PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मृतक प्रेमी, पीडित चाहिँ प्रेमिका, बीचमा भने रवि : यस्तो छ अस्मिताको बयान



सविन ढकाल

मृतक प्रेमी, पीडित चाहिँ प्रेमिका, बीचमा भने रवि : यस्तो छ अस्मिताको बयान

काठमाडौं : गत साउन २० गते मृत अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको विषय अझै पेचिलै छ। मृत फेला परेका पुडासैनीको संचारकर्मी रवि लामिछानेसँगको सम्बन्धले घटनालाई फरक मोड दियो। टेलिभिजनमा लोकप्रिय बनेका रवि पक्राउपछि त माहोल झनै तात्यो।

प्रहरीले साउन ३० गते रविसहित ३ जनालाई पक्राउ गर्‍यो। दुई पटक म्याद थप गरेर अनुसन्धानपछि प्रहरीले अभियोगपत्र सरकारी वकिलमा बुझायो। अहिले जिल्ला अदालत चितवनमा तीन जनाविरुद्ध मुद्धा दर्ता भएर बहस चलिरहेको छ। पक्राउ परेका लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की विरुद्ध आत्महत्या दुरुत्साहको अभियोग लागेको छ।

कार्की पुडासैनीको प्रेमीका भएको खुलेको छ। तर, पुडासैनीले उनलाई झुक्याएको पनि खुलासा भइसकेको छ। शालिकराम विवाहित रहेको थाहा पाएपछि अस्मिता उनीसँग टाढिने प्रयासमा थिइन्। त्यसैबीच शालिकरामको शव भेटियो, होटलभित्र। यो सबै प्रकरणमा पुडासैनीले रेकर्ड गरेको भिडियोले काम गर्‍यो जसमा उनले यी तिनै जनाको नाम मुछेका छन् - आत्‍महत्या गर्नुको कारण भन्दै।

शालिकराम र अस्मिताबीचको प्रेम सम्बन्धले मृत्युसम्मको मोड लिए पनि चर्चाको केन्द्रमा भने रवि लामिछाने नै रहिरहेका छन्।

के थियो पत्रकार पुडासैनी र अस्मिताको सम्बन्ध?

प्रहरीले लिएको बयानमा अस्मिताले एक वर्ष अघिदेखि चिनजान भएको बताएकी छिन्। उनले बयानमा भनेकी छिन्, 'करीव एक वर्ष पहिले फेसबुक मार्फत् शालिकराम पुडासैनीसँग चिनजान भएको हो। हामीबीच माया प्रेम बसेकाले फोन तथा म्यासेज मार्फत अन्तरंगका कुराहरु हुने गर्थ्यो। शालिकराम अलि शंकालु स्वभावका थिए जसका कारण बेलाबेलामा मसँग झगडा पनि पर्थ्यो।'

प्रेम सम्बन्धमा रहेकी कार्की शालिकराम त विवाहित भएको थाहा पाउनसाथ टाढिन थालेकी थिइन्। तर, पत्रकार पुडासैनीले उनलाई धम्की दिन थालेको बयानमा उल्लेख छ।

‘म तिम्रो र मेरोबीच भएका कुराकानीका म्यासेजहरु सार्वजनिक गरी तिम्रो बेइज्जत गरी विष खाएर मर्छु' भन्दै अस्मितालाई धम्क्याउँथे।

उनको मृत्यु हुनुभन्दा ७/८ दिन पहिलेमात्रै अस्मिताले थाहा पाइन् - शालिकको त विवाह भइसकेको रहेछ। 'मलाई झुटो बोलिरहेका छन् भन्ने थाहा पाएपछि उनलाई 'मलाई फसायौ, मेरो पिछा गर्न छाडिदेउ' भनेको थिएँ,' बयानमा उनले भनेकी छिन्, 'उनले मलाई पटकपटक फोन गरी, बाटो समेत छेकी दु:ख हैरानी दिन छाडेका थिएनन्।'

पुडासैनीको व्यवहारबाट आजित भएपछि अस्मिता न्युज २४ बाट प्रसारण हुने 'सिधा कुरा'को टिमसम्म पुगेकी थिइन्। पुडासैनीबाट पिछा छुटाउने आशामा रविसम्म उनी पुग्न खोजेकी थिइन्। त्यसैले उनले टिभीका क्यामरापर्सन अनिल ढुंगेललाई कार्यालयबाहिर भेटको देखिएको छ।

'जनतासँग सिधा कुरा' भन्ने कार्यक्रममा काम गर्ने रवि लामिछाने, युवराज कँडेलसमेतलाई बताएमा शालिकरामबाट पिछा गर्नबाट छुटाइदेलान भन्ने सोचेर ४/५ दिन पहिले उक्त टेलिभिजनका क्यामरापर्सन अनिल ढुंगेललाई फोन तथा म्यासेज गरेँ तथा भेटेँ,' बयानमा कार्कीले नै भनेकी छिन्, 'रवि लामिछानेसमेतलाई त्यसको जानकारी गराइदिनु भनी हामीबीच भएका म्यासेजका केही स्क्रिन सर्ट दिएकी थिएँ।'

अस्मिताले पुडासैनीलाई सिधा कुराको टीमसँग भेटेको फोटो समेत पठाएकी थिइन्।

'कार्यालय अगाडि उभिएको मेरो फोटो शालिकरामलाई पठाएकी थिएँ,' उनले बयानमा भनेकी छिन्, 'भेटको विषयमा अनिल ढुंगेलले रवि लामिछाने, युवराज कँडेलसमेतलाई जानकारी गराएको भनेका थिए।'

पछि अनिलले शालिकराम पुडासैनीलाई फोनसमेत गरेको अस्मितालाई बताएका थिए।

साउन २० गते करिव १० बजेतिर पुडासैनी चितवनको कंगारु होटेलमा मृत अवस्थामा फेला परेका थिए। सोही राति साढे १२ बजेतिर अनिल ढुंगेलले अस्मितालाई फोन तथा म्यासेज गरी शालिकरामसँग भएको कुराकानी र म्यासेज डिलिट नगर्न भनेको अस्मिताले बयान दिएकी छिन्।

तर, भोलिपल्ट बिहानमात्र अस्मिताले पत्रकार पुडासैनी मृत अवस्था फेला परेको जानकारी पाइन्। ‘बिहानको सिफ्टको ड्युटीमै हुँदा शालिकरामको मृत्युबारेमा थाहा पाएकी थिएँ,' उनले बयानमा भनेकी छिन्, 'पछि २:३० बजेतिर अनिल ढुंगेल र दीपक बोहराले मलाई पटक पटक फोन गरी भेट्न र ५ मिनेटको भए पनि भिडियो बनाइदिन भनिरहेका थिए। तर, म भेट्न गइन।'

अस्मिताले बयानमा आत्महत्या गर्न कुनै पनि दुरुस्तसाहन नगरेको दावी गरेकी छिन्।

‘मैले उनलाई यसरी आत्महत्या गर्ने सम्मको कुनै कार्य गरेको छैन, मलाई झुटो आश्वासनमा दिइ प्रेममा पारी फसाएको र उनको वास्तविकता थाहा पाई मलाई पिछा गर्न छाडी देउ भन्दा समेत नमानेकाले उनलाई सम्झाइदेलान भन्ने मनसायले रवि लामिछाने समेतलाई भनिदिनु भनी क्यामेराम्यान अनिल ढुंगेलसमेतलाई केही म्यासेजका स्क्रिनसर्टहरु दिएको हुँ,' उनले बयानमा भनेकी छिन्, 'शालिकरामसँग सम्बन्ध बिग्रिएपछि मैले अनिल ढुंगेललार्इ शालिकराम र मेरो बीचको म्यासेज र अन्य कुराकानी सेयर गरिदिएको र सो पश्चात अनिल ढुंगेल, युवराज कँडेल, रबि लामिछाने सो सम्बन्धमा सल्लाह गरी योजना बनार्इ शालिकरामलाई हतोस्साही हुने किसिमले ब्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ।'

रविले भने अस्मितालाई पक्राउपछि मात्र चिनेको बयान दिएका छन्।

‘अस्मिता भन्ने रुकु कार्कीसँग देखभेट भएको थिएन, प्रहरीद्वारा पक्राउ परेपश्चात मात्र देखे चिनेको हुँ,' रविले बयानमा भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell