PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनियमितता गर्ने पदाधिकारीलाई भक्तपुर क्यान्सर अस्पतालमा प्रवेश निषेध



रासस

अनियमितता गर्ने पदाधिकारीलाई भक्तपुर क्यान्सर अस्पतालमा प्रवेश निषेध

भक्तपुर : भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेशमा निषेध गरेका छन्।

देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमल कुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो।

अस्पतालमा आज आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएको बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताए।

उनले भने, 'देशभरका क्यान्सरका बिरामीको उपचारका लागि आएको बजेटमा ब्रम्हलुट गर्ने पदाधिकारीलाई अब क्यान्सर अस्पतालमा कुनै हालतमा प्रवेश गर्न दिदैनौँ, उनीहरु विरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका छौँ, अस्पतालमा सेवा पनि रोक्दैनौँ।'

उनले अस्पतालमा व्यापकरूपमा भएको भ्रष्टाचार रोक्न पटकपटक आग्रह गर्दा पनि मनोमानी गरेपछि बाध्य भएर अस्पताल जोगाइदिन स्थानीय सरकारका रूपमा रहेको भक्तपुर नगरपालिकालाई लिखितरूपमै आग्रह गरेपछि नगरपालिकाले साउन ३० गते पुरानो समिति भङ्ग गरेर नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको बताए।

संयोजक धुख्वाले भने, 'अस्पतालमा विगतको व्यवस्थापनबाट भइरहेका अनियमितता तथा भ्रष्टाचार, श्रम शोषण, कर्मचारीप्रति दुर्व्यवहार जस्ता बदनियतपूर्ण कार्यलाई समयमा नै रोक्नु आवश्यक ठानेर नै यस समितिले तत्कालीन व्यवस्थापन समितिका कर्तुतका बारेमा भक्तपुर नगरपालिकामा लिखित निवेदन दिँदै भ्रष्टाचार नियन्त्रणका लागि अनुरोध गरेका हौँ, अब अस्पतालका कुनै पनि निकायमा भ्रष्टाचार हुन दिदैनौँ ।'

उनले भक्तपुर नगरपालिकाले संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको नेतृत्वको तत्कालीन व्यवस्थापन समिति भङ्ग गरी गठन गरेको नयाँ व्यवस्थापन समितिप्रति अस्पतालका सबै कर्मचारीको पूर्ण निष्ठा, भरोसा र समर्थन रहेको भन्दै पुरानो समितिलाई अब नमान्ने बताए।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रा डा ऋषिकेश नारायण श्रेष्ठले अस्पतालमा नयाँ समिति गठन भएपछि पनि अस्पतालले दिएको सेवा तथा सुविधामा कुनै कमी नआएको बताए। उनले नयाँ समिति आएपछि कर्मचारीमा ऊर्जा थपिएको र बिरामीलाई दिने सेवा समय एवं थप सेवा सञ्चालन गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell