PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खुल्ला गरिँदै झ्व:छेँ; यसरी ब्युतिँदैछ हिप्पीको फ्रिक स्ट्रिट



सहयोग रञ्जित

खुल्ला गरिँदै झ्व:छेँ; यसरी ब्युतिँदैछ हिप्पीको फ्रिक स्ट्रिट
फोटो: FORMIDABLE MAG

वसन्तपुरमा रहेको 'झ्व:छेँ' लाई नेपालको पहिलो 'पर्यटकीय हब' भन्दा फरक नपर्ला।

सन् १९६० तिरको कुरा हो। बिहानदेखि मध्यरातसम्म झ्व: छेँका सडक गल्लीमा पर्यटकहरु हुन्थे। नेपालीभन्दा विदेशीको उपस्थिति धेरै हुन्थ्यो। प्रायजसोका हातमा गाँजा हुन्थ्यो। केही विदेशी'एप्पल पाइ' पाउने पसलमा भेटिन्थे। खुल्ला स्वतन्त्रताको परिचयक थियो यो ठाउँ।

१९५० सम्म त नेपाल विश्वका लागि बन्द नै थियो। तर, जब नेपाल खुल्ला भयो तब झ्व:छेंले नै काठमाडौंलाई विश्वमाझ चिनायो। त्यससमय धेरैजसो पर्यटक प्रेम र स्वतन्त्रताको खोजी गर्दै 'हिप्पी' का रुपमा नेपाल भित्रिएका थिए।

हिप्पी ट्रेल : 

सन् १९६० मा हिप्पी युगको सुरुवात भयो। भियतनाममाथि अमेरिकाले थालेको आक्रमणको विरोधमा हिप्पीहरुको जन्म भयो। उनीहरु युरोपियन पूँजीवादविरोधी आन्दोलनका समर्थक थिए। युद्ध लड्नकालागि सेनामा अनिवार्य भर्ना हुनुपर्ने घोषणा गरिएको थियो। तर, हिप्पीहरुले युद्ध नभइ शान्ति र भाइचाराको सन्देश दिन आफ्नो जन्मभूमि त्यागेर अनिश्चित यात्रामा निस्किएका थिए।

युरोपको पूँजीवादी शैली त्यागेर हिप्पीहरु युगोस्लाभिया, ग्रीस आइस्ल्यान्ड, टर्की इरान हुँदै अफगानिस्तान पुगे। हिप्पीहरुले आफ्नो लागि छुट्टै 'हिप्पी ट्रेल' बनाए। पछि यी ट्रेलमा बस समेत संचालन भएको थियो। अफगानिस्तानबाट पाकिस्तान हुँदै भारतको गोवा, दिल्ली पुगेका हिप्पीहरु अन्तत: विश्वको लागि भर्खरै खुलेको नेपाल पनि आइपुगे।

नेपाल हिप्पीहरुका लागि उदार थियो। नेपाललाई स्वर्ग भन्थे उनीहरु। झ्व:छेँका सडक र गल्लीलाई उनीहरुले आफ्नो स्वतन्त्रताको प्रतीक बनाए।

१९६५ सम्म नेपाल 'हिप्पी' को हब बनिसकेको थियो। चरेस र गाँजाको लतमा मस्त रहन 'झ्व:छेँ' हिप्पीको केन्द्रविन्दु थियो। वसन्तपुरतिर गाँजासँगै रक एन्ड रोल गुञ्जिन सुरु भयो। हाफ पाइन्ट, लामो कपाल, झ्याप्पदारी पालेका विदेशीहरु गल्ली गल्लीमा भेटिन्थे।

६० को दशकसम्म झ्व:छें 'फ्रिक स्ट्रिट' का नामले हिप्पीमाझ परिचित भइसकेको थियो।

फ्रिक अर्थात् स्वतन्त्र। त्यसबेला हिप्पीहरुलाई झ्व:छेँमा फ्रिक हुनबाट कसैले रोक्दैन थियो। नेपालमा गाँजा चरेसमाथि प्रतिबन्ध थिएन। झ्व:छेँका घरहरुमा 'ह्यासिस एन्ड म्यारिवाना सोल्ड हेयर'(यहाँ गाँजा चरेस पाइन्छ) भनेर लेखिएको हुन्थ्यो। अहिले बाटोमा तरकारी बेचिएझै त्यससमय थरीथरीका गाँजा बिक्री हुन्थे।

क्याथल ओ सरकेगले हिप्पी युगका बारेमा भनेका कुरा मार्क लेटचीले आफ्नो किताब फार आउटमा उल्लेख गरेका छन्। जसमा सरकेगलेभनेका छन्,'काठमाडौंले तिमीहरुलाई परिवर्तन गर्नेछ, तिमीहरुले काठमाडौंलाई होइन।'

वास्तवमा त्यो हिप्पीको नोस्टालजिया नै हुनुपर्छ, समुद्रपारबाट उनीहरु परिवर्तनको खोजीमा नै काठमाडौं आए रकाठमाडौंको केन्द्र वसन्तपुरमा अखडा जमाए। तर, उनीहरुले कहिलै काठमाडौंलाई परिवर्तन गरेनन्। बरु उनीहरुको आगमनसँगैहिप्पीहरुलाई लक्षित गर्दै सस्तो होटल र लजहरु खोलिए। काष्ठमण्डप पछाडि रहेको क्याम्प होटलबाट नै 'हिप्पी कल्चर' वसन्तपुर क्षेत्रमा सुरु भएको विश्वास गरिन्छ। सम्भवत: क्याम्प सो समयको सस्तो होटलमा पर्थ्‍यो। यस्तै, गाँजाकै लागि झ्व:छेँ आउने हिप्पीहरुका लागि लक्षित गर्दैहोटल इडेन, क्याबिन, सेन्चुरी लज जस्ता होटलहरु खोलिए।

प्राय जसो होटलका मेनुहरु गाजाँसँगै सम्बन्धित हुन्थे। यी होटलहरुमा ह्यासिस केक देखि गाँजा क सम्म पाइन्थ्यो। ह्यासिस पारखीहरुका लागि छुट्टै मेनु हुन्थ्यो।

हिप्पीहरु 'पाइ' का सौखिन थिए। त्यससमय धेरै केक पसलहरु खुले।'एप्पल पाइ'तिनमा अनिवार्य हुन थाल्यो। त्यससमयको होटल 'स्नोम्यान'अहिले पनि संचालनमै छ।

यति मात्रै कहाँ हो र। भगवानको तस्विरसँगै गाँजाको विज्ञापन समेत हुन्थ्यो। त्यसको मुख्य केन्द्र थियो इडेन ह्यासिस सेन्टर। क्यालेन्डरमा भगवानका पोस्टर राखेरत्यसको तल लेखिएको हुन्थ्यो,'लेट अस टेक हायर' इडेन ह्यासिस सेन्टर। हाल ती क्यालेन्डर इन्टरनेटबाट खरीद गर्न सकिन्छ।

झ्व:छेँ पुगेर पनि हिप्पीको संगत गर्ने तर उनीहरु जस्तै 'फ्रिक' नहुनेहरुलाई भने 'प्लास्टक हिप्पी' भनिन्थ्यो। प्रोफेसर अभि सुवेदीले हिप्पीसँग धेरै संगत गरेका थिए। यसै विषयमा उनीसँग गरेको कुराका आधारमा शेखर खरेलले 'मैले नदेखेको हिप्पी' किताबमा गाँजा चरेस नतान्ने, हिप्पी कर्म नगर्ने तर उनीहरुको मण्डलीमा रहेनलाई 'प्लास्टिक हिप्पी' को रुपमा वर्गिकृत गरिएको उल्लेख गरेका छन्।

**

झ्व:छेँ ब्युताउँने प्रयास

नेपालभाषामा 'झ्व:छेँ'को अर्थ हुन्छ लस्करै घरहरु।त्यतिखेर वसन्तपुरस्थित नौतल्ले दरबारबाट सिधै अगाडिको बाटोमा लस्करै घर थिए। यसरी घरहरु लगनदेखि टेकुसम्म फैलिएको थियो भने ओमबहाल लगायतका स्थानहरु झ्व:छेँ अन्तर्गत नै पर्ने स्थानीय बताउँछन्। सत्तल र टेराकोटा इट्टाका घरहरुमाझ हिप्पीको बास हुन्थ्यो। होटलहरु हिप्पीका कारण भरिभराउ हुन्थे। यहाँका स्थानीयहरुका लागि समेत व्यापार राम्रै हुन्थ्यो।

हिप्पी युग चल्दै गर्दा सन्१९७३ मा नेपाल सरकारले गाँजा र चरेस बिक्रीमा प्रतिबन्ध लगायो। भनिन्छ नेपालमा गाँजा चरेसमाथि प्रतिबन्ध लगाउनु अमेरिकी योजना थियो। अहिले भने अमेरिका कै कतिपय राज्यमा गाँजालाई वैधानिक मान्यता दिइएको छ। त्यससँगै नेपालमा हिप्पी आन्दोलनको अवसान जस्तै भयो। गाँजा चरेसलाई ड्रग्सले विस्थापित गरेको थियो।

स्थानीय नेविनमान श्रेष्ठ भन्छन्,'ड्रग्सले यहाँका युवाहरु बिग्रिए। तर, त्यो हिप्पीको कारण होइन। हिप्पी स्वतन्त्र थिए। उनीहरु कसैलाई दु:ख दिने, झगडा गर्ने स्वभावका थिएनन्। तर, जब गाँजा चरेसको प्रतिबन्धसँगै ड्रग्सको बिक्री वितरण भयो। यहाँको अवस्था नै बिग्रियो। लामो समय लाग्यो झ्व:छेँलाई ड्रग्सबाट मुक्ति दिलाउन।'

झ्व:छेँलाई अर्को धक्का लाग्यो जबसरकारले वि सं २०५८ मा हनुमानमान ढोका प्रवेश गर्न पर्यटकमाथि शुल्क लगाउन सुरु गर्‍यो।पर्यटकले जुद्ध शालिकबाट वसन्तपुर आउने बेला त्यहाँ रहेको काउन्टरमा पैसा तिर्नुपर्‍यो। झ्व:छेँसम्म जाने मूल बाटो त्यही थियो। अर्को बाटो अलि घुमाउरो छ, त्यो समय सो बाटो पर्यटकले प्रयोग गर्दैन थिए। त्यसैले महानगर र स्थानीयबीच एउटा सहमति भयो-'जुद्ध शालिकाबाट झ्व:छेँ जाने पर्यटकलाई निशुल्क प्रवेश गर्न दिने।'

तर, त्यो सहमति कागजमा मात्रै सीमित भयो। उल्टै महानगरपालिकाले झ्व:छेँ प्रवेश गर्ने बाटोमा नै टिकट काउन्टर राख्यो। यसले पर्यटकहरुमाझ झ्व:छेँ प्रवेश गर्न पनि अतिरिक्त शुल्क तिर्नुपर्ने भान भयो।

यसले ठमेलतिरै बढावा मिल्यो पर्यटकका लागि। त्यसमाथिहिप्पीकै कारण खुल्ला झ्व:छेँ त्यसयता अस्तव्यस्ताको केन्द्र बन्दै गयो।

पर्यटकका लाग खुलेका लज, होटल बन्द भए। स्थानीयले आफ्नो घर बेचर बसाइसराइ गरे।

कुनै समय हिप्पीका कारण परिचित झ्व:छेँ हाल नयाँ पिँढीका युवायुवतीहरुको 'जंकसन' बनेको छ। जंकी हिप्पीले 'ज्वाइन' तान्ने स्थलमा अहिलेभने खासै पर्यटक देखिँदैन।देखिन्छन् त अधिकांश नेपाली युवायुवतीको 'गेट टुगेदर'। त्यसमाथि जथाभावीपार्किङका कारण झ्व:छेँ दिउँसो नै अस्तव्यस्त।

अस्तित्वमाथि नै संकट उत्पन्न हुँदै जाँदा स्थानीय मिलेर अहिले झ्व:छेँलाई पर्यटकीय हबका रुपमा पुन: ब्युताउँने प्रयास गर्दैछन्।

रञ्जना लिपीले सजिँदै झ्व:छेँ

झ्व:छेँलाई पर्यटकमैत्री बनाउने पहिलो प्रयास अन्तर्गतस्थानीय निकाय, प्रहरी र स्थानीय संघसंस्थाको संयुक्त अगुवाईमा यस क्षेत्रमा रहेको अव्यवस्थित पार्किङ हटाउने काम भइरहेको छ। स्थानीयको भाषामा सवारीको चाप र पार्किङका कारण 'ग्यारेज' जस्तो देखिएका झ्व:छेँका सडकलाई खुल्ला गराउने तयारी सुरु भएको हो।

यस्तै, पर्यटकका लागि प्रवेश गर्न स्थापना गरिएको टिकट काउन्टर समेत झ्व:छेँ प्रवेश गर्ने स्थानभन्दा केही माथि सारिएको छ।यसको मुख्य उद्देश्य पर्यटकका लागि झ्व:छेँलाई पुन: खुलाउने रहेको बताउँछन् यस अभियानको नेतृत्व गरिरहेका गणपतिलाल श्रेष्ठ।

'हामीले दुई तीन लाइन पार्किङ हटाएर अहिलेलाई एकलाइन पार्किङको व्यवस्था गरेका छौं। पहिला यहाँ बाटोको बीचसम्म पार्किङ हुन्थ्यो,'उनले भने,'महानगरसँगको सहकार्यमा यससँगै टिकट काउन्टर केही पर सारेसँगै झ्व:छेँ देखिन थालेको छ। नत्र पर्यटकहरुलाई यहाँ प्रवेश गर्न पनि अतिरिक्त शुल्क तिर्नपर्छ भन्ने लागेको थियो।'

सुनिता डंगोलको नेतृत्वमा झ्व:छेँमा रहेका होटल पसलहरुको नाम रञ्जना लिपीले लेख्ने तयारी भइरहेको छ। केही पसलहरुमा भने अहिले पनि रञ्जना लिपीका बोर्डहरु देखिन सकिन्छ। यसबाट यहाँको मौलिक भाषा र लिपीको संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको छ।

स्थानीय व्यापारीका अनुसार हाल पार्किङ र टिकट काउन्टरको व्यवस्थापनसँगै केही संख्यामा पर्यटक भित्रिन थालेका छन्। लामो समयदेखि कपडा पसल संचालन गर्दै आएका प्रकाश मानन्धर भन्छन्,'अहिले गाइडले समेत झ्व:छेँमा पर्यटक लिएर आउन थालेका छन्। नत्र केही गाइडले बाहेक यहाँ पर्यटकलाई ल्याउँदैन थिए।'

गणपतिलाल श्रेष्ठका अनुसार अब झ्व:छेँमाविस्तारै पर्यटकहरुलाई बस्ने सुविधा सहितको लज होटलहरु संचालनमा ल्याइने छ।

'अहिले यहाँ पर्यटक बस्ने वातावरण नै बनेन। फ्रिक स्ट्रिट हेर्ने भनेर केही बेर आउँछन्। तर उनीहरुलाई यहाँ रोक्ने केही माध्यम भएन। पहिला यहाँ होमस्टे जस्तै थियो। पर्यटक यही बस्थे। अहिले सबै रेष्टुराँ भइसके,'उनले भने।

हिप्पी कालमा पर्यटकहरु झ्व:छेँमा सात दिनसम्मै बिताउने गरेको सम्झन्छन नेविनमान। त्यतिखेर गाडी थिएन। पर्यटकहरु साइकल भाडामा लिन्थे। उनीहरुको मुख्य गन्तव्य भनेकै स्वयम्भु , पशुपति, दक्षिणकाली, बौद्ध हुन्थ्यो। उनी ती पर्यटकलाई हिप्पी होइन,'ह्यापी पर्यटक' को संज्ञा दिन्छन्।

तर, समय फेरियो। पर्यटकलाई एकै स्थानमा टिकाउन गाह्रो छ। 'दुईचारवटा दरबार देखाएर मात्र पर्यटकलाई यहाँ रोक्न सकिँदैन अब,’ उनी भन्छन्, ‘यस क्षेत्रमा यति धेरै सम्पदा छन्। काठमाडौंमा नै सबैभन्दा बढी बहा:बहीहरु यत्तै छन्। जात्रा पर्व यत्तै धेरै मनाइन्छ। यो सबै कुरालाई प्याकेजमा मिलाउन सकियो भने अब फेरि यहाँ पर्यटकलाई आकर्षित गर्न सकिन्छ।'

नेपाललाई नै चिनाएको झ्व:छेँको ऐतिहासिक पक्षलाई प्रवर्द्धन गर्न सरकार र महानगरपालिकाले खासैचासो नदेखाएको उनी बताउँछन्। महानगरले दरबार क्षेत्र प्रवेशका लागि पर्यटकसँग एक हजार शुल्क उठाउने गरेको छ। पर्यटकलाई दिइने जानकारीमा दरबार क्षेत्रमा रहेका मठमन्दिर बारेमामात्रै केही जानकारी दिइएको हुन्छ। झ्व:छेँ लगायत वसन्तपुर आसपासका क्षेत्रका बारेमा जानकारी नदिँदा पर्यटकलाई अन्याय भएको बताउँछन् श्रेष्ठ।

हाल फेरि झ्व:छेँ ब्युताउँने प्रयास सुरु भएसँगै पर्यटकहरु देखिन थालेकोमा उनी खुशी छन्। तर यसलाई दिगो बनाउन अझै धेरै मेहनत गर्नुपर्ने लाग्छ उनलाई।

गणपतिलाल यहाँबाट विस्थापित भएका स्थानीयलाई फर्काएर ल्याउन पहल गर्दै झ्व:छेँलाई विस्तारै पुरानै स्वरुपमा टेकुसँग विस्तार गर्दै लैजाने सपना रहेको बताउँछन्। अब पुन: हिप्पी युगमा जस्तै फर्कन सम्भावना नरहेपनि त्यससमयको यादहरु ताजा गराउन प्रयास भने जारी रहने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell