PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यसरी लुटे चिनियाँ नागरिकले पाँच घण्टासम्म नेपाली बैंक, भारत र भुटानमा पनि बै‌क लुटेको आशंका



पहिलोपोस्ट

यसरी लुटे चिनियाँ नागरिकले पाँच घण्टासम्म नेपाली बैंक, भारत र भुटानमा पनि बै‌क लुटेको आशंका

काठमाडौं : चिनियाँ नागरिकले एटिमको प्रणाली नै ह्याक गरेर पैसा लुट्न ९ वटा बैंकलाई माध्यम बनाएको पाइएको छ। तीन वटा बैंकको एटिएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको कार्ड उनीहरुले प्रयोग गरेको पाइएको छ।

प्रहरीले नेपालबाहेक भुटान र भारतबाट पनि कार्डको प्रयोग भएको आशंका गरेको छ। शुक्रबार मात्र नेपाल आएका चिनियाँहरुले शनिबार बिहान ११ बजेदेखि बैंकहरुको कार्ड प्रयोग गरेर एटिएम बुथबाट रकम निकालेका थिए। उनीहरुले अपरान्ह ४ बजेसम्म एटिएमबाट रकम झिकेका थिए भने साढे ४ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार चिनियाँ ह्याकरहरुले विभिन्न एटिएम बुथबाट १ करोड ६८ लाख ५४ हजार रुपैयाँ झिकेका छन्। प्रहरीले भने १ करोड २६ लाख रुपैयाँ बरामद गरेको छ। नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले भने साढे ३ करोड हाराहारी रकम झिकेको देखिएको जनाएको छ। चिनियाँ नागरिकले लुटेको रकमको पूर्ण विवरण आइसकेको छैन।

पैसा झिक्नका लागि चिनियाँहरुले नबिल, नेपाल एसबिआई र नेपाल इन्भेस्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग गरेका छन्। रकम झिक्न एटिएम कार्ड भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमई र सनराइज बैंकको प्रयोग भएको छ।

चिनियाँहरुले ५ घण्टामा १५ सय पटकसम्म कार्ड घोटेका छन्। प्रारम्भिक अनुसन्धानमा नबिल कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदिएको थियो। नबिलमा भिसाको प्रोसेसर चल्छ। चिनियाँहरुले घोटेको कार्ड भिसा प्रोसेसरमा जान्छ।

भिसाले नेप्सलाई सम्पर्क गर्छ। नेप्सले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ। तर नेप्स आफैंलाई भने आफूले स्वीकृत गरेको थाहा हुँदैन। भिसा र नेप्सको बीचमा बसेर चिनियाँहरुले छेडखानी गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अब बिस्तृत अनुसन्धान फरेन्सिक टोलीले गर्ने छ। यसका लागि नेप्सले फोरेन्सिक टोली झिकाइसकेको छ।

राष्ट्र बैंक, बैंकर्ससहित प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा अझै धेरै सचेतना अपनाउनु पर्ने जनाएको छ।

पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्। प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको बताएको छ।

उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए। होटेलको तीन वटा कोठा बुक गरेर उनीहरु शुक्रवारदेखि त्यहीँ बसेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell