PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्मी शैलीको त्यो एक घण्टे 'र्‍यापिड एक्सन', जो करिव २० मिनेटमा होटेल पुगी ३० लाख रुपैयाँ लिएर फुत्किए!



सविन ढकाल

फिल्मी शैलीको त्यो एक घण्टे 'र्‍यापिड एक्सन', जो करिव २० मिनेटमा होटेल पुगी ३० लाख रुपैयाँ लिएर फुत्किए!

काठमाडौं : शनिवार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंको टोली दरबारमार्गतिर हुँइकियो। टोलीको कमाण्ड समालेका थिए - डिएसपी होविन्द्र बोगटीले।

'हाम्रो एटिएमबाट अस्वाभाविक रुपमा पैसा झिकियो। एउटै व्यक्तिले रकम झिकेको देखियो।'

यो सूचनासँगै प्रहरी टोली हतारिएको थियो।

गन्तब्य थियो, दरबारमार्गमा रहेको नबिल बैंकको एटिएम। त्यहाँ पुग्दा रकम झिकिरहेका व्यक्ति गायव भइसक्ने भय पनि थियो जसले मिसन अपूरो बनाउन सक्थ्यो।

करिव साढे ४ बजेतिर प्रहरी दरबारमार्गमा पुग्यो। दरबारमार्गमा पुग्दा बैंकका सुरक्षा गार्डले नै संदेहमा रहेका युवकलाई कभर गरिरहेका थिए।

‘हाम्रो टोली पुग्दा गार्डले उनलाई अलमलाई रहेका रहेछन्। उनीहरुले भाषा नबुझे पनि इसारामै गफगाफ गरिरहेका थिए,' एक प्रहरी अधिकृतले भने।

प्रहरीले त्यसपछिमात्र चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। प्रहरीले पक्रनुअघि नै सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिइसकेका रहेछन्।

प्रहरीले अनुसन्धान थाल्यो।

समातिने युवकको नाम खुल्यो -  झु लियानग्याङ। प्रहरीले उनको साथबाट ४५ हजार रुपैयाँ पनि फेला पार्‍यो। एटिएमबाट एक दिनमा एक लाख रुपैयाँसम्म निकाल्न पाइन्छ। उनीसँग रहेको रकमले त आशंका शंकामै सीमित हुने त होइन भन्ने बनायो नै।

तर, प्रहरी निश्चिन्त त्यतिखेर भयो जतिखेर उनीसँग २० वटा एटिएम कार्ड फेला पार्‍यो। एकजनासँगै दुई चारवटा कार्ड हुनु स्वभाविकै हो। तर २०/२० वटा कार्ड? शंका सत्यतिर ढल्किँदै थियो।

उनको गोजीमा भेटियो जय नेपाल हलनजिकै रहेको 'माया मनोर बुटिक होटेल'को रुमको चाबी। त्यही चाबीले दिएको 'क्लु' प्रहरीका लागि काफी थियो।

प्रहरीको टोली होटेल पुग्यो। र, अरु चार जना चिनियाँ नागरिक समातिए। उनीहरुसँगबाट १ करोड ३६ लाख रुपैयाँ पनि बरामद भयो। यति हुँदाहुँदै पनि अरु तीन जना भने भागिसकेका थिए।

भाग्नेको साथमा ३० लाख रुपैयाँ

प्रहरीले झु लियानग्याङलाई नियन्त्रणमा लिएको जानकारी पाएलगत्तै उनीहरुको समूहका तीन जना भागिहाले। यसरी भाग्नेमध्ये एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिइसकेको छ। परिसर काठमाडौंको टोलीले आइतबार राति सु लुसिङ नाम गरेका एक चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। फ्रान्सको पासपोर्ट भएका सु नेपालबाट मलेसिया उड्ने तयारीमा थिए। उनी केरुङ नाकाबाट चिन छिर्ने प्रयास गरेको देखिएको छ। तर सुरक्षा कडा भएपछि पुन काठमाडौं फर्किएका थिए।

झु लियानग्याङ पक्राउ परेको दिन तीन जना उनलाई दुई सय मिटरको दुरीबाट 'कभर' गरिरहेका थिए।

प्रहरीले झुलाई नियन्त्रणमा लिएपछि उनी भागे। होटल पुगे र निस्किहाले।

‘उनीहरुले उसलाई कभर गरिरहेका र हाम्रो जानकारी पाएको अनुसन्धानमा देखिन्छ,' परिसरका डिएसपी होविन्द्र बोगटीले भने। करिव साढे ४ बजे दरवारमार्ग पुगेको टोली १५ मिनेट त सोधपुछमै अल्झियो। ठीक त्यही समय अन्तरमा उनीहरु होटेल पुगेर निस्किन भ्याए।‘ यही विचको करिव २० मिनेटको अवधिमा नै उनीहरु होटेल पुगेर रकम लिएर भागेको देखियो।‘ डिएसपी बोगटीले भने।

उनीहरुले होटेलमा रहेको ३० लाख रुपैयाँ लैजान समेत भ्याए। प्रहरी करिव पौने ५ बजेतिरमात्र होटेलमा पुगेको थियो। १५ मिनेटको अवधिमा उनीहरुले उम्किने मौका पाए। त्यही होटेलको माथिल्लो तलामा रहेका उनीहरुका साथीहरुले पनि ढिलो गरी झु लियानग्याङ समातिएको सूचना पाए र भाग्ने तयारी गरे। ठीक त्यतिखेरै प्रहरी पुग्यो।

‘उनीहरुले सीम कार्ड प्रयोग गरेको देखिएन। ह्वाट्स एपको च्याटबाट नै सम्पर्क गर्ने रहेछन्। हामी आएको जानकारी पाएपछि तीन जना भागेका थिए,' डिएसपी बोगटीले भने।

होटलबाट निस्किएलगत्तै उनीहरुले ट्याक्सी लिए। ट्याक्सी ठमेलतिर हुइँकियो। एक किलोमिटरको दुरीमा रहेको ठमेलसम्म पुग्दा १ हजार रुपैयाँ त ट्याक्सी भाडा नै तिरे उनीहरुले।  

'ट्याक्सी लिएर उनीहरु ठमेलमा रहेको डेस्को र नेपालय मनिचेन्जरमा पुगेका थिए,' बोगटीले भने, 'करिव ५ बजेतिर। १ हजार कम ३० लाख रुपैयाँ साटे। करिब आधा घण्टामा नै रकम साटेर उनीहरु त्यहाँबाट निस्केको देखिन्छ।'

लोभले पुर्‍यायो चिनियाँसँगै नेपालीलाई पनि हिरासत

चिनियाँ अपराधीलाई 'ट्र्याक' गर्दै अनुसन्धानमा जुटेको प्रहरी होटलबाट ठमेल लाग्यो। अन्तत: चिनियाँले बोकेर लगेको ३० लाख रुपैयाँ जुन मनी चेन्जरमा साटियो, प्रहरी त्यही पुग्यो तर एक दिन पछि।

चिनियाँ नागरिकको एटिएम लुटमा नेपालीहरु पनि मुछिए। सोमवार प्रहरीले दुई मनी चेन्जरका संचालकसहित तीन जनालाई नियन्त्रणमा लियो। प्रहरीले ठमेलमा रहेको डिस्को र नेपालय मनी चेन्जरका देवनाथ लामिछाने सहित रोशन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको हो।

उनीहरुले गैर कानुनी रुपमा मुद्रा सटही गरेको पाएपछि प्रहरीले समातेको हो। ‘लोभले गर्दा कानुन विपरीत काम गरेको प्रष्ट देखिन्छ,' डिएसपी बोगटीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell