PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाली चलचित्रको तीन दिने प्राज्ञिक सम्मेलन हुँदै



नेपाली चलचित्रको तीन दिने प्राज्ञिक सम्मेलन हुँदै

काठमाडौं : चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र केन्द्रको संयुक्त आयोजनामा तीन दिने नेपाली चलचित्रको प्राज्ञिक सम्मेलन हुने भएको छ। उक्त सम्मेलन भदौ २६ देखि २८ गतेसम्म नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कार्यक्रम संयोजक अनुप सुवेदीले जानकारी दिए।

सम्मेलनमा चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र त्यसको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा प्यानल छलफल गरिने उनले बताए।

यहि अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल गर्ने बताइएको छ।

नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रको बारेमा गहकिलो बहस, छलफल र विमर्श गर्न पहिलो पटक यस्तो सम्मेलन हुन लागेको आयोजकले जनाएको छ।

आम मानिसलाई आफ्नो समाज बुझाउन र सौन्दर्य चेतना बढाउन कला साहित्यका अन्य विधा सरह चलचित्रको महत्व पनि बुझाउन यस्तो कार्यक्रमले मद्दत पुग्ने विश्वास लिएको संयोजक सुवेदीले बताए।

नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुन लागेको यो सम्मेलनमा नेपाल इन्डिपेन्डेन्ट फिल्म मेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ, अस्कर इन्टरनेशनल कलेजको सहआयोजना रहने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell