PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'घरबेटीकै बन्धनमा छोरीमाथि पटकपटक अत्याचार', न्यायका लागि आमाको चित्कार



स्वेच्छा राउत

'घरबेटीकै बन्धनमा छोरीमाथि पटकपटक अत्याचार', न्यायका लागि आमाको चित्कार
प्रतीकात्मक तस्बिर

गएको असार २ गते।

साँझको खाना पकाइसकेर होमवर्क गर्न बसेकी थिइन्, पूजा डोम। भोलिपल्ट कलेजमा बुझाउनुपर्ने नोट सक्ने हतारो थियो। लेख्दालेख्दै उनको डटपेनको मसी सकियो।

आमालाई 'पसल गएर आउँछु,' भनिन्, 'डटपेन किन्न।'

बेलुकीको ७ बज्नै लागेको थियो। साँझपख एक्लै पठाउन आमा ललिताको मनले मानेन। त्यसैले साँइली छोरी रीतालाई पनि सँगै पठाइन्। भनेकी थिइन्- ‘रात पर्न लागिसक्यो। बजार डुलेर नबस्नु। डर हुन्छ।‘

उनीहरु बस्ने घरदेखि पसल धेरै पर छैन। तर, पाकेको खाना सेलाइसक्दा पनि छोरीहरु फर्किएनन्। दुई दिदी बहिनी नै गएकाले बजारमै अलमल गर्दै होलान् भन्ने सोचिन् ललिताले। त्यसदिन उनलाई पनि सञ्चो थिएन। श्रीमान, छोरा र कान्छी छोरी भोकाएकाले आफैँ उठेर खाना दिइन्। पटकपटक बार्दलीमा निस्किएर दुई छोरीको बाटो हेर्दै पनि थिइन् उनी।

अचानक उनको फोनको घण्टी बज्यो। स्क्रिनमा देखियो अपरिचित नम्बर। फोन उठाइन्। तर, केही बोल्न नपाइ उतैबाट प्रश्न तेर्सियो- ‘तपाइँकी छोरी खोइ दिदी?’

‘बजार गएका छन्, कलम किन्न,’ उनले जवाफ फर्काइन्।

फेरि आफैंले सोधिन् - 'किन के भयो?’

फोनमा बोलेकी महिलाले उनको प्रश्नको जवाफ दिइनन्। झट्टै आम्दा अस्पताल, धुलाबारी आउन अह्राइन्।

कसैसँग झगडा गरे कि? या गाडीले पो ठक्कर दियो? मनमा अनेक तर्कना आए ललितामा।

अस्पताल जाने हतारोमा थिइन् उनी। साँइली छोरी रीता आइपुगिन्, एक्लै। पूजाले उनलाई साथीको घरमा छोडेर एक्लै बजार गइछिन्। रीताले निकैबेर कुर्दा पनि दिदी लिन नआएपछि घर फर्किएको बताइन्।

ललिता अस्पताल पुगिन्। छोरी पूजा रोइरहेकी थिइन्। वरपर एक हुल मानिस। छेउमै प्रहरी पनि। उनको मुटु ढक्क फुल्यो। केही सोच्न सकेकी थिइनन्। एक महिलाले सोधिन्- विष्णु खड्का को हो?

भनिन्- ‘दाइ हुन्। घरबेटी।’

‘विष्णु खड्काले तिम्रो छोरीलाई बर्बाद पार्‍यो। तिमीलाई केही थाहा छैन?’

दुई वर्षअघि बासविहीन भएका थियो ललिताको परिवार। बसिरहेको घर बेच्नुपर्ने अवस्था आइलाग्यो। कोठा त खोजे तर ‘तल्लो जात’को भन्दै कसैले दिएनन्। त्यही असहज परिस्थितिमा विष्णु खड्काले ठाउँ दिएका थिए, उनीहरुलाई।

बाँसको भाटाको बार र जस्ताको छानो- त्यसैको माथिल्लो तलामा बस्न थाल्यो ललिताको परिवार। भाडा मासिक २५ सय।

जात नहेरी घर भाडामा दिने घरबेटीले कसरी बर्बाद पारे आफ्नी छोरीलाई?

उनले सोध्न सकिनन्। जम्मा भएकै भीडमा गाईंगुईं सुनिन् - ‘बलात्कार गरेछ त्यो पापीले।'

ललितालाई पत्याउन गाह्रो पर्‍यो।

‘त्यति बूढो मान्छेले त्यस्तो काम गर्दैन। ढाँट्छेस?,’ उनले छोरीलाई नै गाली गरिन्। रोइन्, कराइन्।

छोरीले ढाँटेकै रहेछ भने पनि मेडिकल रिपोर्टले त ढाँटेन। तर, उनलाई अझै पनि विश्वास लागिरहेको थिएन। त्यसपछि अर्धचेत अवस्थामा रहेकी छोरीलाई लिएर मेची अस्पताल पुगिन्। जाँच गराइन्। रिपोर्ट फरक आएन।

‘विश्वास गर्न सक्ने ठाउँ कहाँ थियो र? म रातमा छोरीहरुलाई बाहिर पठाउन डराउँथेँ। तर, के था’ तर्साउनेहरुलाई रात न दिन। उसकी नातिनी सरहकी मेरी छोरीलाई…,’ बोल्दाबोल्दै भक्कानिन्छिन् ललिता।

पूजाले दिएको बयानका आधारमा पुलिस विष्णु खड्काको घर पुग्यो, गिरफ्तारीका लागि। तर, भेटिएनन्। उनी भागिसकेका थिए।

+++

६० वर्ष कटेका विष्णु खड्का हरेक बिहान स्कुटर हुइँक्याउँदै पुग्थे धुलाबारीको दुर्गा टोल। दुर्गा टोलमा उनको बाँसको भाटाले बारेको एउटा घर। त्यहाँ पूजाको परिवार बस्छ। त्यही घरको भुइँ तलामा रक्सी पसल खोलेका थिए विष्णुले। हरेक दिन पसल खोलेसँगै भेला हुन्थ्यो, तासको खाल। त्यसपछि त दिनभरि पसलतिरै हुन्थे।

रात परेपछिमात्र पसल बन्द गर्थे र घर फर्कन्थे विष्णु। उनको घरमा बुवा, श्रीमती, छोराछोरी, नातिनातिना पनि छन्। हजुरबुवा बनिसकेका विष्णु यौन दुराचारी हुन सक्छन् भन्ने कसले अनुमान गर्नु?

तर, जो विष्णुको कर्तुतको शिकार भइन्, उनी भने गुम्सिएर बसिन्। उनले अनुमान गरिनन् उसको दुराचार सहनुको नतिजा भयानक हुन्छ भन्ने।

करिब एक वर्षअघिको कुरा हो, पूजा मर्निङ वाकमा थिइन्। घरदेखि एक किलोमिटरमात्र टाढा पुगेकी थिइन्। परबाट स्कुटरमा आउँदै थिए विष्णु। उनले नदेखेजस्तो गरिन्। किनकि पूजालाई विष्णुको चालढाल मन पर्दैन थियो। सधैं एकान्तमा भेट्दा शरीरमा घोच्ने, चिमोट्ने, छुने गर्थे। त्यसैले उनीदेखि सकेसम्म तर्किन्थिन्।

तर, हिँडिरहेकी पूजाको अघिल्तिर लगेर रोके स्कूटर, सोधे- ‘बिहान बिहानै एक्लै कता हिँडेको?’

जवाफमा ‘मर्निङ वाक आएको’ भनेर आफ्नो बाटो लागिन्। तर, विष्णु त पछि नै लागे। झपार्दै भने - 'म तेरो घर मालिक होइन? मलाई व्यवहार देखाउँछेस्? खुरुक्क आइज घर पुर्‍याइदिन्छु।'

१६ वर्षकी मात्र थिइन् पूजा। उनीहरुलाई मालिकले भनेको कुरा नकाट्न सिकाइएको थियो। विष्णुको चर्को स्वरले आत्तिइन् र स्कुटरमा बसिन्। तर, विष्णुले त जताबाट आएको त्यतै घुमाए स्कुटर।

पूजाले आत्तिँदै सोधिन्- कता हिँडेको?

विष्णुले भने - 'काम छ। सकेर घरै जाने हो।'

पत्याइनन्। रोइन्। स्कुटर रोक्न आग्रह गरिन्। आखिरमा धुलाबारी, शान्तिनगर जाने बाटोको नयाँ पुलमुनि पुगेरमात्र रोकियो स्कटर। निकै पर परसम्म घर नदेखिने त्यो एकान्तमा पुर्‍याएर पूजालाई जबरजस्ती गरे विष्णुले।

'रोएँ, कराएँ तर कसैले सुनेनन्। म रोउन्जेल चुप लागेर बस्यो। रोइसकेपछि भन्यो- ‘भिडियो खिचेको छु। कसैलाई भनिस् भने भाइरल बनाइदिन्छु,’ पूजा त्यो कहालीलाग्दो दिन सम्झन्छिन्।

विष्णुले घरबेटी हुनुलाई आफ्नो तागत बनायो।

जातीय विभेद व्याप्त छ उनीहरुको गाउँमा। डोम हुनुकै कारण कोठा पाउँदैनन्, सामाजिक कार्यमा उनीहरुको सहभागिता वर्जित। काम गर्छन् तर ज्याला समयमा पाउँदैनन्। पूजाको परिवारले छोएको खान समेत घीन मान्ने विष्णुलाई पूजाको शरीरसँग भने समस्या भएन।

पूजाको पूरै परिवार ट्वाइलेट सफा गर्ने काम गर्छन्। ४० वर्षीय बुबा श्यामदयाल डोम नेपाल टेलिकमको कार्यालयमा, आमा ललिता डोम इलाका प्रहरी कार्यालयमा। दाइ नगरपालिकाको फोहोर संकलन गर्छन् र पूजा भने धुलाबारी जेसिसको कोठा र ट्वाइलेट सरसफाइमा। बहिनीहरु समय मिलेसम्म आमालाई सघाउन पुग्छन्।

'अरुको ट्वाइलेट सफा गरेर खानेहरु' मा कहलिन्छ सिंगो परिवार।

पढाउन सके छोराछोरीको जिन्दगी ट्वाइलेटमा बित्दैन भन्ने आशा राख्छिन् ललिता। पूजाले त पढाईमा राम्रै गरिरहेकी पनि थिइन्। तर, केही समययता उनको पढाई बिग्रिँदै गयो। फूर्सद मिल्नासाथ किताबमा घोत्लिने उनी एकोहोरो टोलाएर बस्न थालेकी थिइन्।

कारण रहेछ, उनीमाथि विष्णुको नियमित शारीरिक र मानसिक दमन।

विष्णु उनलाई कहीँ नजान उर्दी दिन्थे। कतै निस्किन लागेको देख्दा कता? किन? कतिखेर फर्कने जस्ता प्रश्न वर्षन्थ्यो।

जवाफ नफर्काउँदा तासको खालमा इशारा गर्दै भन्थे- अब भिडियो देखाउने हो।

पूजाको कमजोरीको लगातार फाइदा उठाइरहे विष्णुले। धम्क्याउनु, तर्साउनु उनको दैनिकी बन्यो। पूजा घरमा एक्लै हुँदा छाडेनन्। कलेजबाट फर्कने बाटो ढुक्न समेत पछि परेनन्। हरेकपटक सकेसम्म खुला र एकान्त ठाउँमा लगेर आफूसँग जबरजस्ती गर्ने गरेको बताउँछिन् पूजा। भन्छिन्, 'एकान्त नभेट्दा होटलमा लान्थ्यो।'

धुलाबारीस्थित न्यु रञ्जित होटलमा लगेर कुटपिट र शारीरिक यातना समेत दिने गरेको उनी सुनाउँछिन्। 'केही समय यता मलाई सधैं चार पाँचथरी औषधी खुवाउन थालेको थियो। खान नमान्दा कोच्याउँथ्यो। ती दबाइ खान थालेदेखि म बिरामी पर्न थालेँ,' पूजाले भनिन्।

केही समयअघि त पूजामा पत्थरीको समस्या देखियो। आफ्नो खर्च जुटाउन अरुको घरमा लुगा धुने काम गर्थिन्। पत्थरीका कारण शरीरले दिएन, त्यो काम छोडिन्।

काम छाड्नु र फूर्सदमा हुनुको फाइदा उठाउने पनि विष्णु नै भए, सधैँ।

+++

गत असार २ गते।

पूजाको कलेज बन्द थियो। बिदा भएकाले बिहानको घरधन्दा सकेर बजार निस्किइन् उनी। बाटोमा सधैंजस्तै ढुकेर बसेका थिए विष्णु। आफूसँग नसोधी घरबाट निस्किएको भन्दै गाली गरे। आँखा तर्दै स्कुटरमा बस्ने इशारा दिए।

चिनेका मान्छेले देख्ने डर थियो पूजामा। त्यसैले चुपचाप बसिन् स्कुटरमा। त्यसदिन निकै आक्रोशित थिए विष्णु। कुनै एकान्त ठाउँ, बाँसघारी, झाडी, खेत चहार्न बाँकी राखेनन्। स्कुटर पछाडि रोइरहेकी पूजालाई पटकपटक चुप लाग्ने निर्देशन दिँदै हुँइक्याइ रहे। अन्तत: पुर्‍याए न्यु रञ्जित होटल।

'त्यसदिन मलाई पटकपटक बलात्कार गर्‍यो। मलाई यति पीडा भयो कि, होटलको सामानहरु तोडफोड गरेँ। घण्टौं रोइरहेँ। उसले एकपछि अर्को गर्दै औषधिहरु कोच्याइ रह्यो,' उनी सुनाउँछिन्।

होटलबाट निस्किँदै गर्दा उनको मनमा एउटै कुरा खेल्यो- 'बाँचीबाँची मरे सरह हुनुभन्दा मर्नु जाती।'

उनी आत्महत्याको योजना बुनेर निस्किइन्। उनलाई त्यसदिन आफ्नो मनमा बढेको त्रासबाहेक वरपर के भइरहेको छ केही याद थिएन।

घर पुगिन्, खाना बनाइन्। घरबाट निस्कने बहाना बनाउन सकिरहेकी थिइनन्। भनिन् - 'डटपेनमा इंक सक्यो। किनेर आउँछु।'

निस्कनुअघि छानेर सबैभन्दा लामो सल लिकालिन् र ओढिन्। पासो लगाउने ठाउँ पनि सोचेकी थिइन्।

तर, आमाले बहिनीलाई पनि साथमा पठाइन्। त्यसपछि बहिनीलाई अल्मल्याउनै समय लाग्यो। जब बहिनीलाई साथीकहाँ छाडेर निस्किइन् तब फेरि ठोक्किइन् विष्णु खड्कासँगै।

उसले जबरजस्ती स्कुटरमा हाले र आम्दा अस्पताल छेउमा लगेर चेतावनी दिए - 'तेरो चाला ठीक देखेको छैन, ठाउँमा बस्। मलाई त केही हुँदैन। मेरा त सबैतिर मान्छे छन्। बाँच्न नपाउने तेरै आमाबाउले हो।'

त्यसपछि पूजालाई त्यहीं छाडेर हुँइकिए खड्का। उनी जोडजोडले रुँदारुँदैको अवस्थामा भेटिएपछि स्थानीयले अस्पताल पुर्‍याए। माइती नेपाल र प्रहरीबाट पनि आइपुगे। पूजाको बयान लिए। विष्णु भने त्यही दिनदेखि फरार।

'आरोपितलाई खोज्न इलाका प्रहरीले कुनै कसुर बाँकी राखेको छैन। भेटिएको छैन। इन्डियामा भएका आफन्तकोमा लुकेर बसेको छ भन्ने सुन्नमा आएको छ। त्यतैको प्रहरीसँग समन्वय गर्ने प्रक्रिया अघि बढाएका छौं,' इलाका प्रहरी कार्यालय धुलाबारीका इन्स्पेक्टर टीकाबहादुर कार्कीले बताए। उनका अनुसार आरोप पुष्टि गर्ने आधारहरु भेटिएका छन्। खड्काविरुद्ध झापा जिल्ला अदालतमा मुद्दा दायर पनि भइसकेको छ।

+++

कानुनी प्रक्रिया अघि बढ्यो। पूजाकी आमा छोरीलाई न्याय दिलाउन लागिपरेकी छिन्। तर, कानुनी लडाइँभन्दा अप्ठ्यारो भइरहेको समाजसँगको जुधाई।

पूजा सबेरै कलेज जानका लागि निस्किन्छिन्। उनलाई देख्नेहरु भन्छन्- 'इज्जत फालिसकिस् अब के जित्न पढ्न जान्छेस्?', 'हेर् हेर् लाजै पचाएर अनुहार देखाउँदै हिँडेकी', 'अलच्‍छिनलाई गाउँमा राख्यो भने सबै लोग्नेमान्छेलाई बिगार्छे।'

उनीहरु पूजाको परिवारले योजनाबद्ध रुपमा विष्णुलाई फसाएको आरोप लगाउँछन्, सम्पत्तिका लागि।

नसुनेजस्तो गर्नु, नबुझेजस्तो गर्नुको विकल्प नै छैन उनीसामु।

'कतिको नाम याद गर्नु? कतिलाई सम्झनु? हामी त आफ्नो काम गरिखाने मान्छे। केही बोल्दा कमाइ खाने भाडो नै बन्द हुने डर,' पूजाकी आमा सुक्सुकाउँछिन्।

घटना बाहिर आएपछि नै हो जेसिस कार्यालयले पूजालाई कामबाट निकालेको। कापी, कलम र खाजा खर्च भए पनि जुट्छ भनेर कलेजपछि कार्यालय सफा गर्न पुग्थिन्। तर, अब त काम पनि छैन। दिनभर घरमा एक्लै हुन्छिन्। टोलाएर बस्छिन्। घरिघरि आमासँग भन्छिन्- 'ममी त्यो मान्छेलाई सजाय भएन भने म बाँच्दिन।'

सहन त आमालाई पनि गाह्रो छ। तर, हार्ने पक्षमा छैनन् उनी। मनमा गहिरो चोट बोकेर समाजसँग लड्दै छिन्। विष्णु खड्का बेपत्ता भए पनि अर्घेलोमा परेको छ पूजाको परिवार। ललिताको परिवारलाई नै गाउँबाट निकाली पाउँ भन्ने मागसहित कहिले वडा कार्यालय त कहिले इलाका प्रहरी कार्यालय धाउनेहरु सक्रिय छन्। पहिले कसैलाई समस्या थिएन। अहिले पूजाको बुवाले रक्सी खाएर अश्लील शब्द बोलेको, होहल्ला गरेको, फोहोर गरेको आरोप लगाउँदै उनीहरुलाई खेद्ने रणनीतिमा छन्।

विष्णु खड्काकी श्रीमतीले आफ्नो फरार लोग्नेको दुष्कर्म गरेको मान्न तयार हुने त कुरै छाडौं उल्टै कोठा भाडा नतिरेको आरोप समेत लगाइन्।

'महिना मर्न नपाइ बाटोबाटै पैसा माग्न आउथ्यो उसको श्रीमान, अहिले भाडा दिएको छैन रे। विष्णु आओस् म मेरी छोरीको न्यायकोभन्दा अगाडि घरभाडाको हिसाब गर्दिउँला,' ललिता आक्रोशित हुँदै भन्छिन्, 'तर त्यो मान्छे नआएसम्म म कुनै पनि हालतमा घर छाड्दिनँ।'

गत साउन २९ गते त विष्णुका बुवा नै आए। ललिताका श्रीमान निदाइरहेको कोठाको सामान बाहिर मिल्काइ दिए। आगो लगाएर लखेट्छु भनेका थिए उनले। एकछिन झगडा पर्‍यो त्यहीँ। र, फर्किए उनी।

ललिताले पटुकीमा मोबाइल अड्काएर सबै घटनाक्रम खिचेकी रहिछिन्। प्रहरी कार्यालय पुगेर इन्स्पेक्टर टीकाबहादुर कार्कीलाई देखाइन्। उनले विष्णुको परिवारलाई घटनाबारे बुझ्न बोलायो। परिवारमात्र होइन, गाउँका प्रायः महिला आए। ललिताले लगाएको आरोप झुटो भएको बताए। विष्णुका बुबा सञ्चो नभएर सुतिरहेका छन् भन्ने बहानाबाजी गरे।

त्यसपछि प्रहरीले भिडियो देखाएर प्रश्न सोध्दा सबै नाजवाफ।

भदौ ८ गते त झापा मेचीनगर–९ वडा कार्यालयले उनीहरुको ढोकामा कोठा छोड्न उर्दी जारी गर्दै पत्र समेत टाँस्यो। वडाध्यक्ष गोपाल खड्काले घरबेटीले दर्ता गरेको गुनासोको आधारमा पत्र काटेको बताए। पहिलोपोस्टसँगको कुराकानीमा उनले पत्राचारको बारेमा मात्र बोलेनन्, आफैँ न्यायाधीश भए झै भने - 'पहिले उनीहरु हित्तचित्त मिलेर होटल जाने, रमाइलो गर्ने गरेका रहेछन्। घर जग्गा आफ्नो नाममा हुने लोभ पनि रहेछ। अहिले कुरो मिलेन अनि यो सबै भइराखेको हो।'

घरमै आएर धम्की दिनेमात्र होइन, वडा कार्यालयबाटै घर छाड्न पत्रमात्र आएन ललितालाई। घर छाडेर टाढा जाने हो भने पैसा दिने प्रपञ्च पनि मिलाइसकेका थियो विष्णुको परिवारले। तर, त्यसलाई दुत्कारेकी छिन् ललिताले।

यी सबै भोगिरहँदा पूजाकी आमा ललिता आक्रोशित हुन्छिन्। छिन् मै रुन्छिन् पनि। अहिले उनीसँग सन्तानप्रतिको स्नेह र जिम्मेवारी बाहेक केही छ भने पीडकप्रतिको आक्रोश मात्र।

(घटनामा पीडित परिवारका सबैको नाम परिवर्तन गरिएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell