PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पशुपतिनाथ मन्दिर परिसरमा व्रतालुको रमझम, हेर्नुहोस् तस्बिरमा

पशुपतिनाथ मन्दिर परिसरमा व्रतालुको रमझम, हेर्नुहोस् तस्बिरमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : भाद्र शुक्ल तृतीया तिथिमा मनाइने हरितालिका तीजका अवसरमा आज देशैभरिका शिवालयमा भक्तजनको भीड लागेको छ। धार्मिक एवम् सांस्कृतिक पर्वका रुपमा तीज मनाइने गरिन्छ।

तीजको व्रत बसेका व्रतालुले आज उमामहेश्वर, शंकरगौरी लगायत विभिन्न नामले पुकारिने शिव-पार्वतीको पूजा आराधना गर्छन्। सत्ययुगमा हिमालयकी छोरी पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन अर्थात तीजमा निराहार व्रत बसी महादेवको पूजा आराधना गरी खुसी पारेर उनैलाई पतिका रुपमा पाएको कथा पौराणिक ग्रन्थहरुमा पाइन्छ।

आज ब्रह्मा, विष्णु र महादेवको त्रिमूर्तिका रुपमा मानिने प्रसिद्ध दत्तात्रय मन्दिर, भक्तपुरको सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिर, आशापुरी महादेव मन्दिर, चित्तपोलको कैलाशनाथ महादेव मन्दिर, सिरुटारको सोमलिङ्गेश्वर, गुप्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव मन्दिर, गुण्डुको अनन्तलिङ्गेश्वर महादेव मन्दिरलगायत देशैभरिका शिवालयमा व्रतालु महिलाको एकाबिहानैदेखि ठूलो घुइँचो लागेको छ।

नेपालीका आराध्यदेव भगवान पशुपतिनाथमा दर्शनार्थीको भीड लागेको छ। पशुपतिनाथ मन्दिरमा पूजा आराधना र दर्शन गर्न व्रतालु महिलाहरुको लाइन बिहानैदेखि लागेको छ। पशुपतिनाथ प्रवेश गर्नका लागि व्यवस्था गरिएका चार वटा लाइन सडकसम्मै पुगेको छ। बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै वटा ढोका खोलिएको छ। मन्दिरका चार ढोका आज राति दर्शनार्थी महिलाको लाइन नसकिउन्जेलसम्म बन्द नगरिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ।

०६५ सालदेखि बन्द गरिएको पशुपतिनाथको पूर्वी ढोका पनि आजैदेखि सधैँका लागि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपतिनाथ मन्दिर परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, राष्ट्रिय अनुसन्धान विभाग र कोषकासहित ४ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ।

हेर्नुहोस् पशुपतिनाथ मन्दिर परिसरमा तीजको रमझम तस्बिरमा:



ट्रेन्डिङ पोस्ट

Ncell