PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

जंगबहादुरले मोक्षका लागि बनाएको कालमोचनको बेहाल : ऐतिहासिक पक्षको बेवास्ता, पुनर्निर्माण सकिएको मन्दिरमा चुहिन्छ पानी



सहयोग रञ्जित

जंगबहादुरले मोक्षका लागि बनाएको कालमोचनको बेहाल : ऐतिहासिक पक्षको बेवास्ता, पुनर्निर्माण सकिएको मन्दिरमा चुहिन्छ पानी

तत्कालीन श्री ३ जंगबहादुर राणाले विसं १९३१ मा थापाथलीस्थित बाग्मती किनारमा 'जंग हिरण्य हेम नारायण मन्दिर' बनाए। बेलायत यात्राबाट फर्केपछि उनले रानी र छोराको नाममा सो मन्दिर निर्माण गरेका थिए।

टेकुदेखि थापाथली दोबानसम्म करिब १० वटा घाट छन्। त्यसमा सबैभन्दा महत्त्वपूर्ण घाटका रूपमा कालमोचन घाटलाई लिइन्छ। जंगबहादुरले सत्ता कब्जा गर्नका लागि धेरै षड्यन्त्र रचेका थिए। त्यसक्रमा उनले धेरै नरसंहार र गोत्र हत्या गरे। त्यसैबाट मोक्ष पाउनका लागि जंगबहादुरले कालमोचन घाट स्थापना गरेको बताइन्छ।

कालमोचन घाटमा नै राणाले नारायण, लक्ष्मी र सरस्वतीका मूर्ति स्थापना गरी गुम्बज शैलीमा तीन तल्ले 'जङ्ग हिरण्य हेम नारायण मन्दिर' निर्माण गरेका थिए। माथिल्लोपट्टि गोलाकार डोम शैलीमा चारवटा नागसहितको गजुर र तेस्रो तल्लाको चारै कुन्नामा चार सिंह (मेघ, मल्ल, सिंह र सधुन) राखी स्थापना गरिएको मन्दिर अगाडि भने जंगबहादुरकै पूर्णकदको प्रतीमा रहेको छ।

राणा शासन अन्त्य भएर शाहकालबाट गणतन्त्रसम्म पुग्दा समेत सो मन्दिर अगाडि जंगबहादुरको श्राद्ध हुँदै आएको छ। श्राद्धको चाँजोपाँजो भने सबै सरकारी स्तरबाटै गुठी संस्थानले गर्दै आएको छ।

कालमोचन घाटमा करिब एक दर्जनभन्दा बढी मन्दिर छन्। ती मन्दिरमध्ये 'जङ्ग हिरण्य हेम नारायण मन्दिर' लाई त्यसबेला निर्माण गरिएको अब्बल मन्दिरका रूपमा लिइन्थ्यो।

वि. सं. २०७२ सालको भूकम्पमा भने जंगबहादुले निर्माण गर्न लगाएको 'जङ्ग हिरण्य हेम नारायण मन्दिर' ध्वस्तै भयो। सो मन्दिर १९९० सालको भूकम्पमा पनि क्षति पुगेको थियो। ०७२ को भूकम्पले भने पुरै ढल्यो।

पुरातत्त्व विभागले मन्दिर पुनर्निर्माणको जिम्मेवारी पाएपछि २०७३ सालमा मन्दिरको पुनर्निर्माणको काम ठेक्का दिएको थियो। तर, विविध कारणले बीचमा मन्दिर निर्माणको काम केही समय रोकियो। २०७५ मा सकाउने लक्ष्य लिइएको मन्दिर भने हाल निर्माण सम्पन्न भइसकेको बताइएको छ।

 

'पुनर्निर्माण त सकियो रे, तर पानी चुहिरहेको छ'

पुनर्निर्माण सकिएको दाबी गरिए पनि मन्दिरमा मूर्ति स्थापना गरिएको छैन। मन्दिरमा रहेका मूर्ति मूल ढोकाको सिँढी बाहिर अस्थायी टहरामा राखिएका छन्। मन्दिरका पुजारी गोविन्दप्रसाद कोइराला भने मन्दिरभित्र मूर्ति स्थापना नगर्ने पक्षमा छन्।

मूर्ति स्थापना नगर्नुको कारण बारेमा सोध्दा उनले मन्दिर पुनर्निर्माणका क्रममा गरिएको 'हेलचेक्राइ'ले मन्दिर जुनसुकै अवस्थामा फेरि ढल्न सक्ने भएकाले आफू मूर्ति बाहिरै राख्ने पक्षमा पुगेको बताए।

२०५७ सालदेखि मन्दिरको पुजारीका रूपमा कार्यरत उनी नयाँ बनेको मन्दिरको अवस्था देखेर निराश छन्।

'बाहिरबाट त वाह क्या राम्रो देखियो। तर, यो मन्दिर बनाएको केही मिलेको छैन। भर्खरै बनाएको मन्दिरको माथिल्लो तल्लाबाट पानी चुहिरहेको छ। यो कस्तो तरिकाको पुनर्निर्माण हो? ' कोइराला प्रश्न गर्छन्।

उनले यसो भनिरहँदा हामी भने उनीसँगै मन्दिर भित्र प्रवेश गर्ने तयारीमा थियौँ। उनले मन्दिरको सिँदी चढ्ने बित्तिकै पुनर्निर्माण भइसकेको मन्दिरमा पहिलो खोट औँल्याए। मूल ढोका देखाउँदै भने,' ढोका राम्ररी लाग्नुपर्ने। यो त पुरै हल्लिन्छ। यो राम्ररी काठको काम गर्ने कालिगढले गरेको काम नै होइन।'

मन्दिरको पहिलो तल्ला प्रवेश गरेसँगै उनले झ्यालमा जम्मा भएको पानी देखाउँदै अर्को गल्ती औँल्याए, 'पहिला यहाँ पानी पस्दैन थियो। अहिले माथिको तल्लामा तल्लाको बाहिरी स्लोप सानो बनाइएको जस्तो छ। त्यसैले भित्रसम्म पानी पसेको छ।'

पहिलो तल्लामा मूर्ति स्थापना गर्नका लागि काठ र ढुंगाले स्थान बनाइएको छ। तर, कोइराला भने भगवानकै सुरक्षाका लागि मूर्ति त्यहाँ स्थापना गर्न नसकिने तर्क फेरि सुनाउँछन्।

कारण – नवनिर्मित मन्दिरको दोस्रो र तेस्रो तल्लामा पानी रसाइरहेको छ। दोस्रो तल्लामा सानो भर्‍याङबाट प्रवेश गर्ने बित्तिकै झरीले रसाइरहेको पानी भित्र चुहिरहेको र भित्ताहरू रसाइरहेको देख्न सकिन्छ।

तेस्रो तल्लाको अवस्था त झनै दयनीय छ। कोठामा प्रवेश गर्ने बित्तिकै माथिबाट चारै दिशामा पानी चुहिरहेको देखिन्छ। जमिनमा पानी जमिरहेको छ भने भित्ताहरूबाट पानी रसाइरहेको छ। नयाँ काठ पानीका कारण बिग्रिने अवस्थामा देखिन्छ।

 

'पुनर्निर्माणमा खेलाँची'

नयाँ मन्दिर, नयाँ काठ, आधुनिक समय तर माथिल्लो तल्लामा प्रवेश गरेसँगै पुनर्निर्माण चाँडै सकाउने नाममा 'खेलाँची' गरेको भान हुन्छ। स्थानीय अनन्त वैद्यको शब्दमा जंगबहादुर राणाले बनाएको सो मन्दिर 'पुनर्निर्माणको नाममा गरिएको विनाशको उत्तम नमूना हो।'

पुजारी कोइराला जब मन्दिर प्रवेश गर्छन् तब उनलाई मन्दिरको अवस्थाले 'दिक्दार' बनाउँछ। विगत केही दिनयता परेको पानीका कारण मन्दिरको माथिल्लो तल्लामा चुहिएको पानी तल्लो तल्लाहरुमा सर्दै गएकाले अहिले नभए केही समय पछि मन्दिर ढल्न सक्ने डर रहेको उनी बताउँछन्।

निर्माण पक्षले भने पुनर्निर्माण सकिएको भन्दै मूर्ति भित्र राख्न कोइरालालाई आग्रह गरिरहेका छन्।

पहिले कहिल्यै पानी नचुहिने ठाउँमा कसरी चुहियो त पानी?

कोइराला डोमतिर देखाउँदै भन्छन्, 'अस्ति भर्खर बनाएको डोम चर्किसक्यो। त्यहीबाट नै पानी पसेको होला।'

यहाँ डोमको कुरा गर्दा कालमोचनमा रहको सो मन्दिरमा 'इन्जिनियरिङ' का हिसाबमा गरिएको गल्ती धेरै देखिन्छ। पहिला गोलाकार डोम शैलीमा रहेको मन्दिरको शैली अहिले परिवर्तन भएको प्रस्ट देखिन्छ। राणा समयभन्दा हाल डोमको गोलाकार र गजुरको आकार घटेको छ। डोममा रहेको गजुर राख्ने क्रममा समेत गम्भीर त्रुटि गरिएको छ। पहिला गजुरको बाहिर चारवटा नाग थिए। अहिले भने गजुरमात्रै देख्न सकिन्छ। यस्तै मन्दिरको चारैतिर आठवटा गजुर थिए। हाल ती गजुर पनि राखिएको छैन।

तेस्रो तल्लामा प्रवेश गर्ने ढोका पनि राम्ररी बन्द हुँदैन। मन्दिरमा रहेका अधिकांश झ्याल ढोकाहरुको 'फिनिसिङ' राम्ररी नगरिएको उनी बताउँछन्।

यता, कोइराला प्रश्न गर्छन्,'मन्दिर पुनर्निर्माणको काम सकियो रे। मैले इन्जिनियरलाई सोधेँ गजुर र नाग खै भनेर। उनले छाउनीमा छ भने। राख्न बजेट छैन भन्ने उत्तर आयो। यस्तै तल घण्ट पनि राखेको छैन। बाहिर त्यसै फालिएको छ। त्यो राख्न नि बजेट छैन भन्छन्।'

पानी पसेको बारेमा पनि इन्जिनियरसँग कुरा गरेको तर अब बिस्तारै बनाउने उत्तर पाएको उनले बताए।

यस्तै मन्दिर निर्माणका क्रममा भवन डिजाइन गर्नेहरुले पहिलाका कुराहरूलाई ध्यान नदिई धेरै नयाँ प्रयोग गरेका छन्। कोइराला त्यसप्रति खुसी छैनन्।

तेस्रो तल्लाको अगाडिको भागमा मात्रै झ्याल बाहिर बुट्टेदार संरचना थियो पहिला। अहिले भने मन्दिर निर्माण गर्नेहरूले चारवटै झ्यालमा बुट्टेदार संरचना बनाइदिएका छन्। यस्तै डोममा गजुर राख्न बनाइएको बुट्टेदार गुम्बजलाई सामान्य रूपमा बनाइयो। डोममा चारैतिर तानिएको ठूलो गोलाकार घेरालाई हाल भने रंगमात्रै लगाएर छाडिएको छ।

कोइराला भन्छन्,' मसँगै मन्दिर निर्माणका क्रममा एक शब्द पनि सोधिएन। अहिले भने यो मन्दिरमा केही मिलेको छैन जस्तो लाग्छ।'

लापरबाहीको अर्को नमुना तेस्रो तल्लाको चारै तिर राखिएका सिंहरुको प्रतिमा हेरेर प्रस्ट हुन्छ। चारै सिंहको प्रतिमालाई 'वाइलिङ' गरेर जोडिएको छ। न त त्यसलाई रंगाइएको छ न त त्यसलाई सफा नै गरिएको छ। सिंहहरुको अवस्था देख्दा मन्दिर निर्माणको काम चाँडै सकाउने हतारो रहेको देखिन्छ। खियाले खाएको मूर्तिको धेरै स्थानमा प्वाल छ। यी सिंहरुमा जल्प लगाउन बजेट नभएको जवाफ उनले इन्जिनियरबाट पाए। स्थानीय भने सिंहहरु राखेको स्थान समेत नमिलेको दाबी गर्दैछन्।

कोइराला मन्दिरको दयनीय अवस्था देखेर आक्रोशित हुँदै भन्छन्,' अहिले मूर्ति भित्र राख राख भनिरहेका छन्। यस्तो अवस्थामा अब केही हुँदैन। गजुर, घण्ट, सिंहदेखि लिएर पानी परेको रोकिनु पर्‍यो अनिमात्रै नारायणलाई भित्र विराजमान गराइन्छ। नत्र बाहिर नै राख्ने हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell