PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

नसुल्झेको रुम नम्बर २०२ को गुत्थी



सविन ढकाल

नसुल्झेको रुम नम्बर २०२ को गुत्थी

चितवन : भुईँको एक छेउ पहेँलो नै हुने गरी केसरी छरिएको छ। कुस र सुकेका दुबोका टुक्रा पनि यताउती छरिएका। एउटा सानो बोतामा सुकेको केसरी र दुबो पनि देखिन्छ। अनि पानीको बोतल आधा भरिएको।

चार तलामाथि उक्लिएपछि पुगिने यो साँघुरो कोठामा कसैले भर्खरै श्राद्ध गरेजस्तो देखिन्छ। कोठामा दुई वटा पलङ छन्, म्याट्रेस छ तर तन्ना छैन। एउटा पुरानो टिभी पनि देखिन्छ।

हेर्दा सामान्य लाग्ने यो कोठा केही सातायता चर्चित छ। चर्चासँगै रहस्यको गाँठाे पनि जोडिएको छ यो कोठासँग। यो त्यही कोठा हो जहाँ पासो लगाएको अवस्थामा फेला परेका थिए पत्रकार सालिकराम पुडासैनी।

होटल : कंगारु, नारायणगढ पोखरा बसपार्क

कोठा नम्बर : २०२

मृत भेटिएका व्यक्ति : सालिकराम पुडासैनी

पेशा : पत्रकार

+++

'ल कोठा ठीक लाग्यो। हुन्छ।'

साउन २० गते दिउँसो ३:३० बजेतिर होटेल कंगारु पुगेका सालिकरामले भनेका थिए।

होटेलको २०२ नम्बर कोठा हेरेपछि काउन्टरमा फर्केर उनले बुक गरे। बुक गरेलगत्तै एक बोतल पानी लिए र लागे कोठातिर।

त्यसपछि, होटेल सञ्चालक यज्ञबहादुर कार्कीले सालिकराम कोठाबाट बाहिरिएको देखेनन्। साँझ करीब ७:३० बजेतिर सालिकराम बाहिरबाट फर्किए। सादा खाना अर्डर गरे।

'माथि उक्लिएपछि मात्र उनी बाहिरबाट आएका थिए भन्ने पत्तो पाएँ,' कार्कीले भने, 'कोठाबाट बाहिर निस्किएको देखेको थिइनँ। पछि खाना अर्डर गरेर गएपछि मात्र बाहिर जानुभएको रहेछ भन्ने थाहा पाएँ।'

चार तला भएको होटलको भुईँतलाबाट तेस्रो तलामा उक्लिएपछि पुगिन्छ कोठा नम्बर २०२। यससँगै जोडिएको अर्को कोठाको नम्बर हो २०१। त्यसपछि दाहिनेतिर लहरै छन् अरु कोठाहरु।

सालिकरामले रोजेको कोठाको प्यासेजतिर कुनै झ्याल छैन। मतलब, कोठा थुनेपछि के भयो चाल पाउन सकिन्न। कोठाभित्र भने एउटा आल्मुनियमको स्लाइडवाला झ्याल छ, बाहिरतिर हेर्न मिल्ने, ग्रिल र जाली दुवै नभएको। यहाँबाट ओर्लिन वा अरुतिर जान सजिलो देखिन्न। एउटा कोठाबाट चिच्याउने हो भने अर्को कोठामा सजिलै सुनिने खालको रहेछ, होटलको रुम।

+++

त्यस दिन कंगारु होटलमा पुग्नुअघि नजिकै एक अर्को होटलमा रुम खोज्दै पुगेका थिए सालिकराम।

'पंखा छैन रुममा?'

'एसी नै छ त।'

'होइन, मलाई सिलिङ पंखावाला रुम चाहिएको हो।'

सिलिङ पंखा भएको कोठा नपाएपछि उनी त्यो होटलबाट फर्किए।

२० गते दिउँसो होटेल कंगारु रोज्नुको एउटा कारण सिलिङ फ्यान पनि रहन पुग्यो।

उनले होटेलको कोठा हेरेपछि अन्य कुरा केही नसोधी बुक गरेको सञ्चालक कार्की बताउँछन्।

प्रहरीको अनुसन्धानले पनि सालिकराम अरु होटलमा समेत पुगेको देखाउँछ।

'ऊ अरु होटेलमा गएको हामीलाई जानकारी आयो। त्यहाँ पंखा नभएपछि हुँदैन भनेर फर्किएका रहेछन्,' एक होटेल व्यवसायीले हामीसँग भने।

पुडासैनीले किन पंखा भएको होटेल नै खोजे? के यसअघि नै आत्महत्या गर्ने मनसायले चितवन पुगेका थिए?

'हामीलाई चाहिँ पंखा छ वा एसी भनेर सोध्नुभएको थिएन। आफैं कोठामा गएर हेरेपछि हुन्छ भन्नु भएको हो,' होटेल सञ्चालक कार्कीले भने।

मृतकका दाजु विष्णुले पनि भाइले अर्को होटेलमा पंखा नभएर छोडेको जानकारी पाएका छन्। तर, प्रहरीबाट होइन।

'कतै पढेँ, कतै अरुले सुनाए। त्यसैले यही हो भन्न सक्दिनँ,' विष्णुले भने।

+++

कोठा नम्बर २०२ को सिलिङ फ्यानमा उनी झुन्डिएको अवस्थामा फेला परे। उनले आत्महत्या गरे या कसैले कोठाभित्र नै हत्या गरेर झुन्ड्यायो?

उनले खिचेको भिडियोले आत्महत्या भन्छ। तर, उनको आत्महत्या होइन, हत्या भएको भन्नेहरु पनि उत्तिकै छन्।

करिब ८ फुट बाई ११ फुटभन्दा साँघुरो लाग्ने कोठासँग जोडिएको रहस्य कहिले सुल्झेला थाहा छैन। तर, सामाजिक सञ्जालले उल्कै उल्झनहरु पैदा गरिसकेको छ।

'कहाँ आफैँ आत्महत्या गर्छ? होटेलमा नै कसैले मारेको हुनुपर्छ। मारेकै हो,' चितवन रामनगरको एक भोजनालयमा छिर्दा त्यसका सञ्चालक दाबी गर्दै थिए।

मिश्र थरका ती होटल सञ्चालकमात्र होइन, धेरैले अहिले पनि पुडासैनीको मृत्युलाई हत्या भनिरहेका छन्।

'शरीरमा नील डाम हेर्नु भएको छ? होटेलभित्र नै मारिएको हो,' ती होटलवालाको जस्तै भनाइ थियो चितवनको चौबिसकोठी चोकमा रविको न्यायको लागि जम्मा भएका भीडमा रहेका एक अर्धवैंशेको पनि।

साउन २१ गते मृतकका परिवार होटेल कंगारु पुगेका थिए। मृतकका दाजु विष्णु पुडासैनीले भाइको हत्या भएको दाबी गर्दै एक युट्युबरलाई अन्तर्वार्ता दिए, त्यही। त्यो युट्युब च्यानलले प्रसारण गरेको भिडियोले हत्या भएको भन्ने माहोल बनाउन समय लागेन।

त्यसमाथि युट्युबहरुमा भाइरल भइसेकका थिए - खुट्टामा रड प्रहार भएको सन्दर्भ। प्रहरीले प्रारम्भिक अनुसन्धान अघि बढाउनुअघि नै सामाजिक सञ्जालले - आत्महत्या होइन, हत्या हो भन्ने करार गरिसकेको थियो।

'घटना अहिले प्रहरीको अनुसन्धानमा नै छ। त्यसैले म अहिले हत्या वा आत्महत्या केही भन्दिनँ,' पहिलोपोस्टसँगको भेटमा सालिकरामका दाजु विष्णुले भने, 'के भएको भन्ने प्रहरीको अनुसन्धानले देखाउने कुरा हो।'

सुरुमा हत्या नै भएको दाबी गर्ने विष्णु यतिखेर भने 'हत्या भएको हो' भनेर पहिले झैं ठोकुवा गर्ने अवस्थामा छैनन्।

+++

पुडासैनी प्रकरणमा आत्महत्या र हत्या के हो पहिचान गर्न उनको गोडामा देखिएका डामले झन अन्योल पार्‍यो।

हत्या नै हो भन्ने आधार चाहिँ उनको खुट्टामा प्रस्ट देखिएको निसानाले पार्छ। प्रहरीको मुचुल्कामा पनि खुट्टामा ४/५ वटा साना घाउ भएको उल्लेख छ।

त्यही आधारमा, रड प्रहार गरेर घाउ बनाएको दाबी गर्नेहरु धेरै छन्। कुटीकुटी मारेको दाबी गर्नेका लागि यही कुरा आधार बन्यो। रडको डोब झैं लाग्ने दृष्यले धेरैलाई उनको हत्या भएकै हो भन्ने पत्याउन बाध्य पार्छ।

आखिर खुट्टामा घाउ कसरी लाग्यो त?

खुट्टामा देखिएको घाउ सालिकरामको मोटरसाइकल दुर्घटनासँग जोडिएको रहेछ। उनी मृत अवस्थामा फेला पर्नुभन्दा केही दिनअघि मोटरसाइकल दुर्घटनामा परेका रहेछन्।

सालिकरामकी श्रीमती सम्झनाले उनकी बहिनीलाई मोटरसाइकल दुर्घटनाबारे बताएकी छिन्।

'दिदीले पहिले नै भन्नु भएको हो। मोटरसाइकल एक्सिडेन्ट भएको थियो,' सम्झनाकी बहिनीले पहिलोपोस्टसँग भनिन्।

युट्युबमा भाइरल भएको सालिकरामको खुट्टामा देखिएको डोब मोटरसाइकल दुर्घटनाको थियो या अरु कुनै कारणले? प्रहरीको अनुसन्धानबाट प्रस्ट आइसकेको छैन।

सालिकरामका दाजु विष्णुका अनुसार भाइबुहारीले उनलाई दुर्घटना भएको भने बताएकी थिइन्। मोटरसाइकल दुर्घटना हुँदा साइलेन्सर पाइपले खुट्टा डामेको जानकारी सम्झनाबाटै विष्णुले पाएका थिए।

'पहिले त जानकारी थिएन। पछि बुहारीलाई सोधेपछि दुर्घटना भएको थाहा भयो,' विष्णुले भने।

खुट्टाको चोटमात्र होइन, झोलाको रहस्य पनि सबैको चासोको विषय बनेको छ यो केसमा।

'सालिकराम होटेल भित्रिँदाको झोला कहाँ गयो?'

शुरुका दिनमा धेरैले उठाएको प्रश्न यही हो। मृतक पुडासैनीको साथमा झोला थियो कि थिएन अझै रहस्यमै छ। काठमाडौंबाट चितवन पुग्दा के एक जोर लुगासमेत नबोकी पुगेका थिए उनी? बोकेका भए कहाँ गयो?

'मैले याद नै गरिनँ। झोला थियो वा थिएन?,' होटल सञ्चालक कार्कीले भने।

कार्कीमात्र होइन, उनले झोला लिएर हिँडे नहिँडेको उनकै परिवारले पनि प्रस्ट बताउन सकेको छैन।

'उहाँ निस्किँदा दिदी हनुहुन्न थियो। उहाँलाई पनि झोला लगेको नलगेको केही थाहा छैन,' पहिलोपोस्टको सम्पर्कमा आएकी सम्झनाकी बहिनीले भनिन्। चार तलामाथिको झ्यालबाट हेर्दा यस्तो देखियो 

सालिकरामका दाजु विष्णुले मुचुल्का उठाउने क्रममा क्यामरा हराएको र झोला पनि हुनुपर्ने तर्क गर्दै त्यसलाई रेकर्डमा राख्न प्रहरीसँग आग्रह गरेका थिए। तर, प्रहरीले मुचुल्कामा उक्त कुरा समावेश गर्न नमिल्ने भन्दै जाहेरी दिन सुझाएका थिए।

त्यसो त होटल सञ्चालक कार्की पनि शंकाको घेरामा नपरेका होइनन्। घटनामा संलग्न भएको आरोप उनीमाथि नै लाग्यो। प्रहरीको अनुसन्धानमा उनको संलग्नता भने खुलेन। त्यसपछि रिहा भए।

पीडित परिवारको उजुरीको आधारमा कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

+++

हामी शुक्रवार (भदौ ५) यहाँ पुग्दा होटेल कंगारु भने सुनसान थियो। गर्मी प्रचण्ड। करिब ४० डिग्री सेल्सियसको हाराहारीमा। गर्मीका कारण होटल सुनसान भएको भने होइन रहेछ।

नारायगणगढस्थित पोखरा बसपार्क भित्रपट्टि सडकमा नै जोडिएको छ होटेल कंगारु। कंगारुसँगै अन्य होटेल तथा लज पनि छन्, लहरै। बसपार्क नजिकै भएकाले भीडभाड पनि उत्तिकै देखिन्छ।

होटलको पहिलो तल्लामा भेटिए सञ्चालक यज्ञबहादुर कार्की। निकै निरास देखिन्थे उनी। होटेलमा काम गर्ने कामदार पनि फुर्सदिला।

सालिकरामको शव भेटिएयता उनको होटलमा एकजना पनि ग्राहक आएका छैनन्।

सुरुमा कुराकानी गर्न आनाकानी गरिरहेका कार्कीले केही समयपछि भने आफूलाई सहज बनाए।

'एकदिन मलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्‍यो। त्यसपछि छोडिदिएको हो,' उनले सुस्तरी सुनाए।

+++

कार्की एकमात्र यस्ता पात्र हुन् जसले सालिकरामलाई आखिरी पटक सकुशल र मृत अवस्थामा भने सुरुमै देखेका थिए। त्यसैले उनी के भन्छन् त? हामीलाई चासोको विषय थियो।

उनका अनुसार साउन २० गते करिब ९ बजेतिर पटकपटक होटेलका स्टाफले बोलाउँदा पनि सालिकरामले ढोका खोलेनन्। बारम्बारको प्रयास असफल भएपछि होटेल सञ्चालक कार्कीले प्रहरी र अन्य होटेल व्यवसायीलाई खबर गरे।

प्रहरी र अरु पनि आए। र, तोडियो ढोकाको चुकुल। कोठाभित्र सालिकराम मृत अवस्थामा फेला परे।

'धेरैचोटी बोलाउँदा पनि ढोका नखोलेपछि मैले होटेल व्यवसायी साथी र प्रहरीलाई खबर गरेँ। प्रहरी आएर हेरेपछि मृत अवस्थामा फेला पारेको हो,' सञ्चालक कार्कीले भने।

+++

हामीले कार्कीलाई भेट्दा उनी निरास मुद्रामा हुनु स्वाभाविक थियो। उनीकहाँ ग्राहक छिरेका थिएनन्। होटलको नाम बदनाम भइसकेको थियो। उनी अहिले पनि प्रहरीको छानबिनकै घेराभित्रै छन्।

त्यसभन्दा पनि पीडाको विषय उनको होटलमा एक जनाको अकालमै ज्यान गुमेको छ। त्यसैले सालिकराम मृत अवस्थामा भेटिएको १३ औं दिन उनले आफ्नै हिसाबले होटलमा श्राद्ध नै गराएछन् एकजना ब्राम्हण बोलाएर। २०२ नम्बरको कोठामा हामीले छिर्दा देखिएको पहेँलो त्यसै दिनको केसरी रहेछ जुन उनले अझै उठाएर सफा गरिसकेका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell