PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सोल्टीसँगैको पार्लर, विदेशीसँगको बिहे: कहालीलाग्दो कहानीको एउटा पटाक्षेप



सविन ढकाल

सोल्टीसँगैको पार्लर, विदेशीसँगको बिहे: कहालीलाग्दो कहानीको एउटा पटाक्षेप

सोल्टी होटेलबाट निस्किएपछि चोकैमा छ एउटा ब्युटी पार्लर।

पार्लरमा महिलामात्र होइनन्, पुरुषलाई समेत मसाज लगायतको व्यवस्था छ। त्यसैले पुरुषहरुको पनि चहलपहल देखिन्छ यहाँ। करिब एक वर्षअघि चिनियाँ नागरिक जिङ थिङ जोङ पनि यही पार्लरमा पुगेका थिए।

सोल्टी होटेलमा पुगेका सेवाग्रही पार्लरका पनि ग्राहक हुन्। व्युटी पार्लरकी सञ्चालक हुन् ४२ वर्षीया उषा कुमारी घिमिरे।

लमजुङ घर भएर सानेपामा बस्दै आएकी घिमिरेको टेकुमा समेत अर्को पार्लर छ। यो पार्लरमा जोङ अब परिचित हुन थालिसकेका थिए। किनकि उनको यहाँ आउनेक्रम निक्कै बाक्लिन थाल्यो। पार्लरको समेत ज्ञान भएका जोङको सहयोगी व्यवहारले उषा उनीसँग नजिकिन पुगिन्। जोङले उषाको पार्लरमा सहयोग समेत गर्न थालेपछि पनि दोस्ती बलियो हुने नै भयो।

उषाका पति करिब ६ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कोरिया पुगे। कोरिया पुगेपछि त केही समय उषासँग राम्रै सम्पर्क भयो। तर, सधैं भने झै किन हुन्थ्यो। एकदिन उनले थाहा पाइन् - अर्कैसँग बिहे गरे उनका श्रीमान त अमेरिका पुगिसकेका रहेछन्। त्यसपछि उषाको सहारा रहे एक मात्र छोरा। उषा अहिले २२ वर्षीय छोरासँगै छिन्।

पार्लरमा ग्राहक बनेर छिरेका जिङ र उषाको सम्बन्ध यतिमै मात्र सीमित भएन। श्रीमानको बिछोडपछि एक्लिएकी उषाका लागि जिङ सहारा बने। केही महिनाकै दौरानमा जिङसँगको सङ्गतले उषा पनि चिनियाँ भाषा बोल्न र बूझ्न सक्ने भइन्। जोङ पनि नेपाली भाषासँग परिचित हुँदै थिए।

विगत ८ महिनादेखि उनीहरू सँगै बस्न पनि थालेका थिए। उनीहरूको यस्तो सम्बन्ध उनका छोरालाई भने अलिकति पनि चित्त बुझेको रहेनछ। यही विषयमा बेलाबेलमा आमाछोराबीच विवाद हुन थाल्यो।

एक दिन जोङले आफ्नो चिनियाँ साथीलाई विहे गर्न नेपाली केटी चाहिएको सुनाए। उनको चाहना बुझेकी उषाले आफ्नै गाउँतिरकी एक जना युवती मिलाइदिइन्।

एक दिन जोङ १० लाख रुपैयाँ लिएर कोठा फर्किए।

उषाले सोधिन्, 'पैसा कसरी आयो?'

जोङले आफूले नेपाली केटी चाइनिजलाई बिहे गराएबापत रकम आएको सुनाए।

नेपाली केटी बिहे गर्दा नै १० लाख रुपैयाँ!

नेपाली केटीलाई पनि फाइदा। उषा कन्भिन्स भइहालिन्।

व्यूटी पार्लरभित्र अनुहार मात्र होइन, अपराधको पनि मेकअप हुन सुरु भयो। गाउँमा आर्थिक अवस्था कमजोर भएका केटीलाई चिनियाँ पुरुषसँग विवाह गराएर चीन पठाउने धन्दाको थालनी यहीँबाट सुरु भयो। लाखौँ लाख आम्दानीको पनि।

तर, उषा र जिङको यो धन्दा धेरै टिकेन। मानव बेचबिखन व्यूरोको टोलीले भदौ १२ गते उनीहरूलाई नियन्त्रणमा लियो। उनीहरू सँगै थप तीन जना चिनियाँ र पाँच नेपाली गरी दश जान पक्राउ परे।

तस्करीको कमाइ क्यासिनोमा खर्च!

जोङले एक नेपाली युवतीलाई चिनियाँ युवकसँग विवाह गराए बापत १० लाख रुपैयाँसम्म लिने गरेका थिए। यसरी आएको रकम उनले उषालाई पनि दिने गरेका थिए। उषाको कोठामा जोङ र उषाका दुईवटा छुट्छाछुटै दराज छन्। उनीहरू आफ्नो पैसा आफैआफै राख्छन्। प्रहरीले उनीहरूलाई पक्राउ गर्दा पनि कोठाबाट ११ लाख नेपाली रुपैयाँ, ३८ हजार भारु र केही विदेशी रकम फेला पारेको थियो।

जोङले तस्करीबाट कमाएको पैसा सोल्टी होटेलमा क्यासिनोमा सिध्याउने गरेको उषाले प्रहरीमा बयान दिएकी छिन्। तर, प्रहरीले यसमा विश्वास गर्न सकेको छैन।

‘तस्करी गरेको रकम पक्कै क्यासिनोमा सिध्याएन होला। कालो धनलाई सेतो बनाउन मात्र उनी क्यासिनो गएको देखिन्छ। थप अनुसन्धान हुँदैछ,‘ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

छोरालाई मार्ने धम्की!

उषाका २२ वर्षीय छोरालाई जोङले पटकपटक मार्ने धम्की दिएको बयानमा खुलेको छ। दुई जनाको सम्बन्धमा छोराले डिस्टर्ब गरेको भन्दै मारेर फाल्नु पर्छ भन्दै उषालाई धम्की समेत दिने गरेका थिए उनले। जोङले शारीरिक र मानसिक पीडासमेत दिने गरेको उषाले बताएकी प्रहरी स्रोतले जानकारी दियो। उनले साचो बोलिन् या आफू बच्ने नयाँ रणनीति, अहिले नै भन्न सकिने अवस्था छैन।

आपराधिक योजना

सर्कस, वेश्यावृत्ति, घरेलु कामदार, वैदेशिक रोजगार र यौन शोषणको लागि महिला तथा बालबालिकाको मानव तस्करी हुने गरेकोमा अहिले फेरिएको ट्रेन्ड ब्याख्या गर्छ यो घटनाले। अन्तर्देशीय विवाह, मानव अङ्ग प्रत्यारोपण, शैक्षिक परामर्श, कलाकार खेलाडीको रूपमा मानव तस्करी हुने गरेको प्रहरीको दाबी छ।

मानव तस्करीको सिकारमा ५९ प्रतिशत महिला हुने गरेको यूएनओडिसीको रिपोर्टले देखाएको छ।

प्रलोभन, भ्रमणको बहाना, रोजगारी, नक्कली विवाह, धाक धम्की, औषधीको प्रयोग गरी लट्ठाएर पनि तस्करी हुने गरेको छ।

‘विवाह गरेर जाने ट्रेन्ड देखिएको छ। भारतसम्म जानका लागि विवाह गर्ने र एयरपोर्ट पुगेर केटा भाग्ने समेत गरेको देखियो,' व्यूरोका प्रमुख एसएसपी ईश्वरबहादुर कार्कीले भने।

मानव तस्करीको रुट

भारत, युरोप, अफ्रिका, अमेरिका लगायतमा मानव तस्करी हुने गरेको छ। अमेरिका लैजानका लागि तस्करले नेपाल हुँदै भारत, खाडी मुलुक, थाइल्यान्ड, श्रीलङ्का,  टर्की, अफ्रिका र दक्षिण अमेरिका हुँदै संयुक्त राज्य अमेरिका लग्ने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

युरोपमा गरिने मानवतस्करीमा नेपाल हुँदै भारत, श्रीलङ्का, थाइल्यान्ड, खाडी मुलुक, टर्की, लिविया र दक्षिण अमेरिका हुँदै युरोपसम्म पुगेको देखिएको छ।

‘उनीहरूले यसको लागि देशैपिच्छे समूह बनाएका हुन्छन्। त्यसको लागि आवश्यक कागजपत्र तयारी अवस्था राख्छन्,' एसएसपी कार्कीले भने।

अफ्रिका लैजान पनि पहिले भारत नै पुर्‍याउने गरेको देखिएको छ। भारतबाट मिजोरमबाट श्रीलङ्का हुँदै खाडी पुगेको पनि प्रहरी अनुसन्धानमा देखिन्छ।

सम्वन्धित समाचार

आफू बेचिएपछि बिबिरानीको यो डरलाग्दो धन्दा, काठमाडौं बसेर चीनमा दुलही ‘सप्लाई’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell