PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

व्रत बस्नुका के के छन् फाइदा बेफाइदा? यस्ता छन् धार्मिक र मेडिकल विज्ञानका तर्क



हेम रोकाहा

व्रत बस्नुका के के छन् फाइदा बेफाइदा? यस्ता छन् धार्मिक र मेडिकल विज्ञानका तर्क

हरितालिका तीज नेपाली हिन्दु महिलाहरुको महान चाड हो। तीजमा विवाहित महिलाहरु आफ्नो जन्मघर माइत फर्कने र मिठा मिठा परिकारहरु खाँदै नाचगान गरेर रमाइलो गर्ने परम्परा छ। तीजमा अर्को पनि एउटा महत्वपूर्ण परम्परा छ, त्यो हो व्रत अथवा उपवास बस्नु।

विवाहित तथा अविवाहित महिलाहरु तीजको दिनमा व्रत बस्ने परम्परा रहेको छ। तीजको अवसरमा व्रत बसेमा आफ्ना मनोकामना पूरा हुने जनविश्वास पनि रहँदै आएको छ।

सामान्यतया तीजको दिनमा पानीसमेत नखाइ भगवान शिवको पूजापाठ गर्ने गरिन्छ। कतिले यसलाई धार्मिक महत्वका रुपमा लिने गर्छन् भने कतिले आफ्ना अभिभावकको देखासिकी गरेर पनि व्रत बस्ने गर्छन्। व्रत बस्नुको धार्मिक महत्व त आफ्नै ठाउँमा छ तर मेडिकल विज्ञानले पनि व्रत बस्नुलाई केही हदसम्म राम्रो मानेको छ।

व्रत बस्नुको धार्मिक महत्व

व्रत बस्नु भनेको नयाँ परम्परा नभई परापूर्वकालदेखि नै चलिआएको चलन हो भन्छन्, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक ज्योतिषाचार्य कृष्णप्रसाद पौडेल। पुराणमा पार्वतीले हिमालय पर्वतमा व्रत बसेर भगवान शिवलाई पतिको रुपमा पाएको कुरा उल्लेख भएको ज्योतिषाचार्य पौडेल बताउँछन्।

‘पार्वतीले व्रत बसेर भगवान शिवलाई पतिको रुपमा पाएको कुरा पुराणमा लेखिएको छ। त्यसै परम्पराअनुसार व्रत बस्नेले अखण्ड सौभाग्य पाउने तथा रोग व्याधी निको हुन्छ भन्ने मान्यता छ’, पौडेलले भने।

विवाहित महिलाले व्रत बस्दा पतिको आयु लामो हुने तथा सन्तान प्राप्ति हुने र अविवाहित नारीले व्रत बसे भगवान शिव जस्तै आफूले चाहे अनुकूल वर (पति) पाउने विश्वास रहेको उनले बताए।

संस्कृतमा व्रतलाई ‘उपवास’ भनिने बताउँदै ज्योतिषाचार्य पौडेलले उपवासको अर्थ परमात्माको नजिक हुनु भएको बताए। त्यसैले मानिसहरु परमात्मा या ईश्वरको नजिक हुनको लागि पनि व्रत बस्ने चलन रहेको उनले बताए।

आज भगवान शिवलाई बेलपत्र, भाङ, पञ्चामृत तथा १६ प्रकारका व्यञ्जनहरु चढाएर पूजाआजा गर्नुपर्ने उनको भनाइ छ। व्रत बस्दा स्वस्थ महिलाले पानी पनि नखाइ निर्जल व्रत बस्ने चलन भए पनि अशक्त र बिरामीहरुले फलफूल खाएर व्रत बस्ने चलन रहेको उनी बताउँछन्।

मेडिकल विज्ञानले व्रतबारे के भन्छ?

व्रतले शारीरिक रुपमा फाइदा वा बेफाइदा के पुर्‍याउँछ भन्ने कुरा व्रतको प्रकारमा भर पर्ने कन्सल्टेन्ट फिजिसियन डा. लोचन कार्कीले बताए। लामो समयसम्म केही पनि नखाई बसिने व्रतले शरीरमा नकरात्मक प्रभाव पार्ने र कहिलेकाहिँ २४ देखि ४८ घण्टासम्म बसिने व्रतले शरीरलाई केही हदसम्म फाइदा नै  पुर्‍याउने डा. कार्कीले बताए।

‘लामो समयसम्म व्रत बस्दा शरीरमा आवश्यक पौष्टिक तत्वहरुको कमीले गर्दा विभिन्न स्वास्थ्य समस्याहरु देखिन सक्छन्। अझ पानीको कमीले डिहाइड्रेसन भयो भने त मिर्गौलाले काम नगर्नेसम्म पनि हुन सक्छ,’ डा कार्कीले भने, ‘तर ६ महिना अथवा वर्ष दिनमा एक दुई पटक व्रत बस्दा भने शरीरलाई फाइदा नै गर्छ। यो शरीरलाई केही समय आराम दिए जस्तै हो।’

निरन्तर व्रत बस्दा यसले ग्यास्ट्रिक निम्त्याउने र कालान्तरमा त्यो अल्सरमा परिणत हुन सक्ने सम्भावना उनी औंल्याउँछन्।

‘हाम्रो पेटमा निरन्तर एसिड निस्किरहन्छ, यदि हामीले लामो समय खानेकुरा वा पानी खाएनौँ भने त्यो एसिडले पेटको छालामा असर गर्छ र ग्यास्ट्रिक तथा अल्सर हुन सक्छ’, उनले भने।

समय समयमा बसिने व्रतले शरीरमा सुगरको मात्रा नियन्त्रण हुने भएकाले यसले मधुमेहको जोखिमबाट बचाउने उनको भनाइ छ। फलफूलहरु खाएर व्रत बस्दा स्वस्थ जीवनयापन हुने भएकाले यसले मुटुलाई पनि स्वस्थ बनाउने उनले बताए। मोटोपना भएका मानिसहरुले व्रतलाई तौल घटाउने उपायको रुपमा पनि लिन सक्ने उनी बताउँछन्।

उनले भने, ‘छोटो समयको लागि बसिने व्रतले पूर्ण वा केही मात्रामा खानेकुरा नखाँदा शरीरमा क्यालोरी घट्छ, जसले तौल घटाउनमा मद्दत गर्छ।’

व्रत बस्नु सबैको लागि भने उपयुक्त नहुने कार्की बताउँछन्। मधुमेह भएका, मिर्गौलाको समस्या भएका तथा लो ब्लड सुगर भएकाहरुका लागि व्रत बस्नु घातक हुन सक्ने उनको भनाइ छ। यस्ता बिरामीहरुले व्रत बस्नुअघि चिकित्सकको सल्लाह लिनुपर्ने उनले बताए।

विशेषगरी बच्चा, वृद्धवृद्धा तथा शारीरिक वजन थोरै भएकाहरुले व्रत बस्न नहुने डा. कार्कीको सुझाव छ। व्रत बस्नुअघि प्रशस्त पानी पिए शरीरमा पानीको मात्रा पर्याप्त हुने हुँदा डिहाइड्रेसनको खतराबाट बच्न सकिने उनको भनाइ छ। व्रत बसेर चिल्लो खानेकुरा खाएमा त्यसले पेटमा नकारात्मक असर गर्ने उनले बताए।

डा. कार्की भन्छन्, ‘व्रत बस्दा शरीरमा नकारात्मक प्रभाव पर्न नदिन कडा शारीरिक मेहेनत नगर्ने, प्रशस्त पानी पिउने तथा आराम गर्नु उपयुक्त हुन्छ। विशेष स्वास्थ्य समस्या भएकाहरु तथा लामो समय व्रत बस्न चाहनेहरुले चिकित्सकको सल्लाह लिएर यस्ता असर न्यून पार्न सक्छन्।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell