PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भाषा नबुझ्दा प्रहरीको अनुसन्धानमा अरुकै भर



सविन ढकाल

भाषा नबुझ्दा प्रहरीको अनुसन्धानमा अरुकै भर

‘एक जना चिनियाँ भाषा बुझ्ने प्रहरी तत्काल दरबारमार्ग पठाइदिनुस् त।'

शनिवार दिउँसो करिब साढे ४ बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीको फोन कलले पर्यटक प्रहरी भृकुटीमण्डपमा तनाव नै भयो।

के गर्ने? कसलाई पठाउने?

एसएसपी सुवेदीले पर्यटक प्रहरीसँग चिनियाँ भाषाको ज्ञान भएको प्रहरी होलान् भनेर फोन गरेका रहेछन्। तर, उनले सोचेजस्तो अवस्था थिएन।

उपत्यकामा पर्यटकलाई पर्ने समस्याको जानकारी लिन बसेको प्रहरीसँग चिनियाँ भाषाको ज्ञान भएको प्रहरी थिएनन्। पर्यटक प्रहरी प्रमुख निरीक्षक अमृतबहादुर बस्नेतको सम्झनामा तत्काल एक युवती परिन् जसले केही समय अगाडि पर्यटक प्रहरीलाई चिनियाँ नागरिकसँग अनुवादकका रुपमा सहयोग गरेकी थिइन्।

तत्काले तिनै युवतीलाई उनले फोन गरे। लाजिम्पाटमा रहेको सांग्रिला होटेलमा काम गर्ने ती युवती तत्काल दरबारमार्ग पुगिन्। महानगरीय प्रहरीले एटिएमबाट अनाधिकृतरुमा पैसा झिक्ने एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। भाषाको ज्ञान नहुँदा कुनै जानकारी पाउन प्रहरीले सकिरहेको थिएन।

होटेलकी स्टाफ ती युवती त्यहाँ पुगेपछि भाषा नबुझ्दा नखुलेको कुरो खुल्यो। र, अनुसन्धान केही सजिलो भयो।

‘हाम्रोमा पनि कहाँ राम्रोसित चाइनिज बोल्ने प्रहरी छन् र? मैले अर्को एक जना महिलालाई सम्पर्क गरेर पठाएको थिएँ,' पर्यटक प्रहरी प्रमुख बस्नेतले भने।

विदेशीसँग जोडिएका धेरै अपराधमा भाषाका कारणले समस्या आउने गरेको छ। समयमा नै दोभाषे नहुँदा कतिपय अनुसन्धान समेत प्रभाव पर्ने र ढिलो हुने गरेको छ।

‘हामीलाई दोभाषेको समस्या छ। बयान लिँदा विश्वासिला लाइसेन्स प्राप्त दोभाषेको सहयोगले काम गरिरहेका छौं,'  महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी उत्तमराज सुवेदीले भने।

यस्तो भाषिक समस्या शनिवार एटिएम ह्याकर समात्दामात्र होइन, केही दिनअघि मानव तस्करीमा समातिएका चिनियाँ नागरिकको केसमा पनि भएको थियो।

भदौ १२ गते मानव बेचबिखन व्यूरोको टोलीले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। त्यहाँ पनि भाषाकै समस्या आयो।

‘अनुसन्धान गर्दा भाषा नबुझ्दा केही ढीलो हुँदोरहेछ। दोभाषे भए सजिलो हुन्थ्यो,' व्यूरोका एसएसपी उतमबाबु कार्कीले भने।

पर्यटक प्रहरीमा नै छैनन् लाइसेन्स प्राप्त दोभाषे

उपत्यकाभित्र पर्यटकको सेवा र सुरक्षाका लागि परिचालन हुने पर्यटन प्रहरीसँग अहिलेसम्म पनि लाइसेन्सप्राप्त भाषागत प्रहरी छैनन्। दिनरात पर्यटकसँग जोडिने प्रहरी नै दोभाषेविना कसरी सेवा लिइरहेको होला?

‘साधारण बोल्नेमात्र छन्। सबै केसमा उनीहरूको सहयोग पाइँदैन। हामी आवश्यकता पर्दा पब्लिक वा गुगल ट्रान्सलेट सहायता लिने गरेका छौँ,' प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले भने।

सामान्य अङ्ग्रेजी बोल्ने प्रहरीको भने समस्या छैन। तर, कहिलेकाहिँ अङ्ग्रेजी नबुझ्ने पर्यटक आउँदा समस्या आउँछ। अहिले भने पर्यटक प्रहरीले १७ जना प्रहरीलाई भाषा सम्बन्धी कक्षा लिन लगाएको छ। उनीहरूले अहिले चिनियाँ र फ्रेन्च भाषाको कक्षा लिइरहेका छन्।

१० जना प्रहरीले नेपाल पर्यटन बोर्डमा चिनियाँ भाषा सिकिरहेका छन्। उनीहरूले ६ महिनादेखि भाषा सिकिरहेको निरीक्षक बस्नेतले बताए।

‘समय मिलाएर केहीले भाषा सिकिरहेका छौँ। अब राम्रो दोभाषे आउलान् भन्ने आशा छ,' निरीक्षक बस्नेतले भने।

त्यस्तै, अन्य सात जना प्रहरीले पनि फ्रेन्च भाषा पढिरहेका छन्। जाउलाखेलमा रहेको फ्रान्सेली केन्द्रमा पुगेर कक्षा लिने गरेका छन्। फ्रान्स र चिनियाँ दूतावासको सहयोगमा उनीहरूले कक्षा लिइरहेका हुन्। यी दुवै भाषाका तालिम भने प्रहरीको औपचारिक प्रशिक्षण अन्तर्गत भएका होइनन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने प्रहरीको पनि हाल उही

दैनिक सयौं पर्यटकको आवतजावत गर्ने देशको एकमात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा समेत प्रहरीको दोभाषे छैन। विमानस्थल प्रहरी पनि पर्यटन प्रहरीसँग भर परेको छ। पछिल्लो समय भाषामा समस्या आएपछि केही घन्टे कक्षा नदिइएको होइन। तर, त्यो कसरी प्रभावकारी होस्?

प्रहरीमा अङ्ग्रेजीभन्दा पनि अन्य भाषाका पर्यटकसँगको कुराकानीमा सधै समस्या आउने गरेको छ।

‘अङ्ग्रेजी बाहेक राम्रोसँग अन्य भाषा बोल्ने प्रहरी छैनन्। केही केहीलाई नाम के हो? होटेल कता? भन्ने फाट्टफुट्ट बोल्न आउँछ,' त्रिभुवन विमानस्थल सुरक्षामा खटिएका एसपी कृष्ण कोइरालाले भने।

अन्य भाषाको ज्ञान नहुँदा विमानस्थलमा पटकपटक समस्या भोग्न परेको उनको अनुभव छ। ‘अब हामी भाषाको कक्षा गराउने तयारीमा छौँ,' एसपी कोइरालाले भने।

नेपाल प्रहरीले १ सय ९२ वटा देशसँग जोडिएर इन्टरपोलमा काम गरिरहेको छ। तर, प्रहरीको इन्टरपोल शाखामा पनि दोभाषे भनेर लाइसन्स प्राप्त प्रहरी छैनन्।

‘हामीसँग अहिले लाइसेन्सप्राप्त भाषाको जानकार भएका प्रहरी छैनन्। त्यसको अभाव महसुस गरेका छौं। केहीलाई ट्रेनिङ समेत दिन थालेका छौं,' नेपाल प्रहरीका सहप्रवक्ता एसएसपी उमेशराज जोशीले भने।

प्रहरीले अहिले विदेशी नागरिकको घटनाको अनुसन्धानमा शनिवार चिनियाँको केसमा गरेजस्तै बाहिरिया व्यक्तिलाई प्रयोग गर्दै आएको छ। तर, संगठनभन्दा बाहिरको व्यक्तिलाई कुनै गोप्य घटनामा संलग्नता गराउँदा त्यसको गोपनीयतामा प्रश्न नआउला र?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell