नै यही हो।’

तर शरीरमा हुने सबै गिर्खा क्यान्सर भने नहुने डाक्टर प्रजापतिको भनाइ छ। यदि कुनै पनि कोष अप्राकृतिक ढंगले निरन्तर रुपमा बृद्धि हुँदै गएमा मात्रै क्यान्सर मान्न सकिने उनले बताए।

उनले थपे,  ‘कतिपय अवस्थामा लामो समय ज्वरो तथा खोकी निको नभएमा, खानेकुरा राम्रोसँग नपचेमा, पिसावमा रगत देखिएमा पनि क्यान्सरको आशंका गर्न सकिन्छ।’

केहिले काहीँ शरीरमा भएको कोठी अनियन्त्रित रुपमा ठूलो हुँदै गएमा पनि क्यान्सर लागेको मान्न सकिने उनले बताए।

क्यान्सरको उपचार सम्भव छ?

छ, क्यान्सरलाई सुरुवातकै अवस्थामा पत्ता लगाउन सके उपचार सम्भव रहेको बताउँछन् डाक्टर आचार्य। जति ढिला भयो उनी नै खतरा बढ्दै जाने उनले बताए।

प्रकृति हेरेर तेस्रो चरणका क्यान्सरको पनि उपचार सम्भव रहेको डाक्टर प्रजापतिले बताए । उनका अनुसार कतिपय अवस्थामा चौँथो अथवा अन्तिम चरणको क्यान्सर लागेका विरामीको पनि उपचार सफल भएको छ।

डाक्टर प्रजापति भन्छन्, ‘पहिलो चरणमा प्रायः सबै क्यान्सरको उपचार सम्भव छ। दोस्रो र तेस्रो चरणमा पुगेका क्यान्सरको पनि अधिकांश समय उपचार सफल भएका छन्। कतिपय अवस्थामा त अन्तिम चरणमा पुगेका विरामीको पनि उपचार भएका केही उदाहरणहरु छन्।’

 

क्यान्सरबाट कसरी बच्ने?

यो विषयमा दुबै चिकित्सकको प्रमुख राय एउटै छ, क्यान्सरबारे सचेतना फैलाउने। मानिसहरुलाई क्यान्सर के हो? यो कसरी लाग्छ? यसबाट कसरी बच्न सकिन्छ? भन्ने कुरा बुझाउन सके क्यान्सर कम गर्न सकिन्छ।

क्यान्सर भएको चाँडै नै पत्ता लागेमा निको हुन्छ भन्ने सन्देश फैलाउन सके धेरै विरामीले उपचार पाउने डाक्टर प्रजापतिको विचार छ।

‘मानिसहरुले क्यान्सर लागेपछि प्रायः लुकाउँछन्, उपचार गर्न खोज्दैनन्। क्यान्सरको उपचार हुँदैन भन्ने गतल धारणा पनि रहेको छ। त्यस्तो होइन, क्यान्सरको पनि उपचार हुन्छ,’ उनले भने।

क्यान्सरबाट बच्न हामीले आफ्नो आनीबानी तथा जीवनयापन परिवर्तन गर्नुपर्ने उनले बताए । स्वस्थकर खानेकुरा खाने, बजारमा पाइने जंक फूडबाट टाढै रहने, नियमित शारीरिक व्यायाम गर्ने आदि गर्नाले क्यान्सरबाट बच्न सकिने उनी बताउँछन्।

क्यान्सर रिसर्च यूकेका अनसार ४० वर्षअघि क्यान्सर देखिइसकेपछि २४ प्रतिशत मानिसहरु मात्रै १० वर्ष या बढि बाच्ने गर्थे। हाल ५० प्रतिशत मानिसहरु १० वर्ष या बढि बाच्ने गरेका छन्। त्यस्तै, २० वर्षसम्ममा उक्त अंक ७५ प्रतिशत पुग्ने क्यान्सर रिसर्च यूकेकाको अनुमान छ।

प्रविधिको विकासले क्यान्सरको उपचारलाई अझ सहज बनाउँदै लगेको छ। भ्याक्सीनले सर्भीकल क्यान्सर हुनबाट जोगाउन सकिन्छ। धुमपान कम गर्ने कार्यक्रमहरु, मोटोपना तथा मधुमेह कम गर्ने कार्यक्रमहरु, क्यान्सर निम्त्याउने रसायन कम गर्ने कार्यक्रमहरु, यी सबैले क्यान्सरलाई न्युनीकरण गर्न भूमिका खेलिरहेका छन्।

क्यान्सरसम्बन्धी विभिन्न खोज अनुसन्धानहरु विश्वभर भइरहेका छन्। क्यान्सर एउटा प्रकृतिको मात्रै रोग नभएकाले यसको अध्ययन निकै सुस्त भएको जस्तो देखिन्छ। तर क्यान्सरको क्षेत्रमा भइरहेको अध्ययनले क्यान्सर रोग कम गर्न विभिन्न विकल्पहरु भने अवश्य दिने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell